तिलोत्तमा महोत्सवमा २० करोडको कारोबार, अढाईलाख दर्शक

/assets/plugins/bower_components/fileman/Uploads/post_images/December/tilotama_mahotsab.jpg

तिलोत्तमा- रुपन्देहीको मणिग्राममा सन्चालित तिलोत्तमा औद्योगिक व्यापार मेला कृषि तथा पर्यटन महोत्सव–२०७५ मा २० करोड बराबरको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ । 

महोत्सव समापन समारोहको अवसरमा बोल्दै महोत्सव मुल आयोजक समितीका संयोजक सत्यब्रत ज्ञवालीले भने , ‘ विभिन्न क्षेत्रसंग सम्बन्धित ४ सय स्टल रहेको महोत्सवमा २० करोडको आर्थिक कारोवार भएको र २ लाख ५० हजार दर्शकले अवलोकन गरेको छन् । ’

उद्योग व्यापार संगठन रुपन्देहीको तिलोत्तमा शाखाको मुख्य आयोजना तथा उद्योग व्यापार संगठन रुपन्देही र तिलोत्तमा व्यापार संघ को संयुक्त आयोजनामा गएको मंसिर ६ गतेदेखि संचालित महोत्सव १८ गते समापन भएको हो ।

महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश नम्बर पाँचका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले उत्पादक र उपभोक्ता बीचको प्रत्यक्ष मिलन बनाउन महोत्सव सफल भएको बताए ।

मन्त्री गिरीले आर्थिक गतिबिधिको थलोको रुपमा हेरिने विभिन्न महोत्सवहरुमध्ये स्थानीय उत्पादनलाई प्राथमिकता दिने काममा अन्य महोत्सव भन्दा तिलोत्तमा महोत्सव अगाडी देखिएको समेत जनाए ।

कार्यक्रममा आयोजकको तर्फबाट मन्तव्य राख्दै उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष नारायण प्रसाद भण्डारीले नीजी क्षेत्रले आयोजना गर्ने महोत्सवहरुमा सरकारी क्षेत्रको सक्रिय भूमिका हुनुपर्ने माग राखेका थिए ।

कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा नगरपालिकाले आगामी महोत्सवको सिजनसम्म तिलोत्तमामा सरकारी जग्गाको व्यवस्थापन गरी स्थायी जग्गा उपलब्ध गराउने कुरामा नीजी क्षेत्रसंग हातेमालो गर्ने समेत प्रतिबद्धता जनाएका थिए । तिलोत्तमा महोत्सव भाडाको जग्गामा सन्चालन भएको थियो । नेकपाका प्रदेश सदस्य अनुप बरालले मेला महोत्सवले देशको अर्थव्यवस्था मजबुत बनाउन सघाउने गरेको जनाए ।

समापन समारोहमा राजपाका केन्द्रीय प्रबक्ता प्रशान्त गुप्ता, नेपाली कांग्रेस तिलोत्तमा नगर सभापति हरिलाल पाण्डे, रुपन्देही व्यापार संघका उपाध्यक्ष डिल्ली नारायण भण्डारी, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष माधब भण्डारी, लुम्बिनी प्रेस क्लबका महासचिव नरेस केसी, तिलोत्तमा व्यापार संघका अध्यक्ष जेपी कंडेल लगायतले मन्तव्य राख्दै उत्पादक, उपभोक्ता र व्यापारीबीच त्रिसंगमको काम गर्न महोत्सव सफल भएको जनाएका थिए । वक्ताहरुले अबका मेला महोत्सव विशिष्टकृत हुनुपर्ने पनि बताए ।

उद्योग व्यापार संगठनले हरेक वर्ष रुपन्देहीमा महोत्सव गर्दै आएको छ । कहिले देवदह, कहिले लुम्बिनी त कहिले भैरहवामा गर्दै आएको संगठनले यस वर्ष मणिग्राममा महोत्सव गरेको हो ।

तिलोत्तमा महोत्सवमा रिडिको ऋषिकेश मन्दिर, रुरु क्षेत्र, कालिगण्डकी बाट गुल्मी, पाल्पा र स्यांजा जोडने झोलुंगे पुलको नमुना, पाल्पाको रानीमहल, रानीमहल भित्र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माण पश्चात देखिने दृश्यलाई डिजिटल प्रबिधिबाट अवलोकनको व्यवस्था, लुम्बिनी सम्बन्धि फोटो प्रदर्शनी, तिलोत्तमा नगरपालिका भित्र रहेका नेपाल सरकारको सूचीकृतमा परेका पर्यटकीय क्षेत्रहरु (वनवाटिका, वाउन्नकोटी सामुदायिक वन) को अवलोकन लगायतको व्यवस्था मिलाइएको थियो ।

साथै महोत्सवमा विश्वको सबैभन्दा ठुलो चरा अष्ट्रिचको अवलोकन, थारु संस्कृतिको होमस्टे, अन्तराष्ट्रिय स्तरको कराँते प्रतियोगिता, ५ ए साइड फुटवल प्रतियोगिता, कुस्ती प्रतियोगिता, मम्मी डान्स प्रतियोगिता, बिद्यालय स्तरीय नृत्य प्रतियोगिता, तिलोत्तमा डान्स आइडल लगायतका कार्यक्रमहरु सम्पन्न भएको मेला सचिवालय संयोजक अनिल कुमार ज्ञवालीले जनाए ।




प्रतिक्रिया