सेयर किन्दा के मुनाफा मात्रै हेर्ने हो त ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/December/dilip_manankarmi_lagani_1_ns.jpg

सामान्यतया कुनै पनि कम्पनीमा लगानी निर्णयको पहिलो आधार मुनाफा र प्रति सेयर आम्दानी (इपिएस) हुन्छ । यसैको आधारमा अन्य वित्तीय विश्लेषण र अनुपात गणना गरिन्छ । आर्थिक वर्ष २०७४/७५ देखि वाणिज्य बैंकहरूमा प्रचलनमा ल्याइएको नयाँ लेखा मापदण्ड, नेपाल फाइनान्सियल रिपोर्टिङ सिस्टम (एनएफआरएस) सँगै बैंकहरूले प्रकाशित गर्ने वित्तीय विवरणमा फरक आम्दानी र खर्चका शीर्षकसँगै विगतमा सम्पूर्ण कारोबारका आधारमा निकालिने खुद मुनाफाभन्दा फरक आवधिक मुनाफा, कुल विस्तृत आय र वितरणयोग्य मुनाफा प्रस्तुत भएका छन् । 

खुद मुनाफाका आधारमा इपिएस, मूल्य आम्दानी अनुपात (पिई),  नेटवर्थ गणना गर्दै आएका लगानीकर्ताहरू थप अन्योलमा परेका छन् । लगानीकर्ताहरूको मुख्य चासो रहने लाभांश क्षमताका सम्बन्धमा पनि फरकफरक धारणामात्र होइन, फरक तरिकाले मुनाफाको गणना गरी वित्तीय विवरण प्रकाशित भएबाट अन्योल झन् बढेको छ ।

नेपाल फाइनान्सियल रिपोर्टिङ सिस्टम (एनएफआरएस) ले विगतको मुनाफालाई निम्नअनुसार प्रस्तुत गरेको देखिन्छ :

आवधिक मुनाफा (प्रफिट फर दि पिरियड)

विगतको जस्तै व्यवसाय सञ्चालनबाट भएको आम्दानी/खर्च समेटेर मुनाफा र कर गणना गरिने यस मुनाफालाई विगतको खुद मुनाफाका रुपमा व्याख्या गरिन्छ  । बैंकहरूका सन्दर्भमा यसमा
क) ब्याज आम्दानी र खर्च,
ख) फि तथा कमिसन आम्दानी र खर्च,
ग) खुद कारोबार आय (नेट ट्रेडिङ इन्कम),
घ) अन्य सञ्चालन आय,
ङ) कर्जा-सापट वा अन्य नोक्सानीमा दायित्व वा फिर्ता (इम्पेरिमेन्ट चार्ज/रिभर्सल),
च) कर्मचारी खर्च,
छ) अन्य सञ्चालन खर्च,
ज) ह्रासकट्टी र अपलेखन,
झ) गैरसञ्चालन आम्दानी/खर्च, र
ञ) कर खर्च समावेश गरी हुन आएको मुनाफालाई नै सामान्यतः खुद आम्दानीका रुपमा लिइन्छ । बैंकहरूको आव २०७५/७६ को वित्तीय विवरण अध्ययन गर्दा प्रायः बैंकले आवधिक मुनाफालाई नै खुद मुनाफाको आधार बनाएर
क) कुल विस्तृत आय,
ख) वितरणयोग्य मुनाफा,
ग) प्रतिसेयर आम्दानी गणना गरेको देखिन्छ ।

कुल विस्तृत आय (टोटल कम्प्रेहेन्सिभ इन्कम)

विगतको वित्तीय विवरणमा नदेखिएको तर एनएफआरएसको एउटा हिस्साका रुपमा कुल विस्तृत आय देखिन थालेको छ । यसमा :
क) इक्विटीहरूमा गरिएको लगानीसँग सम्बन्धित यथोचित मूल्य जगेडाकोष,
ख) सटही समीकरण कोषमा भएको परिवर्तन,
ग) नगद प्रवाहको दायित्व (क्यास फ्लो हेज),
घ) खुद एक्चुरिअल नाफा/नोक्सान र
ङ) उल्लिखित शीर्षकहरूसँग सम्बन्धित करहरू समावेश गरी कुल विस्तृत आय गणना गरिन्छ । हाल बैंकहरूले यसको गणना गरेर देखाए तापनि लगानी निर्णयमा यसको भूमिका स्पष्ट हुन सकेको छैन । 

वितरणयोग्य मुनाफा (फ्रि प्रफिट)

नियमित कारोबार, विस्तृत गतिविधि र नियामकीय कोषहरूसमेतको व्यवस्था गरी आवधिक मुनाफा वा खुद मुनाफाका आधारमा निकालिने वितरणयोग्य मुनाफा नै लगानीकर्ताका लागि मुख्य चासो रहनुपर्ने देखिन्छ । बैंकहरूले आवधिक मुनाफालाई नै खुद मुनाफाका रुपमा लिएर प्रतिसेयर आम्दानी गणना गरिए तापनि विगतमा बैंकहरूले प्रस्तुत गर्ने खुद मुनाफा नै हालको वितरणयोग्य मुनाफा हुनुपर्ने देखिन्छ ।


 
नोट :
१. बैक अफ काठमान्डु, कुमारी र एनसिसीले तोकिएको पुँजी पुर्‍याउन बाँकी हुँदा इपिएस तुलना गर्दा सतर्कता अपनाउनुपर्दछ ।
२. सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल एसबिआई बैंकले विस्तृत आयबाट नियामकीय कोषको समायोजन गरेको हुँदा वितरणयोग्य मुनाफा कम देखिन्छ ।
३. अन्य बैंकले जस्तै आवधिक मुनाफाका आधारमा हिसाब गर्दा सिभिल बैंकको प्रति सेयर आम्दानी रु. ९.२५ देखिन्छ ।
४. कृषि विकास बैंक र एभरेस्ट बैंकको अग्राधिकार सेयरका कारण इपिएसमा केही फरक देखिन सक्छ ।

अन्योल र निष्कर्ष

अन्तिम मुनाफा


हालै प्रचलनमा आएको एनएफआरएस लेखा विधिको वित्तीय सूचकहरूमा वास्तविक प्रभावहरूको यकिन गर्न अझै केही समय लाग्न सक्छ । वाणिज्य बैंकहरूद्वारा हालै प्रकाशित वित्तीय विवरणको आधारमा देखिएका आवधिक मुनाफा, कुल विस्तृत आय र वितरणयोग्य मुनाफामध्ये लगानी प्राथमिकता र निर्णयको उपयुक्त आधारसम्बन्धी अन्योल कायमै छ । मुख्य मुनाफासँगै कुन मुनाफाका आधारमा प्रतिसेयर आम्दानी गणना गर्ने थप अन्योलको विषय बनेको छ । 

लेखाको सामान्य सिद्धान्तले खुद मुनाफाका आधारमा प्रति सेयर आम्दानी हिसाब गर्नुपर्छ, तर बैंकहरूको आवधिक मुनाफा जसलाई खुद मुनाफाका रुपमा लिइएको छ सोबाट नियामकीय कोषहरूको समायोजन गरिँदा सेयरधनीहरूका लागि उपलब्ध हुने वास्तविक मुनाफामा निकै फरक अवस्था देखिन आएको छ । खुद मुनाफाबाट छुट्याइने वैधानिक जगेडा, सामाजिक उत्तरदायित्व, डिबेन्चर रिडेम्पसन जस्ता व्यवस्थाहरू आवधिक मुनाफा वा वितरणयोग्य मुनाफाबाट हुने भन्ने वार्षिक हिसाबकिताबसहितको वासलात र नाफानोक्सान बाँडफाँट हेरेपछि मात्र निर्क्यौल हुनेछ । प्रकाशित विवरणअनुसार वितरणयोग्य मुनाफा आवधिक मुनाफाबाट करिव ४३ प्रतिशसम्म घट्ने मात्र होइन, माछापुच्छ्रेको ४.१०, प्रभुको ७.४७ र नेपाल बैंकको ७.१४ प्रतिशतले बढेको पनि देखिन्छ ।
 
विद्यमान अवस्थामा वितरणयोग्य मुनाफालाई आधार बनाएर प्रतिसेयर आम्दानी, मूल्य–आम्दानी अनुपात, इक्विटीमा प्रतिफल (आरओई), सम्पत्तिमा प्रतिफल (आरओए), आम्दानीक्षमता अनुपात (अर्निङ पावर) जस्ता सूचकहरूको विश्लेषण गर्नु बुद्धिमानी र सुरक्षित हुने देखिन्छ । 

वितरणयोग्य मुनाफा

हालै प्रकाशित वित्तीय विवरणहरूमा समेत विभिन्न बैंकहरूले फरक ढंगले मुनाफाको गणनाले मुनाफासम्बन्धी अन्योल बढाएको छ । आवधिक मुनाफा निकाल्ने प्रसंगमा त्यस्तो फरक नदेखिए तापनि २६ बैंकहरूले आवधिक मुनाफाबाट नियामकीय कोष घटाएर वितरणयोग्य मुनाफा गणना गर्दा सिटिजन्स बैंक इन्टरनेसनल र नेपाल एसबिआई बैंकले विस्तृत आयबाट नियामकीय कोषको समायोजन गरी वितरणयोग्य मुनाफा गणना गरेका छन् । जसले सिटिजन्सको करिब २४ लाख ९३ हजार र नेपाल एसबिआईको ४४ लाख १२ हजार रुपैयाँले वितरणयोग्य मुनाफा फरक पर्ने देखिन्छ । 

प्रतिसेयर आम्दानी, लाभांश क्षमता र मूल्य–आम्दानी अनुपात

लगानी निर्णयको मुख्य आधार मुनाफा र प्रतिसेयर आम्दानीको अन्योल सबैभन्दा पेचिलो देखिएको छ ।  आवधिक मुनाफालाई खुद मुनाफा मानेर प्रतिसेयर आम्दानीको गणना गर्ने हो भने लगानीकर्ताको लाभांश अपेक्षा र वास्तविक लाभांश भुक्तानीमा निकै ठूलो खाडल सिर्जना हुनेछ । किनभने आवधिक मुनाफाबाट विभिन्न नियामकीय कोषहरूको व्यवस्था गरिँदा वास्तवमा सेयरधनीहरूलाई लाभांशका रुपमा वितरण गर्न सकिने मुनाफा निकै कम हुनेछ ।

हालै प्रकाशित वित्तीय विवरणहरूमा २७ बैंकहरूले आवधिक मुनाफा र सिभिल बैंकले वितरणयोग्य मुनाफाका आधारमै इपिएस निकालेका छन् । राष्ट्रिय वाणिज्य बैंकले भने इपिएसलाई वार्षिकीकरणसमेत गरेन । आवधिक मुनाफाका आधारमा गणना गरिएको इपिएसले वित्तीय सूचकहरूमा सकारात्मक प्रभाव र वित्तीय अवस्था मजबुत देखिएको छ । तर लाभांश क्षमता सोहीअनुरुप नदेखिने हुँदा कतै लगानी निर्णयका लागि प्रयोग हुने इपिएससँगै सोही आधारमा गणना गरिने मूल्य–आम्दानी अनुपात र आम्दानी क्षमता अनुपात (अर्निङपावर रेसियो) समेत गलत हुने सम्भावना बलियो देखिएको छ ।

नेटवर्थ

अन्तिम मुनाफाअनुसार जगेडा कोषमा पनि फरक र सोको आधारमा गणना गरिने बैंकको र प्रति सेयर नेटवर्थसमेत प्रभावित हुनेछ । हालै बैंकहरूले प्रकाशित जगेडा कोषमा देखिएको अन्योल र असार मसान्तबाट असोज मसान्तसम्म आइपुग्दा उल्लेख्य मुनाफाका बाबजुद अर्बौं रुपैयाँले जगेडा कोष घटेको विवरण प्रस्तुत भएको छ (विस्तृत विवरणका लागि ‘बैंकहरूको जगेडा कोषः सुन्निएको कि मोटाएको’ मा पढ्न सकिन्छ) । यसको साथै जगेडा कोषमा आवधिक वा वितरणयोग्य मुनाफाको कताबाट रकम सारिने भन्ने अन्योल पनि देखिन्छ ।

भर्खरै प्रचलनमा आएको एनएफआरएसको लेखा विधि र लगानीकर्ताहरूले लगानी निर्णयमा प्रयोग गर्ने वित्तीय सूचक तथा लाभांशमा प्रभावको वास्तविक चित्र थाहा पाउन बैंकहरूको वार्षिक प्रतिवेदन कुर्नुको विकल्प रहन्न । विद्यमान अवस्थामा वितरणयोग्य मुनाफालाई आधार बनाएर प्रतिसेयर आम्दानी, मूल्य–आम्दानी अनुपात, इक्विटीमा प्रतिफल (आरओई), सम्पत्तिमा प्रतिफल (आरओए), आम्दानीक्षमता अनुपात (अर्निङ पावर) जस्ता सूचकहरूको विश्लेषण गर्नु बुद्धिमानी र सुरक्षित हुने देखिन्छ । 

लगानीकर्ताहरूबीच नयाँ लेखा विधिले सिर्जित अन्योला चिर्न सम्बन्धित निकाय वा नियामकले परिवर्तित व्यवस्था र ध्यान दिनुपर्ने पक्षहरूका सम्बन्धमा स्पष्ट पार्ने र मुख्य सूचकहरू इपिएस, पिई, आरओई, आरओएको गणना आवधिक मुनाफाका आधारमा नै गर्ने भए तापनि वितरणयोग्य मुनाफाका आधारमा हुने अवस्थासमेत त्रैमासिक विवरणमा प्रस्तुत गर्न निर्देश गर्न सकिन्छ ।

लगानीकर्ताहरूले पनि वितरणयोग्य मुनाफाका आधारमा आधारभूत वित्तीय सूचकहरूको गणना गरेर मात्र लगानी निर्णय गर्दा सुरक्षित हुने देखिन्छ ।




प्रतिक्रिया