यसरी चल्छ औषधिमा ब्ल्याकमेल

/assets/plugins/bower_components/fileman/Uploads/post_images/December/ausadhi_bibhag_1_ns.jpg

काठमाडौं- गुल्मी, हुँगाकी बाथरोगी लक्ष्मी भण्डारी (६५) लाई एउटा औषधि देखाउँदै २० वर्षीया किशोरीले भनिन्, 'आमा ! यो तेल लगाउनुस् अनि यो धुलो औषधि खानुस्, तपार्इंको रोग निको हुन्छ ।' बाथ रोग लागेर सजिलै उठबस गर्न नसक्ने अवस्थामा पुगेकी लक्ष्मी ती किशोरीले औषधि ल्याइदिएपछि खुसी भइन् । ती किशोरी काठमाडौंको एउटा औषधि कम्पनीबाट औषधि बेच्न त्यहाँ पुगेकी थिइन्। 

लक्ष्मीलाई आफ्नो छोराले काठमाडौंका नाम चलेका अस्पतालमा लगेर स्वास्थ्य परीक्षण नगराएका होइनन् । उनका छोराले रोग निको पार्न विदेशबाट समेत औषधि मगाएर खुवाए। तर आमालाई भने विशेषज्ञ चिकित्सकले सिफारिस गरेका औषधिभन्दा किशोरीले गरेको मिठा कुरा र औषधिको बयानले आकर्षित गर्‍यो । त्यसपछि छोरालाई किशोरीले ल्याएको औषधि किन्न लगाइन् । 

लक्ष्मीले डाक्टरले सिफारिस गरेको औषधि छाडेर किशोरीसँग किनेको औषधि खान थालिन् । डाक्टरले दिएको औषधि खाँदा उनको रोगमा केही सुधार भएको देखिन्थ्यो । तर किशोरीले दिएको औषधि खाँदा लक्ष्मीलाई रोगले झन् च्यापेको छ। 

गत वैशाखको गर्मीमा भैरहवामा भारतीय कारमा माइक लगाएर केही व्यक्ति भारतमा उत्पादन गरिएका औषधि बिक्री गर्दै थिए। औषधि बेच्ने पनि भारतीय नै थिए। तर विज्ञापन भने नेपाली भाषामा बजिरहेको थियो । उनीहरू नाम सुनेका नसुनेका सबै रोग निको पार्ने औषधि किन्न पाइने र ती औषधिले शतप्रतिशत रोग निको पार्ने दाबी गरिरहेका थिए । उनीहरूको कारअगाडि औषधि किन्नेको लाम लागेको देख्दा अस्पताल र विशेषज्ञ डाक्टरले सडकबाटै सेवा दिइरहेका छन् जस्तो आभास हुन्थ्यो।

गत बुधबार त्रिवि शिक्षण अस्पतालमा चाबहिलतर्फ गुडिरहेको माइक्रोबसमा यात्रा गरिहेकी अन्दाजी ४५ वर्षीया महिला फोनमा आफन्तसँग आफू बिरामी भएको र उपचार गरी फर्किरहेको कुरा सुनाइरहेकी थिइन् । ती महिलाको कुरा सुनेर नजिकै सिटमा रहेकी अर्की महिलाले सोधखोज गरिन् र आफूसँग जटिल रोगको उपचार पद्धति र औषधि रहेको भन्दै सम्पर्क गर्न सुझाव दिइन् ।
 
एलोपेथिक औषधिमा जिएसएम तथा आइएसआई परीक्षण गरी कुन रोगीलाई कस्तो औषधि दिने भन्ने स्पष्ट रूपमा लेखिएको हुन्छ तर नेपालमा प्रयोग भइरहेका कतिपय आयुर्वेदिक औषधिको अहिलेसम्म परीक्षण भएको छैन । परीक्षण नभएका औषधि जथाभाबी प्रयोग गर्दा यसले बिरामीको ज्यानसमेत जान सक्छ । 

अस्पतालले निको बनाउन नसकेका बिरामीलाई सजिलै निको पारेको ती महिलाको कुरामा यात्रा गरिरहेका अन्य महिला पनि आकर्षित भए र सम्पर्क नम्बर साटासाट भयो । ती महिलाले नसालगायत दीर्घरोगका कारण थला परेका बिरामीलाई आफूले बेच्दै आएको औषधिले निको पारेको दाबी गरेकी थिइन् । 

ती महिलाले बोकेको औषधिको खोलमा मलेसियामा बनेको लेखिएको थियो । ठूलो अक्षरमा 'गोला चूर्ण' लेखिएको थियो भने उत्पादन मिति र प्रयोग मिति उल्लेख थिएन । शंकास्पद औषधि कसरी नेपाल आयो भन्ने नेपाल समयको जिज्ञासामा ती महिलाले भनिन्, 'यो औषधि डिक्सएन नामक संस्थाले नेपालमा बिक्रीवितरण गर्दै आएको छ । यो औषधि बिक्री गर्दा राम्रो कमिसन पाउँछु, त्यसैले बेच्न थालेकी हुँ ।' 

त्यसपछि डिएक्सएनबारे औषधि व्यवस्था विभागमा बुझ्दा विभागले सो संस्था अवैध रहेको र मुद्दा चलाएको जानकारी दियो । अदालतमा औषधि नभई खाद्य सामग्री बिक्री गरेको बयान दिएर उन्मुक्ति पाएर डिएक्सएनले फेरि औषधि बिक्री गरिरहेको छ ।

कतिपय सञ्चारमाध्यमबाट दिइने विभिन्न औषधिको व्यावसायिक विज्ञापनले पनि सर्वसाधारणमा भ्रम उत्पन्न गरेको छ । औषधि व्यवस्था विभागको सिफारिसबाहेकका औषधिको विज्ञापन गर्न कानुनअनुसार पाइँदैन । तर सञ्चारमाध्यमले त्यसलाई बेवास्ता गरेको पाइन्छ ।

औषधि व्यवस्था विभागका अनुसार नेपालमा वार्षिक ५० अर्ब रुपैयाँ भन्दा बढीको औषधि खपत हुन्छ । यो तथ्यांक वैधानिक बाटो हुँदै भित्रिएको औषधिको हो । ३० प्रतिशत नेपालमा उत्पादन हुन्छ भने ७० प्रतिशत विदेशबाट आयात गर्नुपर्छ ।

औषधि व्यवसायी भने विभागको तथ्यांकभन्दा बढी रकमको औषधि कारोबार भइरहेको दाबी गर्छन् । उनीहरूका अनुसार नेपालमा वार्षिक एक खर्बभन्दा बढीको औषधि खपत हुन्छ । नेपालमा औषधि बिक्री गर्ने व्यवसायीको संख्या २१ हजारभन्दा बढी छ । विभागका अनुसार त्यसको अनुगमन गर्ने निरीक्षक भने नेपालभरिमा तीनजना मात्र छन् ।

विभागका महानिर्देशक नारायणप्रसाद ढकालले विभागमा पर्याप्त जनशक्तिको अभावमा अपेक्षित काम गर्न नसकिएको बताए । महानिर्देशक ढकालले भने,  ' विभागले २१ हजार बढी औषधि पसल र अवैधानिक औषधि कारोबार नियन्त्रण कसरी गर्ने ? हामीले पटकपटक स्वास्थ्य मन्त्रालयलाई जनस्वास्थ्यको विषय भएकाले दरबन्दी तथा दक्ष जनशक्ति माग गर्दै आएका छौं । धेरै मन्त्री फेरिए तर हाम्रो माग सुनुवाइ भएन ।'

महानिर्देशक खनालका अनुसार विभागमा एक सय १५ जनाको मात्र दरबन्दी छ । तर प्राविधिक ज्ञान भएका ४० जना मात्र कर्मचारी छन् । स्वास्थ्य निरीक्षण गर्ने प्राविधिक देशभर तीनजना मात्र छन् । 

निरीक्षणमा खटिएका निरीक्षक व्यवसायीको आर्थिक प्रलोभनमा पर्ने गरेका छन् । विभागका अनुसार निरीक्षकले व्यवसायीका पक्षमा निर्णय गर्दा विभागका काम प्रभावकारी हुन सकेको छैन । 

कारबाहीमा परेका औषधि व्यवसायी ठाउँ सार्दै व्यवसाय गर्दै आएका छन् । बेलाबेलामा कतिपय व्यवसायी तथा औषधि उत्पादन गर्ने कम्पनीमाथि विभागले कारबाही गरेको छ । तर विभिन्न बहानामा उदालतबाट छुट्दै आएकाले कारबाही प्रभावकारी हुन सकेको छैन । 

चिकित्सक नवीनकुमार चौधरीले प्रचार गरेकै आधारमा औषधि प्रयोग गर्दा बिरामी झन् जटिल भई ज्यानसमेत जान सक्न बताए ।

उनले भने, 'यसरी प्रचार गरेर बिक्री गर्ने औषधिमा एस्टोराइड मिश्रण गरिएको हुन्छ । मधुमेह र मुटुका बिरामीले यो औषधि खानु हुँदैन । एस्टोराइडले शरीरलाई मुटुको चाल बढाउने काम गर्छ । यसबाट मुटु तथा नसाका रोगी बेहोस भई हृदयाघातसमेत हुन सक्छ ।' 

चौधरीका अनुसार एलोपेथिक औषधिमा जिएसएम तथा आइएसआई परीक्षण भई कुन रोगीलाई कुन औषधि प्रयोग गर्ने स्पष्ट रूपमा लेखिएको हुन्छ तर नेपालमा प्रयोग भइरहेका कतिपय आयुर्वेदिक औषधिको अहिलेसम्म परीक्षण भएको छैन । परीक्षण नभएका औषधि जथाभाबी प्रयोग गर्न नहुने सुझाव उनको छ । 




प्रतिक्रिया