लाज पचाएका हाकिमहरू !

/assets/plugins/bower_components/fileman/Uploads/post_images/November/shanti_krishna_adhikari_karmacha.jpg

संस्कृतमा एउटा भनाइ छ- एका लज्जां परित्यज्य, सर्वत्र विजयी भवेत् अर्थात् लाज भन्ने एउटा कुरा पचायो भने जताततै विजयी भइन्छ । यसको मर्म एउटा हो तर नेपाली समाजमा अर्थ अर्कै लाग्ने गरेको छ । लाज, सरम वा धक मानेका कारण चाहिँदा काम पनि गर्न नसकेर त्यसै बसेका मानिसलाई उत्साह प्रदान गर्न प्रयोग गरिनुपर्ने यो भनाइ नेपालमा भने नचाहिँदा काम गर्नेका लागि अमृतवाणी बन्न पुगेको छ । 

शास्त्रमै भनिएको छ भन्दै कामचोर, भ्रष्टाचारी, ढिलासुस्तीका मसिहा, नैतिकताविहीन हाकिमहरू गलत बाटोमा लागिरहेका छन् । लाज पचाएरै दौरा-सुरुवाल वा टाई-सर्टमा ठाँटिएर हिँडिरहेका छन् । समाज पनि तिनैको प्रशंसक बनिसकेको छ । लाज नभएकाहरुलाई सामाजिक बहिष्कार गर्नुपर्नेमा तिनैलाई जुम्लाहात जोडेर नमस्कार गर्न नेपालीको बानी परिसकेको छ । त्यस्ता हाकिमले काँधमा धाप मार्‍यो भने आफूलाई ठूलो मान्छे सम्झनेको संख्या गनी नसक्नु छ ।

हुन त जुन देशका प्रधानमन्त्रीले नै बलात्कारी पत्ता लाग्न बाह्र वर्ष पनि लाग्न सक्छ, यो कुनै ठूलो कुरो होइन भन्छन्, मलाई कार्यपालिका, न्यायपालिका, कर्मचारी, प्रहरी कसैले टेरेनन् भनेर भाषण गर्छन्, त्यो मुलुकमा अरूबाट के नै अपेक्षा गर्न सकिन्छ र ? जुन देशका गृहमन्त्री आफ्नो कमजोरी ढाक्न पुँजीवादले बलात्कार बढायो भन्दै हिँड्छन्, त्यहाँ सुशासनको आशा कति नै पो हुन्छ र ? तैपनि ती प्रधानमन्त्री, मन्त्रीहरूले अगाडि-पछाडि दर्जनौँ सुरक्षाकर्मी र गाडीको लस्कर लगाएर राज्यको आर्थिक दोहन गर्दै फुर्ती लगाएर हिँडेको देखेपछि जनताका तर्फबाट केही न केही भन्न मन लाग्ने रहेछ र मात्रै हो । 

केही समयअघि चुलाचुलामा ग्यासको पाइप जोड्दिने बाचा गरेका प्रधानमन्त्रीले एउटा घरमा पनि त्यो सुविधा नपुग्दै योजना फेरिसके । अब घरघरमा बिजुलीको तार पुर्‍याइदिन्छु, जसबाट सबैका घरमा खाना पाक्नेछ भन्न थालेका छन् । भाषणबाटै अघाउने जनतालाई केही समयपछि तपाईँका भान्सा कोठामा पाकेकै भात सरकारले ल्याइदिनेछ नभन्लान् भन्न सकिन्न । चुनावमा भनेका पनि थिए क्यारे तर त्यही भातकै लागि आज पनि दैनिक पन्ध्र सय युवा खाडी गइरहेका छन्, भारत पलायन हुनेको संख्याको त अत्तोपत्तो छैन । काम गर्नु नपर्ने, बोले पुग्ने देशले जे होस् भने जस्तै प्रधानमन्त्री पाएको छ ।
 
नेपालमा थिति बसेको एउटै मात्र पनि कार्यालय छैन । चाहे प्रधानमन्त्रीले नेतृत्व गरेको कार्यालय होस् या शाखा अधिकृतले, चुस्त छ भन्ने ठाउँ छैन । संविधान, नियम, ऐन, कानुनले तोकेका अधिकार प्राप्त होऊन् र देशले विकासको गति समातोस् भन्ने जनताको चाहना हो तर जनचाहनाबमोजिमको काम गर्ने त परै जाओस्, सुधारको प्रयास गर्ने एक जनासम्म पनि हाकिम नपाउनु दुर्भाग्य हो ।

प्रधानमन्त्रीकै त यो हालत छ भने अरू हाकिमका के कुरा गर्नु । यातायात विभागको दुर्दशा भनी साध्य छैन । लाइसेन्स लिनका लागि ट्रायल पास गरेको एक वर्षसम्म पनि लाइसेन्स हात पार्न नसकेका सवारी धनीहरूको कन्तबिजोग विभागले मनन गर्न सकेको छैन । नवीकरणका लागि दिएकाहरुले पनि स्मार्ट लाइसेन्स पाउन सकेका छैनन् । पालो पर्खेर बसेकाहरूको दैनिकी नै यातायात कार्यालय धाउनु या विभागको मेसेज बक्समा मेसेज पठाई खबर लिनु हुन पुगेको छ । पालो कहिले आउँछ भनेर सोध्ने हो भने हाकिमसँग उत्तर छैन । देशको अवस्था र सामथ्र्यले गर्दा समय लाग्न सक्ला तर निश्चित समय त तोक्न सक्नुपर्छ नि । जे होला होला भनेर दैनिकी कटाउने र जनतालाई सुविधा दिनका लागि योजना ल्याउन नसक्ने हाकिम कार्यालयको घुम्ने कुर्सीमा बस्न लाज लाग्नैपर्ने हो । घन्टी बजाएर पियनलाई चिया ल्याऊ भन्ने हिम्मत कसरी गरेका छन्, अचम्मलाग्दो छ ।
 
कर बुझाउन लाइन लाग्नुपर्ने मुलुक सायद विश्वमै नेपाल मात्र होला । आयकर वा सवारी कर, मालपोल वा बिजुलीको पैसा, खानेपानीको महसुल वा घर कर जे बुझाउन पनि लामबद्ध हुनैपर्छ । कुनै कार्यालयमा एकदुई घन्टा त कुनैमा पूरै दिन नै खर्चिनुपर्ने अवस्था छ । कतिपय कार्यालयमा त एक दिनमा काम फत्ते भयो भने लङ्कै जितेजस्तो हुन्छ । यद्यपि कार्यालयका हाकिमहरुको रबाफ बयान गरिननसक्नुको देखिन्छ । 



जनक शिक्षा सामग्री केन्द्रले विद्यालयका पुस्तक छाप्छ । दशकौँ भयो यो केन्द्रले समयमै विद्यार्थीलाई पुग्ने पुस्तक वैशाख महिनाभरिमै उपलब्ध गरायो भनेर सुन्न नपाएको । शिक्षामन्त्री मातहतमा यो कार्यालय छ भने शिक्षा सचिव, महाप्रबन्धक आदि यसका हाकिम हुन् । विद्यार्थीलाई पुस्तक उपलब्ध गराउन सकिनँ भनेर राजीनामा दिएको हाकिम आजसम्म भेटिएको छैन । यस्ता हाकिमलाई राज्यले तलबभत्ता, गाडीलगायतका सुविधा प्रदान गरेर किन पालेको छ ? जनतालाई उत्तर दिनुपर्दैन !

पेट्रोल पम्पहरुले उपभोक्तालाई विभिन्न यन्त्र जडान गरेर कम परिमाणमा पेट्रोलियम पदार्थ उपलब्ध गराउने गरेका समाचारहरु आइरहन्छन् । एक दुई दिन ती पम्पहरु सिल गरिन्छ तर पछि खुल्छ । जरिबाना के कति भयो, कारबाही के भयो थाहै पाइन्न । त्यस्ता पम्प सञ्चालनमा आइरहेकै छन्, सञ्चालक पनि तिनै छन् । एक लिटरमा जुन परिमाणमा घोटाला गरेका छन्, त्यही अनुपातमा व्यापारीलाई पम्प खुलेका दिनदेखिको हिसाब गरी जरिबाना गर्ने हो भने यो क्रम रोकिन्न र ? त्यो व्यापारीलाई आगामी दिनमा कुनै पनि व्यवसाय गर्न नपाउने बन्देज लगाउने हो भने उपभोक्ता लाभान्वित हुने थिएनन् र ? यस्तो नियमकानुन बनाउने हाकिम नेपालमा कहिले आउलान् ?

यी केही प्रतिनिधि उदाहरणहरु मात्र हुन् । नेपालमा थिति बसेको एउटै मात्र पनि कार्यालय छैन । चाहे प्रधानमन्त्रीले नेतृत्व गरेको कार्यालय होस् या शाखा अधिकृतले, चुस्त छ भन्ने ठाउँ छैन । संविधान, नियम, ऐन, कानुनले तोकेका अधिकार प्राप्त होऊन् र देशले विकासको गति समातोस् भन्ने जनताको चाहना हो तर जनचाहनाबमोजिमको काम गर्ने त परै जाओस्, सुधारको प्रयास गर्ने एक जनासम्म पनि हाकिम नपाउनु दुर्भाग्य हो ।
 
देशले भाषणबाज होइन, संवेदनशील प्रधानमन्त्री खोजेको छ । साम्यवादमा बलात्कार हुँदैन भन्ने होइन, शान्ति सुरक्षा प्रदान गर्न कटिबद्ध गृहमन्त्री खोजेको छ । नैतिकवान् शिक्षक-प्राध्यापक खोजेको छ । कामचोर-भ्रष्टाचारी होइन, जनसेवी-तलबजीवी कर्मचारी खोजेको छ ।

एउटै हाकिम स्वच्छ भयो भने पनि धेरै ठूलो परिवर्तन हुन सक्छ । तलका कर्मचारीले भागबन्डामा ल्याइदिएको घुसको पैसा म त खान्न तिमीहरु पनि नखाओ भन्ने हाकिम भयो भने पचास प्रतिशत भ्रष्टाचार आफैं रोकिन सक्छ । दश बजे कार्यालय पुगेर पाँच बजेसम्म जनताका काममा तल्लीन हुने हाकिम भएको कार्यालयमा प्रायः कर्मचारीहरु पनि सिटसिटमै भेटिन्छन् । सानो प्रयासबाटै महत्त्वपूर्ण परिवर्तन ल्याउन सकिने कुरामा हाकिम संवेदनशील भएको पाइँदैन ।

मेरो कार्यकालमा यो परिवर्तन गरेँ, मैले त्यो कार्यालयको नेतृत्व गर्दा यो सिस्टम बसाएँ भन्ने जस्ता गर्व गर्नलायक जागिर अवधिभरमा एउटै काम देखाउन सके पनि धन्य हुने थियो । आजसम्म त्यस्तो हाकिम नपाउनु नेपाल र नेपालीले दुःखद मान्नुपर्छ । जे चल्दै आएको छ, त्यसैमा रमाउने, भ्रष्टाचारका माध्यमबाट दुईचार पैसा जोड्न सके गर्व ठान्ने, सरकारी काम कहिले जाला घाम भन्ने उखान चरितार्थ पार्ने हाकिम रहँदासम्म मुलुकले कुनै कुराको आस गर्न सक्दैन । सरकारी कार्यालय हेर्‍यो त्यस्तै, विश्वविद्यालय हेर्‍यो त्यस्तै, सरकारी संस्थान हेर्‍यो त्यस्तै । सबै बेथितिका अखाडा हुँदासम्म नेपाल र नेपालीको भविष्य सुधारोन्मुख हुन सक्दैन ।

म एउटा मान्छे खोजिरहेछु ... बोलको गीतले भने जस्तै आज नेपालले एउटा सपूत खोजेको छ । भाषणबाज होइन, संवेदनशील प्रधानमन्त्री खोजेको छ । साम्यवादमा बलात्कार हुँदैन भन्ने होइन, शान्ति सुरक्षा प्रदान गर्न कटिबद्ध गृहमन्त्री खोजेको छ । अध्ययनशील, इमानदार, नियमसम्मत काम मात्रै गर्ने उपकुलपति खोजेको छ । कक्षाकोठामा नैतिकवान् शिक्षक-प्राध्यापक खोजेको छ । कामचोर-भ्रष्टाचारी होइन, जनसेवी-तलबजीवी कर्मचारी खोजेको छ । आफ्नो मात्र हैसियत बढाउने होइन, जनताको जीवनस्तर उठाउन प्रयत्न गर्ने राजनीतिकर्मी खोजेको छ । जो जहाँ छ त्यहाँ परिवर्तन ल्याउन सक्ने हाकिम खोजेको छ । लाज पचाएको व्यक्ति यो समाजलाई चाहिएकै छैन । देशका लागि म एउटा सपूत बन्नेछु भन्ने व्यक्ति मुलुकले खोजिरहेछ ।




प्रतिक्रिया