लघुकथा-घर भित्रको अपराधी 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/December/Aparadhi_.jpg

एकाबिहानै कमला चिच्याउन थाली ‘लौ न नि के भयो मेरो नानुलाई कुन असति पापीले यस्तो गर्यो दया माया केही नभएको पशु’ नौ वर्षकी छोरीलाई काखमा राखेर बर्बराउदै थिई।

‘यो लोग्ने मान्छेको त बिश्वासै नहुने राति कति बेरमा आए कि बिहान हो आएको यो जुवाडे र जड्याहा पोइ त शत्रुलाई नि नपरोस कस्तो भाग्य मेरो त यस्तासँग बस्नु भन्दा त कुल्लीसँग पोईल गए बरु सुख हुन्थ्यो होला” भएभरको बिलौना एकै पटक पोखेर सकी कमलाले।

‘आमा दुख्यो मरे नि’ छोरीको कारुणिक शब्दले उसको मन छियाछिया बनायो त्यति बेलासम्म वरिपरिका छरछिमेकी पनि जम्मा भैसकेका थिए । ‘पहिला नानुलाई अस्पताल लैजाउ अनि पुलिस थाना जाउला’एक भद्र बोल्दै थिए। ‘के गर्नु र म अभागी यसो घरको जोहो मिलाउन एक रात माईत गएकी छोरीको यो हाल घरमा लोग्ने भएर पनि कुनै सार छैन,’ उ रुँदै छोरीलाई सुम्सुम्याउदै थिई ।

रामु चुपचाप टाउको निहुराएर बसेको थियो। अस्पतालमा सबै चेकजाँच गरेपछी यो बलात्कार हो यस्तो अपराधीलाई छोड्न हुन्न यस्तो अपराध गर्नेलाई सजाय त दिनै पर्छ। 

आजभोली समाजमा  छोरीहरु सार्है असुरक्षित  हुनथाले नानुलाई होस आउन दिउँ उसले भन्नसक्छे कि भन्दै थिए आफन्त छिमेकीहरु। चुपचाप बसेको रामुको शिर अझै उठेको थिएन ।

‘ए रामे त कहाँ थिईस अब त आफ्नो कर्तव्य पनि सम्झी तीनतीन बच्चाको बाउ भैसकिस्’ पल्ला घरे जेठा कड्किए । यतिकैमा छोरी सुनुलाई होस आयो भेट्न सक्नु हुन्छ भन्ने आदेश सँगै सबै उतै लाग्छन् । पीडाले छट्पटिँदै गरेकी सुनुले आँखाबाट आँसु झार्दै बाबुको मुखमा हेरेर भनी ‘बाबा मिठाई जस्तो गुलियो हुन्छ मज्जा हुन्छ, कसैलाई नभन्नु भन्नू हुन्थ्यो त भएन दुख्यो पोल्यो ऐया! मरे  आमा’ भन्दा त सबै  स्तब्ध भए मुखामुख गरे त्यति बेला सम्म प्रहरी पनि पुगिसकेको थियो।




प्रतिक्रिया