तिहारको झिलिमिलीमा अर्बको व्यापार

/assets/plugins/bower_components/fileman/Uploads/post_images/November/jhilimili_batti_2_ns.jpg

काठमाडौं- तिहार सुरु भएसँगै झिलिमिली बत्तीले घर, बजार र समग्र मुलुक सिँगारिएको छ । तिहारमा झिलिमिली बत्ती बाल्नका लागि नेपालीले एक अर्ब रुपैयाँ खर्च गर्ने बिजुली सामानका व्यवसायी बताउँछन् ।

नेपाल विद्युतीय व्यवसायी महासंघका महासचिव रेशमप्रसाद देवकोटाले दुई वर्षयता तिहारका बेला विद्युतीय सामग्रीको माग ह्वात्तै बढेको बताए । तिहारमा अधिकांश उपभोक्ता झिलिमिली बत्ती बाल्न, पुराना बत्ती फेर्न र नयाँ बत्ती राख्न रुचाउँछन् । यस्ता सामग्रीका लागि अर्ब रुपैयाँ बराबर खर्च हुने उनको भनाइ छ । यस्तै उपभोक्ताले झिलिमिली बत्ती बाल्न करिब ७० करोड रुपैयाँको सामग्री उपभोग गर्छन् । 

तिहारको पाँच दिनमा दस मिटरका लिड बत्तीको बिक्री हिस्सा करिब ३० प्रतिशत रहेको उनको भनाइ छ । अहिले सहर बजारदेखि गाउँघरसम्म झिलिमिली वत्तीले घर सिँगार्ने चलन बढेको छ । त्यसैले पनि झिलिमिली बत्तीको खपत बढेको हो ।  

‘दुई वर्षअघिको तुलनामा अहिले झिलिमिली बत्तीको व्यापार दोब्बर बढेको छ,’ उनले भने, ‘त्यसबेला तिहारमा मुलुकभर करिब ४० करोड रुपैयाँ बराबरको मात्रै झिलिमिली बत्तीको व्यापार हुन्थ्यो ।’

महासंघका कार्यकारी सदस्य एवम् कञ्चनपुरका व्यवसायी  किशोर जोशीले कञ्चनपुरमा मात्रै करिब ८० लाख रुपैयाँ बराबरको झिलिमिली बत्ती बिक्री हुने बताए । उनका अनुसार गत वर्षको तुलनामा यो वर्ष ५/७ प्रतिशतले व्यापार बढेको छ । 

‘भारतसँगको नाका नजिकै रहेको कारणले ग्राहकले अनौपचारिक रुपमा भारी परिमाणमा झिलिमिली बत्ती आयाता भइरहेको छ,’ उनले भने ।

काठमाडौं विद्युतीय व्यवसायी संघका निवर्तमान अध्यक्ष शंकर देवकोटाले पनि विगतको तुलनामा पछिल्लो समय विद्युतीय सामग्रीको बिक्री बढेको बताए । ‘विगतमा सहरमा मात्रै सीमित विद्युतीय सामग्रीको व्यापार अहिले गाउँगाउँसम्म पुगेको छ,’ उनले भने, ‘पछिल्लो समयमा बढी टिक्ने एलइडीलगायतका झिलिमिली बत्ती उपलब्ध हुने गरेको छ ।’ 

झिलिमिली बत्तीको बजार विस्तार

महासचिव देवकोटाले पछिल्लो समय ठूला विद्युतीय आयोजना सञ्चालनमा आउनु, विद्युत् विस्तार हुनु लोड सेडिङ हट्नु, बजारमा नयाँ नयाँ ढाँचाका बत्ती भित्रिनुलगायतका कारणले विद्युतीय सामग्री बिक्री र बजार समेत विस्तार भएको बताए ।

काठमाडौंमा झिलिमिली बत्ती व्यापार गर्दै आएका राजु श्रेष्ठले यस्ता बत्तीको बजार विस्तार ह्वात्तै बढेको बताए । ‘बजार विस्तारका कारण कुनै एउटा पसललाई मात्रै लिने हो भने बिक्रीचाहिँ घटेको छ,’ उनले भने ‘अहिले गल्ली, फुटपाथसम्ममा विद्युतीय बत्तीको बिक्री भइरहेको पाइन्छ ।’

उनले आफ्नो पसलमा दुई सयदेखि चार हजार रुपैयाँसम्मका नेट लाइट, पाला फ्रेम, ट्री लाइटलगायतका झिलिमिली बत्ती बिक्री भइरहेको जानकारी दिए । कीर्तिपुरका व्यापारी हरि महर्जनले पनि सुरुमा आफूले झिलिमिली बत्ती बिक्री सुरु गर्दा ४/५ वटा पसल मात्रै रहेकोमा अहिले ४० नाघेको बताए । ‘त्यसबेला तिहारमा बढीमा दश हजारको बिक्री हुन्थ्यो भने अहिले २५/३० हजारभन्दा बढी हुन्छ,’ उनले भने, ‘अहिले बत्तीको भेराइटिजसँगै मूल्यसमेत बढेको छ । ४० रुपैयाँमा पाइने बत्ती सय रुपैयाँ पुगेको छ ।’

असनका एक इलेक्ट्रोनिक व्यापारीले प्रत्येक वर्ष नयाँ मोडलको झिलिमिली बत्ती भित्रिने गरेको बताए । ‘अहिले नयाँ मोडलको निओन बत्ती आएको छ,’ उनले भने ‘यसअघि एलइडी, सिएफएललगायत बत्तीले बजार लिएको थियो ।’ 

अहिलेसम्म तिहारमा कति रुपैयाँ बराबरको झिलिमिली बत्ती आयात हुन्छ भन्ने आधिकारिक तथ्यांक भने कुनै निकायसँग छैन । 




प्रतिक्रिया