रानिमहल र मायादेवी मन्दिर भैरहवामा

/assets/plugins/bower_components/fileman/Uploads/post_images/December/mayadevi.jpg

भैरहवा-भैरहवाको अन्चलपुरको पश्चिपट्टि केही दिनदेखि निकै दौंडधुप चलिरहेको छ। सधैं सुनसान हुने उक्त ठाउँमा केहीदिन यता रातिसम्म पनि झिलिमिली हुने गर्दछ। पाल्पाको रानिमहल दरबार र लुम्बिनीको मायादेवी मन्दिर निर्माणकोलागी केहि महिनादेखि दौंडधुप चलेको हो ।

अन्‍तराष्ट्रिय महत्वका ऐतिहासिक भवनको स्केच उस्तै रंग र उस्तै आकृर्तिमा दुरुस्त निकालेर  पटवा टेन्ट हाउसले सबैलाई चकित नै पारेको छ । टेन्ट हाउसका सञ्चालक चन्द्रमोहन पटवाले भने, ‘तस्वीर हेरेर आकृति बनाएको हुँ । २५ दिनसम्म दैनिक २५ जनाको खटन पटन र मेहनतले रानिमहल र मायादेवी मन्दिर तयार भएका छन्।’

बिहीबारदेखि सन्चालन हुने सातौं लुम्बिनी राष्ट्रिय महोत्सव २०७५ (कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेलाको लागी यी ऐतिहासीक सम्पदाको स्केच टेन्ट सामग्री मार्फत बनाइएको हो ।

पाल्पा कालीगण्डकी छेउमा रहेको रानिमहल र लुम्बिनीको मुख्य आकर्षणको केन्द्र मायादेवी मन्दिरलाई मेलास्थलमा प्रदर्शनीमा राखिएको छ। पर्यटन प्रबद्र्धनकोलागी यो सबैभन्दा ठूलो मेहनतको प्रतिफल भएको महोत्सव सचिवालय संयोजक नेत्र प्रसाद आचर्यले जानकारी दिए । करिब ८ लाखको लागतमा तयार भएका यी दुबै संरचनाले महोत्सव अवलोकन गर्न आउने दर्शकहरुको मन मस्तीस्कलाई कैद गरी एकचोटी लुम्बिनी र एकचोटी पाल्पा रानिमहल पुग्न लालयित बनाउने अपेक्षा गरिएको छ । जसले आन्तरिक पर्यटन प्रबद्र्धनमा ठूलो टेवा दिने महोत्सव आयोजक संस्था उद्योग वाणिज्य संघका पुर्व अध्यक्षसमेत रहेका नाट्टा ५ नम्बर प्रदेश अध्यक्ष विष्णु शर्माले बताए ।

सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देही र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौंको संयुक्त आयोजनामा हुन गईरहेको महोत्सवको उद्घाटन बिहीबार दिनको १ बजे पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ्रप्रचण्डले गर्नेगरी तयारी पुरा गरिएको महोत्सव मुल आयोजक समितीका संयोजक कुल प्रसाद न्यौपानेले जानकारी दिए।

महोत्सवलाई सफल पार्न १७ सदस्यीय कार्यसम्पादन समिति र ३० सदस्यीय संयोजक समिति गठन गरिएको छ । महोत्सवमा कुल २ सय ७५ स्टल रहनेछन्  कृषी २५, हस्तकलातर्फ २५, औद्योगिकततर्फ ५५, होजेरी तथा गार्मेन्टतर्फ ६५, अटोमोबाइल्सतर्फ १३, बैंक तथा वित्तीय संस्थातर्फ ५, होटल तथा रेष्टुरेण्ट तर्फ १६, इलेक्ट्रोनिक्सतर्फ ८, खाद्यान्नतर्फ १९, कस्मेटिकतर्फ ४, शैक्षिक परामर्शतर्फ २, फुटवेयरतर्फ ९, स्वास्थ्यतर्फ २ र पर्यटनतर्फ ७ वटा स्टल रहने स्टल व्यवस्थापन समिती संयोजक ठाकुर कुमार श्रेष्ठले जानकारी दिए। 

त्यस्तै महोत्सवमा ख्याती प्राप्त पहलमानहरु बीच महिला पुरुष कुस्ती प्रतियोगिता मंसिर २३, २४, २५ र २६ गते हुने आयोजकले जनाएका छन् ।




प्रतिक्रिया