के विवाह गर्नैपर्छ ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/November/biwah_2_ns.jpg

आज विवाहबारे केही कुरा गर्न मन लाग्यो। तर के र कसरी लेख्ने थाहा छैन। हुन त विवाहका बारेमा अनेकौं वाद-प्रतिवाद सुनेर र पढेर हामीले जिन्दगी गुजार्दै आयौं। युवा अवस्थामा फ्रायडमाथि खुबै परिचर्चा गरिन्थ्यो। उनले यौन मनोविज्ञानमाथि उत्तेजक विचार दिएका थिए। अतः उनका विचारलाई विवाहसँग जोडेर हामी उद्वेलित हुने गर्थ्यौ ।

केही पछि हाम्रो समूहमा ओशो आए। ओशोका यौन र समाधिसम्बन्धी विचारले हामीलाई छोयो। हामी जीवन र जगत्का यस्ता सम्बन्धलाई ओशोका भनाइसँग जोडेर हेर्न थाल्यौं। त्यसो त माक्र्सवादी पनि विवाह, यसको सुन्दरता र कुरूपतामाथि परिचर्चा गर्थे। यो हाम्रो कलेज समयको कुरा हो। यसरी विवाहमाथि अनेकौं रोचक भनाइ सुन्दै र चर्चा गर्दै हाम्रा जवानी बिते। 

विवाह के हो ? यस विषयमा अनेकौं रमाइला भनाइ स्मरणमा आउँछन्। कोही भन्छन्– विवाह सामाजिक बन्धन हो। यसलाई मानव सभ्यताले निर्माण गरेको पारिवारिक सगंठन पनि भन्न सकिन्छ। जसले महिला र पुरुषलाई निजी परिवार बनाउन उत्प्रेरित, नियमित र संगठित गर्छ। कसैले भन्छ– विवाह एक प्रकारको करारनामा हो। यस्तो करारनामा, जसका नाममा महिला र पुरुषले आफ्नै जीवनमाथिको स्वपन र स्वामित्व गुमाउँछन्।

यहीँबाट जीवनको साझेदारी सुरु हुन्छ। आफ्नो भैतिक र भावनात्मक अस्तित्वमाथि साझेदारी। कतै पढेजस्तो वा सुनेजस्तो लाग्छ कि विवाह वैध प्रकृतिको सामाजिक वेश्यालय हो। यति उग्र टिप्पणी कता पढियो थाहा छैन। तर यो उग्र टिप्पणीको पनि गुह्य अर्थ छ। यी विवाहमाथिका सकारात्मक र नकारात्मक परिभाषा र अर्थ हुन्। विवाहमाथि सकारात्मक भनाइ यसकारण छन् कि यसले सामाजिक तथा मानवीय अस्तित्वलाई बलशाली बनाउँछ। विवाहमाथि कतिपय मान्छेहरू यसकारण नकारात्मक छन् कि यो बन्धन हो। जसले मान्छेको स्वतन्त्र उडानलाई अवरुद्ध गर्छ।

यद्यपि बहस जेजस्तो भए पनि विवाह सामाजिक सबलताको एउटा हिस्सा हो। विवाह हुन्छ, त्यसैले मान्छे बलियो हुन्छ। विवाह छ, त्यसैले व्यक्ति, घर, समाज र सभ्यता पूर्ण तथा चलायमान छ। 
Image may contain: 1 person, smiling, sunglasses
यहीँनेर अर्को प्रश्न आउँछ, विवाह किन गरिन्छ ? यसमाथि पनि अनेकौं रोचक बहस छन्। के यो जैविक आवश्यकता हो ? अथवा यो सन्तान प्राप्तिको   साधन हो ? कि यो दुई आत्माको मिलन हो ? जैविक आवश्यकताका लागि विवाह नै गर्नुपर्छ भन्ने छैन। पछिल्लो समय विवाह र यौनलाई पृथक् रूपमा   बुझ्न थालिएको छ। सन्तान प्राप्तिका लागि पनि अरू अनेकौं उपाय हुन सक्टन्।

सन्तान प्राप्तिको विषय अब प्राविधिक बन्दैछ। विवाह दुई आत्माको   मिलन हो भने त्यसका लागि विवाह नै किन गर्नुपर्छ र ? पौराणिक प्रसंगमा राधा र कृष्णको आत्मिक मिलन विवाहबाट निर्माण भएको हो र ? गहिरो प्रेम   गर्नका लागि विवाह नै किन चाहियो ? पुरुषवादी समाजमा विवाहलाई महिलामाथि वैधानिक स्वामित्व निर्माण गर्ने आधार भन्नेहरू पनि छन्। यस्तो   वैधानिक स्वामित्व जसले महिलालाई सधैँ पुरुषमा समर्पित गरिदिन्छ। विवाहमाथि बनेका यी अप्ठ्यारा प्रश्न हुन्। 

 विवाहमाथि सकारात्मक बन्न अनेकौं तर्क छन्। विवाह हुन्छ र त हाम्रो सभ्यताले उचाइ प्राप्त गरेको छ। विवाह छ र त हामी नैतिक छाँै। अन्यथा मानव   जीवन अनैतिक यौनको थुप्रोजस्तो हुन्थ्यो। विवाह हुन्छ, त्यसैले महिला र पुरुषको महत्त्व हुन्छ। यसरी विवाहमाथिका सकारात्मक र नकारात्मक दुवै सन्दर्भ रोचक छन्।

यी सबै बहस मिलाउँदा के स्पष्ट हुन्छ भने विवाह जैविक आवश्यकता पूरा गर्ने साधन हो। सन्तान प्राप्तिको वैधानिक र सरल बाटो हो। विवाह दुई आत्माको मिलन हो। मुख्य कुरा विवाह गर्नेहरूका लागि एउटै परिभाषाले काम गर्दैन। विवाह गर्नेहरूको मनको विशालता र गहिराइले यसको परिभाषा निर्धारण हुन्छ। विवाह मनसँग जोडिने हुँदा मनको चञ्चलता र स्थिरताले विवाहको प्रभाव र सामथ्र्य निर्माण हुन्छ। 

विवाहले सामाजिक तथा मानवीय अस्तित्वलाई बलशाली बनाउँछ। विवाह सामाजिक सबलताको एउटा हिस्सा हो। विवाह हुन्छ, त्यसैले मान्छे बलियो हुन्छ। विवाह छ, त्यसैले व्यक्ति, घर, समाज र सभ्यता पूर्ण तथा चलायमान छ।


अर्को प्रश्न पनि आउन सक्छ– के विवाह ‘जटिल र विधिपूर्ण’ हुन्छ ? के यसको धर्म र परम्परासँग साइनो छ ? विवाह जटिल कुरा होइन। यो सिस्टमेटिक पनि हुँदैन। निश्चय नै धर्म, सम्प्रदाय, जातीय अवस्थिति र सामाजिक मान्यताहरूले विवाहलाई विविध रङ र रूप दिन्छ। तर सबै विवाहको अन्तिम प्रयोग भने एउटा जीवन र अर्को जीवनको साझेदारी हो। यो धर्मभन्दा माथि हुन्छ। यो सम्प्रदायभन्दा माथि हुन्छ। विवाह यौनभन्दा पनि माथि हुन्छ।

यो सन्तान प्राप्तिभन्दा पनि माथि हुन्छ। त्यसो हो भने यो विधि र प्रणालीभन्दा माथि हुन्छ। विवाहलाई जटिल र विधिपूर्ण त समाजले बनाएको हो। अन्यथा यो प्राकृतिक र सरल हुन्छ। विवाह दुईजनाको कुरा हो। यसमा जोडिने बाँकी सबै विधि, प्रणाली र परम्परा मानव निर्मित हुन्। भन्नु पर्दैन मानव निर्मित कुरा शाश्वत हुँदैनन्। ती प्रकृतिक पनि हुँदैनन्। त्यसैले विवाहको हकमा विवाहबाहेक अरू सबै अप्रासंगिक हुन्।

हाम्रो समाजमा यस्ता प्रश्न पनि गरिन्छ कि प्रेम विवाह ठिक कि मागी ? सजातीय विवाह ठिक कि अन्तरजातीय ? प्रेम र मागी विवाह कुन ठिक हो भन्ने विषयमा हामीसँग फरकफरक धारणा छन्। परम्परागत धारणा छ कि प्रेम विवाह भन्दा मागी विवाह ठिक हुन्छ। किनभने यसमा सामाजिक बन्धनले काम गर्छ। सामाजिक बन्धन र सामाजिक साक्षीहरूले मागी विवाहलाई स्थायी बनाउँछन्। प्रेम विवाहमा सामाजिक तथा परम्परागत बन्धन हुँदैन। त्यसैले यस्तो विवाह भत्किने सम्भावना हुन्छ। तर यी धारणा सतही हुन्। दुवै विवाह टिक्न सक्छन्, महिला र पुरुषमा आत्मिक समझदारी छ भने।
https://www.nicasiabank.com/

आत्मिक समझदारीको स्कोप छ भने दुवै विवाह स्थायी हुन्छन्। मनमा सम्बन्धलाई बचाउने आगोको झिल्को छ भने प्रेमको आगो बल्छ र बलिरहन सक्छ। एउटाले अर्कोलाई बुझ्ने उदात्त भावनाले नै आत्मिक साइनोलाई प्रगाढ बनाउँछ। जुनसुकै खाले होस् यस्तो विवाह टिक्छ। अन्यथा हजारौं महापुरुष साक्षी बसेर विवाह रचना गरे पनि विवाह टिक्दैन। यसर्थ भन्न सकिन्छ, विवाह दुईजनाको साइनो हो। बाँकी प्रयोगहरूले यसको आयु निर्धारण गर्दैनन्।

अन्तरजातीय विवाह के हो ? विवाह जातीय कुरा होइन। जात समाजले बनाएको कुरा हो। वैवाहिक लैंगिक कुरा हो। फरक सामाजिक तथा सांस्कृतिक धरातलले विवाह बन्धनलाई दिगो बनाउँदैन भन्ने पनि पाइन्छन्। निश्चय नै एकअर्कालाई नबुझ्ने हो भने अन्तरजातीय विवाह निकै जोखिमपूर्ण हुन सक्छ। सजातीय विवाहमा पनि यस्तो जोखिम छ। तर बहुसांस्कृतिक सम्बन्धका आफ्नै सामाजिक फाइदा छन्। यसले सामाजिक अन्तरघुलन बढाउन र उदात्त मानवीय सम्बन्धलाई उचाइ दिन सहयोग गर्दछ। तर भन्नुपर्छ कि विवाह सजातीय वा अन्तरजातीय कुरा होइन।

यो नितान्त लैगिंक कुरा हो। जब यो लैंगिक हुन जान्छ यसले लैंगिक साइनो नै खोज्छ। अतः विवाहमा जातीय तथा पृथक् सामाजिक सम्बन्धको कुरा गर्नु बेकार हो। विवाह गर्न जात चाहिँदैन, लैंगिकता चाहिन्छ। महिला र पुरुष चाहिन्छ। महिला र पुुरुषको स्वस्थ मन चाहिन्छ। त्यसैले विवाहलाई टिकाउँछ। बाँकी सबै फजुल कुरा हुन्।

नेपाली समाजमा विवाहलाई कर्तव्य पनि भनिन्छ। यसलाई व्यवहार पनि भनिन्छ। कतिपय विवाह मनले नभई कर्तव्यले टिकेका पनि हुन्छन्। सायद यसलाई व्यवहारवाद भन्न सकिन्छ। विवाह गरिसकेपछि यसलाई टिकाउनुपर्छ भन्ने हाम्रो पूर्वीय मान्यता हो। कतिपय मान्छेको विवाहसम्बन्ध जतिसुकै खराब भए पनि सामाजिक दायित्वले सम्बन्ध टिक्छ। यस्ता मान्छेहरू भन्छन्– ‘यसलाई भत्काउन हुँदैन।’  तर पछिल्लो समय यस्ता धारणामा परिवर्तन आउँदैछ। पश्चिमाहरू ठान्छन्– जीवन एक पटक पाइन्छ। त्यसैले अनावश्यक सम्झौता गरेर सम्बन्धहरू किन टिकाउने?

पश्चिमाहरू सम्बन्धलाई जीवनको सुखसँग जोड्छन्। जुन सम्बन्धले सुख दिँदैन त्यसलाई तोडिदिनुपर्छ भन्ने उनीहरूको अभिमत हो। यस्तो विचार मूलतः भावनात्मक कम र उपभोक्तावादी ज्यादा देखिन्छ। विवाहसम्बन्धी पूर्वीय मत भने भावनात्मक कम र कर्तव्यमुखी ज्यादा छ। पश्चिमाहरू विवाह, डिभोर्स र मित्रतामा उदार छन्। उनीहरू जार काट्दैनन्। हामी जार काट्ने संस्कृतिबाट दीक्षित छौँ। यो महिलालाई कर्तव्यको सीमाभित्र बस्नुपर्ने निरीह प्राणी ठान्ने सोच हो। तर पश्चिमाहरू महिला र पुरुषलाई फरक अस्तित्व मान्छन्। फरक अस्तित्व मान्नासाथ उनीहरू फरक स्वतन्त्रतालाई पनि स्वीकार गर्दछन्। यसर्थ नै समाज, परिवार र विवाहमा उनीहरू उदार छन्। 

मान्छे र मन जस्तो हुन्छ विवाह त्यस्तै हुन्छ। मान्छेलाई चिन्ने कुनै सूत्र हुँदैन। मनलाई बुझ्ने पनि कुनै सूत्र हुँदैन। त्यसैले विवाहको पनि कुनै सूत्र हुँदैन। विवाहको कुनै रङ हुँदैन। विवाहको कुनै रूप हुँदैन। विवाह रातो, हरियो, कालो, सेतो जस्तो रङको पनि हुन सक्छ।


मैले देखेको एउटा गजब विवाहको प्रसंग यहाँ सान्दर्भिक लाग्यो। कुरा डेनमार्कको हो। सन् २००७ सेप्टेम्बर। म कुनै डेनिस परिवारमा सामाजिक अन्तरघुलनका लागि एक हप्ता पाहुना बसेँ। म उनीहरूसँग डेनिस जीवनका विषयमा जान्न चाहन्थेँ। मेरो बसाइकै क्रममा मेरो घरवालाको छोराको विवाह आयोजना गरियो। यो यस्तो विवाह थियो जसमा बेहुली एक महिनापछि बच्चाको आमा हुँदै थिइन्। उनीहरूलाई आशीर्वाद दिन आएका थिए, आठजना फरकफरक अभिभावक। 

आठ फरकफरक अभिभावकको समूहमा थिए बेहुलाकी वास्तविक आमा र वास्तविक बुबा तथा बेहुलीका वास्तविक आमा र बुबा। यी चारजनाबाहेक अरू चार थिए बेहुलाकी आमाको नयाँ पति र बुबाकी नयाँ पत्नी। बेहुलीपट्टि पनि त्यस्तै थियो। उनीहरू सबै जम्मा भएर बेहुलाबेहुलीलाई आशीर्वाद दिए। सँगै भोज खाए। मित्रवत् कुराकानी गरे। बिना कुनै संकोच र कटुता आठजनाले वार्तालाप गरेको दृश्य मानव साइनोहरूलाई नयाँ परिभाषा दिन उपयुक्त दिने खालको थियो। यस्तो विवाह र साइनोलाई के भन्ने ? 

म आफू इमानदार भएर भन्छु विवाहका बारेमा मेरो कुनै निष्कर्ष छैन। मलाई लाग्छ- यसमाथि निष्कर्ष निकाल्नु आफैंमा मूर्खता हो। जसरी मान्छे के हो भन्ने कुराको कुनै निष्कर्ष हुँदैन, मन के हो भन्ने कुराको कुनै निष्कर्ष हुँदैन। त्यही अमूर्त मान्छे र मनको खेल हो विवाह। त्यसैले भन्न सकिन्छ- मान्छे र मन जस्तो हुन्छ विवाह त्यस्तै हुन्छ। मान्छेलाई चिन्ने कुनै सूत्र हुँदैन। मनलाई बुझ्ने पनि कुनै सूत्र हुँदैन। त्यसैले विवाहको पनि कुनै सूत्र हुँदैन। 

रङहरूको बिम्ब बनाएर हेर्दा मलाई लाग्छ विवाहको कुनै रङ हुँदैन। विवाहको कुनै रूप हुँदैन। विवाह रातो, हरियो, कालो, सेतो जस्तो रङको पनि हुन सक्छ। यसको स्वरूप पनि आ–आफ्नै ढाँचाको हुनुपर्छ भन्ने मेरो विचार हो। अतः मेरो निष्कर्ष छ, तपाईं जस्तो सोच्नुहुन्छ विवाहको रङ त्यस्तै हुन्छ। तपाईं जस्तो आकार दिनुहुन्छ विवाहको रूप त्यस्तै हुन्छ। किनभने विवाह संकल्प हो। संकल्पको कुनै चित्र हुँदैन।  

विवाह परिभाषा दिनै नसकिने सम्बन्धको सूत्र हो। विवाहको रङ र स्वरूपमा पनि अनेकौं इन्दे्रणी होलान्। कुन रङ र स्वरूप ठिक हो भन्नु असान्दर्भिक हुन्छ। किनभने विवाहलाई सुनेका, भोगेका र पढेका मान्यताबाट हेर्न हुँदैन। यो मनको साइनो भएकोले यसको सूत्र पनि हुँदैन। मनको गति र चरित्रको के सूत्र हुन्छ र ? बरु यस्तो होस् कि रहेक विवाहले नयाँ मान्यता सृजना गरून्। र हरेक युगल जोडीले भन्न सकोस् मैले हाम्रो विवाहको सम्बन्धलाई नयाँ परिभाषा दिएँ। त्यही विवाह नै सफल हो जसले महिला र पुरुषको सम्बन्धलाई उदात्त, अझ स्वतन्त्र, बन्धनरहित र आत्मिक बनाउँछ। 
[email protected]

प्रतिक्रिया