को हुन् काठमाडौंमा रमाएका हुन सेन ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/December/Hunsen.jpg

एसिया प्यासिफिक समिटमा आउने विदेशी पाहुनामध्ये कम्बोडियाली शासक हुन सेनको चर्चा बढी भयो । उनी काठमाडौंमा नयाँ पाहुना थिए । खराब शासकका रुपमा छवि बनाएका हुन सेनलाई अन्तर्राष्ट्रिय र क्षेत्रीय फोरममा प्रायः निम्ता नगर्ने चलन छ। त्यसैले काठमाडौं यो समिट उनका लागि एउटा अवसर बन्यो धमिलिएको छवि सुधार गर्ने । काठमाडौं बसाइका क्रममा उनलाई नेपालका शीर्ष नेताहरूले निकै महत्त्व दिएको देखियो । साथै यहाँको आतिथ्य पाउँदा उनी निकै रमाएको देखियो । 

कम्बोडियाली वामपन्थी नेता पोल पोटको नेतृत्वमा भएको खमेर रुज विद्रोहका एक सैन्य कमान्डर थिए हुन सेन । विद्रोहकै क्रममा आन्तरिक शुद्धीकरणका लागि भन्दै उनी आफ्ना कमान्डको फौजी टुकडी लिएर भियतनामतर्फ भागेका थिए । कम्बोडियामाथि हमला गर्ने योजनामा रहेको भियतनामले विभीषण नै पायो । भियतनामकै पहलमा खमेर रुज शासन पतन हुन पुग्यो । 

त्यतिबेला हुन सेन विद्रोही सैन्य कमान्डर थिए । सन् १९७९ मा भियतनामले कम्बोडियामा कठपुतली सरकार गठन गर्‍यो, त्यो सरकारमा हुन सेन उपप्रधान तथा परराष्ट्रमन्त्री बन्न पुगे । 

उपप्रधानमन्त्री भए पनि हुन सेनको राजकीय हैसियत चानचुने थिएन । तत्कालीन सरकार प्रमुख चान साइको निधनपछि सन् १९८५ मा भएको निर्वाचनमा उनी प्रधानमन्त्री चयन भए । त्यसपछि उनलाई कहिल्यै फर्केर पछाडि हेर्नुपरेको छैन । अहिलेसम्म उनी कम्बोडियाली राज्यसत्तामा टिकिइरहेका छन् ।     प्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीको हैसियतमा सन् १९९१ को पेरिस शान्ति वार्तामा महत्त्वपूर्ण भूमिका खेलेर अन्तर्राष्ट्रिय समुदायमाझ ख्याति कमाएका थिए । 

तथापि उनीमाथि रायसत्ता दुरुपयोग गर्दै नरसंहार गरेको आरोप छ । एमनेस्टी इन्टरनेसनलको सन् १९८७ को प्रतिवेदनअनुसार कम्बोडियामा हजारौं राजनीतिक आस्थाका बन्दीलाई ‘विद्युतीय झट्का दिएर नरसंहार’ गरिएको थियो । यो नरसंहार उनकै नेतृत्वमा भएको आरोप छ । उनकै निर्देशनमा कपडामा लगाउने आइरन तताएर पनि विरोधीहरूको हत्या भएको थियो । भिन्न मत राख्ने कैयन् नागरिकलाई प्लास्टिकका थैलाभित्र हालेर हत्या गरेको आरोप उनीमाथि छ । 

उनको दोस्रो कार्यकालका लागि भएको निर्वाचनमा व्यापक धाँधली गरेको प्रतिवेदन संयुक्त राष्ट्रसंघको पर्यवेक्षक टोलीले सार्वजनिक गर्दै उनलाई अयोग्य ठहर गरिएको थियो । तर उनी दोस्रो पटक प्रधानमन्त्री भए भने आफ्नो पार्टीको अध्यक्ष पनि भइरहे । हुन सेन सन् १९९३ देखि १९९८ सम्म प्रधानमन्त्री रहे । सन् १९९७ मा राजकुमार नरोद्दमसँग विवाद भएपछि उनीहरुबीच समीकरण खलबलियो ।   
 
सन् १९८५ देखि हालसम्म सत्तासीन हुन सेनको मुलुक कम्बोडियामा रोग, भोक, शोक र सामाजिक अराजकता व्याप्त छ । कम्बोडियामा सन् २०१७ भर नै नागरिकको अभिव्यक्ति स्वतन्त्रता एवं सभासम्मेलन गर्न पाउने अधिकारउपर हुन सेन सरकारले रोक लगाएको थियो ।

त्यसै बेला खमेर रुज निकट फुनसिनपेक पार्टी खुला राजनीतिमा आउन वार्तामा सामेल भयो । यस राजनीतिक घटनाक्रमलाई हुन सेनले नजिकबाट नियालिरहेका थिए । फुनसिनपेक पार्टी पनि कम्बोडियाली राजनीतिमा सामेल भएको भए हुन सेनलाई निकै गाह्रो पथ्र्यो । उनको राजनीतिक यात्रा अघि बढ्न सहज हुँदैनथ्यो ।

त्यसलाई बुझेर सत्तासीन हुन सेनले सन् १९९७ मा सत्ता कु गरे । यसपछि हुन सेन द्वितीय प्रधानमन्त्री भए । उनले राजकुमार नरोद्दमलाई विस्थापित गरी आफ्नो अनुकूलका उङ्ग हाउतलाई प्रथम प्रधानमन्त्री बनाएर सत्ताको बागडोर आफ्नो हातबाट बाहिर जान दिएनन् । 

त्यसलगत्तै सन् १९९८ मा भएको आमनिर्वाचनमा सकेजत्ति धाँधली गरी हुन सेन आफू मात्र एक्लो प्रधानमन्त्री हुन पुगे । एमनेस्टी इन्टरनेसनलले हुन सेनमाथि ‘फुनसिनपेक पार्टीका नेताहरुलाई गैरकानुनी तवरले धरपकड गर्ने, यातना दिने र गैरन्यायिक रूपमा हत्या गरी विपक्षलाई सफाया गर्ने’ गरेको आरोप लगाएको छ ।    

तर सन् २००३ को निर्वाचनमा कम्बोडियाली सदनमा एउटा अनिर्णियको स्थिति पैदा भयो । हुन सेनको दल सिपिपीले ठूलो बहुमत त ल्यायो तथापि एक्लैले सरकार बनाउने स्थिति भने बन्न सकेन। किनकि संवैधानिक व्यवस्था भएबमोजिम हुन सेनको दलले दुई तिहाई बहुमत ल्याउनुपर्ने हुन्थ्यो । त्यो संवैधानिक गाँठो फुकाउन आखिरमा उनकै दल सिपिपी र त्यसको विरोधी दल फुनसिनपेक मिलेर सत्ता समीकरण गरी मिलिजुली सरकार बनाए । त्यस समीकरणले राजकुमार रणरिद्दलाई राष्ट्रिय सभाको सभाध्यक्ष बनायो । अनि हुन सेन फेरि शक्तिशाली कार्यकारी प्रधानमन्त्री बने । 

सन् २०१३ को निर्वाचनमा उनले व्यापक अनियमितता र धाँधली गरेको प्रशस्त प्रमाण भेटिए । शक्ति संघर्षका क्रममा उनको अगुवाइमा राजनीतिक हत्या हुन थाले । विपक्षी दलहरु, असन्तुष्ट बौद्ध भिक्षुहरु एवं अन्य प्रतिपक्षका व्यक्तिहरुले विशाल विरोध प्रदर्शन गरे । विरोधीहरुलाई तह लगाउन व्यापक रुपमा दंगा नियन्त्रण प्रहरी परिचालन गरियो । प्रदर्शनकारीहरुप्रति इंगित गर्दै उनले जति विरोध भए पनि आफू निर्वाचित प्रधानमन्त्री भएको र कुनै पनि हालतमा सत्ता पनि नछोड्ने र नयाँ निर्वाचन पनि नगराउने अडानमा रहे । 

हालसम्म सत्तासीन हुन सेनको मुलुक कम्बोडियामा रोग, भोक, शोक र सामाजिक अराजकता व्याप्त छ । सन् २०१७ भर नै नागरिकको अभिव्यक्ति स्वतन्त्रता एवं सभासम्मेलन गर्न पाउने अधिकारउपर हुन सेनको सरकारले रोक लगायो । भ्रष्टाचार नियन्त्रण गर्न बनेको सरकारी निकाय नै प्रयोग गरी हुन सेनले विरोधीहरुमाथि दमन गरिरहेका छन् । गत वर्ष उनले त्यहाँको सदनमा विपक्षी दलको उपस्थिति हटाउन अल्पमतका नेता र बहुमतका नेताको प्रावधान खारेज गरिदिए ।   

अहिले उनले विपक्षी दलका कुनै पनि नेता या कार्यकर्ताले सत्तारुढ दलका मन्त्रीहरुलाई कुनै पनि प्रश्न गर्न नपाउने व्यवस्था मिलाएका छन् । उनको अलोकतान्त्रिक कदमको विरोधमा साम रेन्सीले विपक्षी दलको नेताबाट राजीनामा दिए । तर विपक्षी दललाई बन्देज लगाउने प्रावधान राखेर उनले संविधान संशोधन गरिसकेका छन् । 

आफ्ना तीन छोरालाई विभिन्न सरकारी निकायमा नियुक्त गरी मुलुकको भावी शासकका रूपमा स्थापित गर्ने प्रयासमा छन् हुन सेन । एक छोरा हुन मनेतलाई भरखरै शाही कम्बोडियाली सेनाको चारतारे जर्नेल बनाएका छन् । अर्का छोरा हुन मानित शाही कम्बोडियाली सेनाकै गुप्तचर विभागका महानिर्देशक  र कान्छा छोरा राष्ट्रिय सभाका शिक्षा तथा संस्कृति आयोगका अध्यक्ष छन् । यसरी हुन सेनले कम्बोडियामा परिवारिक शासनलाई निरन्तरता दिन खोजेका छन् । 




प्रतिक्रिया