पसल जस्तै निजी अस्पताल : उपचार महँगाे, गुणस्तर शून्य

/assets/plugins/bower_components/fileman/Uploads/post_images/November/Birgunj_Healthcare_Hospital.jpg

वीरगन्ज– निजी क्लिनिक सञ्चालन गर्दै आएका यहाँका वरिष्ठ चिकित्सकबीच अस्पताल सञ्चालन गर्ने होड सुरु भएको छ। आफ्नै लगानीमा अस्पताल सञ्चालनमा खासै रुचि नदेखाउने चिकित्सक आफैं अहिले मुख्य लगानीकर्ता र सञ्चालक हुने क्रम बढेको छ ।

यहाँका नयाँ पुराना चिकित्सकको लगानीमा डेढ दर्जन निजी अस्पताल सञ्चालनमा आइसकेका छन् । नयाँ अस्पतालमा लगानी गर्ने क्रम अझै जारी छ। यीमध्ये सीमित अस्पतालमा मात्र पर्याप्त जनशक्ति र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध छ । अधिकांश निजी अस्पताल न्यूनतम पूर्वाधार र जनशक्तिबिना नै सञ्चालनमा छन् । 

पर्सादेखि धनुषासम्मका बिरामीको वर्षैभरि भीडभाड हुने नारायणी उपक्षेत्रीय अस्पतालका अधिकांश वरिष्ठ चिकित्सकको आफ्नै अस्पताल सञ्चालनमा छ। सर्जन डा. मनोज गुप्ता र प्रसूति रोग चिकित्सक डा. लक्ष्मी थापाको जोडीको संलग्नतामा पानीट्यांकी टोलमा प्रभु अस्पताल सञ्चालनमा आउँदैछ । प्रभु बैंकका प्रवद्र्धकको समेत लगानी रहेको बताइएको यो अस्पतालको पाँचतले भवन निर्माणाधीन छ।

डा. नीलम चौरसिया दम्पतीले सीता अस्पताल प्रालि सञ्चालन गरिरहेका छन् । बालरोग चिकित्सक डा. कुशराज गिरी सूर्या अस्पतालमा संलग्न छन् । निजी क्षेत्रको पुराना अस्पतालमध्ये वीरगन्ज हेल्थ केयर र गण्डक अस्पतालले आधुनिक चिकित्सा उपकरण थप्दै उपचार सेवा स्तरीय बनाउँदै लगेका छन्। वीरगन्ज हेल्थकेयरले मुटुरोग र स्नायुप्रणाली सम्बन्धीउपचारका लागि महँगा उपकरण जडान गरेको छ। 

महँगियो उपचार खर्च  

निजी लगानीका अस्पतालहरू विशिष्टीकरणभन्दा सामान्य उपचार सेवामै संलग्न छन् । बिरामीले सरकारी अस्पतालमा निःशुल्क पाइने सेवाका लागि निजी अस्पताललाई चर्को शुल्क तिर्नुपरिरहेको छ। 

वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौगाई सरकारी अस्पताल बिजोग बनाएर निजी व्यापार चम्क्याउने प्रवृत्ति बढ्दै जाँदा गरिब बिरामीका लागि सामान्य उपचार खर्चिलो हुन पुगेको गुनासो गर्छन् ।

गम्भीर अवस्थाका बिरामीको उपचार गरेर बिरामीको ज्यान जोगाउन योगदान गर्नेभन्दा पनि सामान्य खाले उपचार गरेर रकम कुम्ल्याउने प्रवृत्ति बढ्दा सबैभन्दा बढी मार गरिब बिरामीलाई परेको छ । नारायणी उपक्षेत्रीय अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष विनोद गुप्ताले नेपाल समयसँग भने, ‘बिरामी उपचारमा जोखिम नलिने तर वरिष्ठ कहलाउने चिकित्सकका कारण स्वास्थ्य सेवाको अवस्था खस्किएको छ ।’

एलएस न्युरो अस्पतालका चिकित्सक डा. लालबाबु प्रसाद दुर्घटना परेर गम्भीर घाइते भएका बिरामीलाई वीरगन्जमै उपचार नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्यका लागि आफूले जटिल न्युरो सर्जरी सुविधासहितको अस्पताल सञ्चालनमा ल्याएको बताउँछन् । जन्मथलो वीरगन्जमा स्तरीय सेवा उपलब्ध गराउनकै लागि बाँसबारी न्युरो अस्पतालको जागिर छाडेर वीरगन्ज आइपुगेको उनको दाबी छ । 
 
सीमित अस्पतालमा मात्र पर्याप्त जनशक्ति र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध छ । अधिकांश निजी अस्पताल न्यूनतम पूर्वाधार र जनशक्तिबिना नै सञ्चालनमा छन् । सरकारी अस्पतालमा निःशुल्क पाइने उपचार सेवाका लागि बिरामीले निजीमा महँगो शुल्क तिर्नुपरेको छ ।

जनशक्ति टिकाउन चुनौती

भवानी अस्पतालका प्रबन्ध निर्देशक रामजी श्रेष्ठका अनुसार नयाँ अस्पताल थपिँदा स्वस्थ्य र अस्वस्थ दुवै खाले प्रतिस्पर्धा बढ्दै गएको छ ।

दीर्घकालीन सोचसहित आएका अस्पतालहरू बिरामीलाई स्तरीय र एकीकृत सेवा प्रदान गर्न लगानी थप्न एवम् र उपचारमा लापरबाही हुन नदिन सचेत छन् । तर बिरामी र जनशक्ति दुवै अभाव भएकाले खिचातानी चल्दा अस्वस्थ प्रतिस्पर्धाले ठाउँ पाएको छ। 

अस्पतालमा बिरामी जुटाउन सरकारी अस्पतालमा उपलब्ध हुने उपचार सेवाका लागि आउने बिरामीलाई समेत दलालमार्फत निजी अस्पतालमा ल्याइपुर्‍याउने र चर्को रकम असुली गर्ने धन्दा फस्टाएको छ।

प्रबन्ध निर्देशक श्रेष्ठले बिरामी स्याहार्न अत्यावश्यक दक्ष जनशक्तिको चर्को अभाव खेप्नुपरेको बताए। ‘यहाँको प्राविधिक शिक्षालयमा पारामेडिकल र नर्सिङ अध्ययन गर्ने अधिकांश बाहिरी जिल्लाका विद्यार्थी छन्’, उनले भने, ‘त्यो जनशक्ति तयार भएपछि अन्यत्रै पलायन हुन्छ, यहाँ अवस्था ज्यूँका त्यूँ रहन्छ।’



निजी अस्पतालको पृष्ठभूमि

निजी क्षेत्रबाट व्यावसायीक रुपमा अस्पताल सुरु गर्ने श्रेय एडभान्स मेडिकेयर प्रालि (एएमसी) लाई जान्छ। जसको नेतृत्व बैंकर रमेश भट्टराईले स्थानीय मारवाडी समुदायलाई विश्वासमा लिएर गरेका थिए । अहिले जनार्दन सिंह छेत्री नेतृत्वको समूहले अस्पताल सञ्चालनमा गरिरहेको छ। 

एएमसी अस्पतालपछि व्यावसायीक रुपमा श्रीमती डा. शशी आचार्य र स्व. डा. मधुसूदन आचार्यको जोडीले लिंकरोडमा शिवा अस्पताल सञ्चालनमा ल्याए । डा. मधुसूदनको निधनपछि अस्पताल सञ्चालनले निरन्तरता पाउन सकेन ।

निजी लगानीमा बाल अस्पताल सुरु गर्ने डा. सागरमान र डा. पिंगला अमात्य दम्पती हुन् । उनीहरुले पानीट्यांकी टोलमा २५ शैय्याको सर्वोत्तम बाल अस्पताल सञ्चालनमा ल्याएका थिए । उमेर र पारिवारिक तनावका कारण अस्पतालको व्यवस्थापन सम्हाल्न नसकेपछि अमात्य दम्पतीले अन्य समूहलाई निम्त्याएर भए पनि अस्पतालको पूर्वाधार अस्पताल सञ्चालनमै प्रयोगलाई निरन्तरता दिँदै आएका छन् । अहिले उनीहरूको अस्पतालमा डा. श्यामबाबु प्रसादको एलएस न्युरो अस्पताल सञ्चालनमा रहेको छ । 

डा. अशोक शाह दम्पतीले दुई दशकअघि नै आदर्शनगरमा शाह नर्सिङ होम सञ्चालनमा ल्याए पनि कमजोर सेवासुविधाको कारण बिरामीको रोजाइमा पर्न सकेको छैन । शिक्षण अस्पताल सञ्चालनको उद्देश्यसहित डा. शाहले एसिया प्यासिफिक मेडिकल कलेजको आशयपत्र पाए पनि लगानी र विद्यार्थी दुवै जुटाउन नसकेपछि बन्द हुन पुग्यो ।  

वरिष्ठ शल्य चिकित्सक डा. जैनुद्दिन अन्सारीले पानीट्यांकीस्थित निजी निवासमा क्लिनिक विस्तार गर्दै १० शय्याको वीरगन्ज नर्सिङ होम चलाए । अहिले उनी ७ सय ५० शय्याको नसनल मेडिकल कलेज शिक्षण अस्पतालको मालिक र अध्यक्ष दुवै छन् । 

निजी लगानीमा पछिल्लो समयमा अस्पताल सञ्चालनको प्रारम्भ गरेका वरिष्ठ बालरोग विशेषज्ञ डा. अशोक दास हुन् । उनले अहेव रामप्रसाद यादवको भगवती टोलस्थित निवास भवन बहालमा लिएर बाल अस्पताल सुरु गरे । पछि आफ्नै लगानीमा पानीटयांकी टोलमा आशाराम अस्पताल सञ्चालनमा ल्याए । अहिले उनलाई यो अस्पताल सञ्चालनमा चिकित्सक छोरी डा. अलिशाले सघाइरहेकी छन् ।




प्रतिक्रिया