म्ह पूजा : आत्मा उपासनाको मौलिक पर्व

/assets/plugins/bower_components/fileman/Uploads/post_images/November/maha_puja.jpg

काठमाडौं- आफ्नो शरीरलाई परमात्मा मानेर आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने म्हपूजाको दार्शनिक पक्ष हो । समग्र देवता ऊर्जाशक्ति विश्व ब्रह्माण्ड मानव शरीरभित्र रहेको विश्वास गर्दै आफ्नो उद्धार गर्न आफैं अघि सर्नुपर्छ भन्ने विश्वासका साथ म्ह पूजा गर्ने प्रचलन सुरु भएको मानिन्छ ।

वर्षा ऋतुभर जताततै पानी जम्ने भएकाले घरवरिपरि विभिन्न किटाणु फैलिनुका साथै रोगका लक्षण देखिन्छन् । ती किटाणु र फोहोरमैला हटाउन वर्षको एकपटक भए पनि माटो, गोबर र चुनाले घर पोत्ने चलन छ । धेरैजसोले हरियो गोबर र रातो माटोले घर पोत्छन् । तिहारमा त हरियो गोबरले नलिपेको ठाउँमा लक्ष्मीपूजा गर्न नहुने मान्यता छ ।

लक्ष्मीपूजामा मात्र होइन, नेवार समुदायले म्हपूजा गर्ने ठाउँमा पनि हरियो गोबरले  लिपिन्छ । गोबर र माटोमा केही किटाणु हुन सक्छन् । त्यस्ता किटाणु तिहारमा बालिने तिलको बत्तीबाट आउने गन्धले नष्ट हुन्छ भन्ने मान्यता छ ।

नेवार समुदायमा तिहारको चौथो दिनमा म्ह पूजा गरिन्छ । म्हको अर्थ शरीर हो । नेवारी समुदायमा चान्द्रमासअनुसार कछलाथ्व पारू अर्थात् कार्तिक शुक्ल प्रतिपदाका दिन आफ्नो शरीर वा आत्माको पूजा गर्ने परम्परा धेरै पुरानो हो । 

किंवन्दतीअनुसार परापूर्व कालमा ठूलो दैवी प्रकोपका कारण धेरै मानिसको निधन भयो रे । त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि आफूलाई पूजा गर्न थाले । यसरी म्ह पूजा गर्ने प्रचलन सुरु भएको हुन सक्ने बताउँछन् संस्कृतिविद् तेजेश्वरबाबु ग्वंगः ।

म्ह पूजा गर्नु आत्माको उपासना हो । शरीर पूजा गर्नु आफ्नो अस्तित्व संरक्षण गर्नु हो र आफ्नो स्वस्थ जीवनका लागि प्रार्थना गर्नु हो । संस्कृतिविद् ग्वंगःका अनुसार आफ्नो शरीरलाई परमात्मा मानेर आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने म्हपूजाको दार्शनिक पक्ष हो ।

समग्र देवता ऊर्जाशक्ति विश्व ब्रह्माण्ड मानवैआत्माभित्र रहेको विश्वास गर्दै आफ्नो उद्धार गर्न आफैं अघि सर्नुपर्छ भन्ने विश्वासका रूपमा म्ह पूजा गर्ने प्रचलन सुरु भएको मानिन्छ । म्ह पूजा गर्दा शरीरमा कुनै समस्या नआओस्, जीवनमा आइपर्ने समस्या समाधान गरी सजिलै अघि बढ्ने सकियोस् भन्न् कामना पनि गरिन्छ ।

कसरी गरिन्छ पूजा

पूजा गर्ने ठाउँमा सुरुमा गोबरले लिपिन्छ र नयाँ कुचोले बढारिन्छ । त्यसपछि चामलको पिठोले दुईतिर मन्डला बनाइन्छ । मण्डलालाई ब्रह्माण्डको प्रतीक मानिन्छ । 

मण्डलाभित्र फलफूल, पञ्चरत्ने धागो, लावा, सयपत्री फूलको गुच्छा, कालो भटमास, मास, भोगटे, बिमिरो राखिन्छ । यी सामग्रीलाई पृथ्वीबाट प्राप्त प्रसादका रूपमा लिइन्छ । मण्डलाको बीचमा आँख्य (नयाँ धान हातले उधिनेर निकालेको सग्लो चामल) ले सजाइन्छ । मण्डलाको बीचमा तेल राखिन्छ । तेललाई दीर्घजीवनको प्रतीकका रूपमा लिइन्छ । म्हपूजा गर्दा बिमिरो नभइनहुने फलफूल हो ।  

मण्डलाअगाडि चामलको पिठोले बनाएको सानो मूर्ति र पानस राखिन्छ । मण्डला वरपर बत्तीको उज्यालोसँगै परिवारका सबै सदस्यहरू ठूलोदेखि सानोसम्म हार मिलाएर बस्छन् । यस्तो बसाइले पारिवारिक सम्बन्धलाई थप हार्दिकता बनाउन मद्दत गर्दछ । म्हपूजामा फलफूलमा भोगटे, केरा, हलुवाबेद, ओखर, कटुस उत्तम मानिन्छ । 

संस्कृतिविद् ग्वंगःका अनुसार म्ह पूजालाई आफ्नो अस्तित्व र आत्मसम्मानका रूपमा लिइन्छ । म्ह पूजाले व्यक्ति आफैंलाई जिम्मेवार बनाउँछ । उनी भन्छन्, ‘निर्जीवलाई पनि पञ्चतत्त्वले पूजा गरेपछि सजीवका रुपमा लिने नेवाः संस्कृतिअनुसार मण्डलामा पूजा गरिएको हो ।’ म्ह पूजा गरेपछि सगुनका रूपमा दही, माछा, रक्सी, बारा, मासु, अन्डा आदि ग्रहण गरिन्छ । संस्कृतिविद् ग्वंगःले यसलाई पञ्चतत्त्व भनेका छन् । उनका अनुसार दही शुभ साइतको प्रतीक हो । यस्तै मासु पृथ्वी, माछा जल, रक्सी तेज, बारा वायु र अण्डा आकाशको प्रतीक हो । 

पञ्चतत्त्वमध्ये एउटा तत्त्वमात्र कमजोर भयो भने पनि अस्वस्थ हुने जनविश्वास छ । पूजाका क्रममा पाथीमा चामल, अबिर, ओखर, फूल र योमरी टाउकोबाट शरीरमा खन्याइन्छ । यसलाई नेपाल भाषामा ‘फं लुइगु’ भनिन्छ । यस क्रममा तीन पटकसम्म पूजा गरिन्छ । तीनपटक पूजा गर्नुको अर्थ मानिसको शरीर, आत्मा र बुद्धिको उपासना हो । 

अहिले स्वदेशमा मात्र होइन विदेशमा पनि म्ह पूजा गर्ने संस्कृति फस्टाउन थालेको छ । नर्सिङ पढ्न अस्ट्रेलिया पुगेकी गंगा महर्जन भन्छिन्, ‘यहाँ पनि साथीहरूसँग मिलेर म्ह पूजा गर्न पाउँदा रमाइलो भएको छ ।’ स्वदेश र विदेश दुवैतिर म्ह पूजा गर्न पाएकोमा उनी खुसी छिन् । विदेशीहरू पनि म्ह पूजामा रमाउने गरेको जानकारी उनले दिइन् । 

मानिस आफूले आफैंलाई भगवान् मानेर पूजा गर्ने संस्कृति नेवार समुदायबाहेक अरू समुदायमा छैन । त्यसैले म्ह पूजा नेवार संस्कृति झल्काउने मौलिक पर्व र पहिचानका रूपमा रहँदै आएको छ । 
 



प्रतिक्रिया