कहिले बनिसक्ला पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल ?

/assets/plugins/bower_components/fileman/Uploads/post_images/November/pokhara_airport.jpg

पोखरा– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र रूपमा अघि बढेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यस विमानस्थलको निर्माण सुरु भएको करिब एक वर्षमा १७ प्रतिशत काम सम्पन्न भएको छ ।

टर्मिनल भवनको फाउन्डेसनको काम सकिएर जग उठाउने प्रक्रिया सुरु भएको छ । विमानस्थलका इन्जिनियर कृष्ण पौडेलका अनुसार विमानस्थल क्षेत्रमा यतिबेला पहिलो चरणअन्तर्गतको विमानस्थलले ओगट्ने भूभाग सम्याएर रनवे, ट्याक्सी वे, एप्रोनको आधार बनाउने (सव बेस) र नाला निर्माण धमाधम भइरहेको छ ।

विमानस्थल निर्माण कार्य चिनियाँ निर्माण कम्पनी सिएएमसीले गत साउन १८ देखि थालेको थियो  ।कम्पनीले निर्माण थालेको १५ महिना अवधिमा जमिन सम्याउने, प्राविधिक रूपमा पूर्वाधार बनाउन साढे ११ लाख क्युबिक मिटर माटो काट्ने काम सकेको छ । 

परियोजनाका लागि गिटी, ढुंगालगायत निर्माण सामग्रीका लागि प्लान्ट जडान कार्य भइसकेको छ ।

बहुप्रतिष्ठित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया चलिरहेका बेला बिहीबार प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समिति र पर्यटन तथा नागरिक उड्डयन अध्ययन अनुगमन उपसमितिका संयोजक पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको टोली विमानस्थल पुगेर निर्माण प्रक्रियाबारे जानकारी लिएको छ । 

विमानस्थल निर्माण सबैको चासोको विषय बनेको भन्दै पूर्वप्रधानमन्त्री नेपालले तोकिएको समयभित्र निर्माण कार्र्य सम्पन्न गर्न आयोजना प्रमुखलाई निर्देशन दिए । तोकिएकै समयमा विमानस्थल निर्माण सम्पन्न भए पर्यटनमार्फत यस क्षेत्रको आर्थिक समृद्धिमा टेवा पुग्ने नेपालले बताए । उनले चिनियाँ निर्माण कम्पनी सिएएमसीका प्रतिनिधिलाई गुणस्तरको कुरामा चुक्न नहुने सुझाव दिए । 
 
विमानस्थल क्षेत्रमा पहिलो चरणअन्तर्गतको विमानस्थलले ओगट्ने भूभाग सम्याएर रनवे, ट्याक्सी वे, एप्रोनको आधार बनाउने (सव बेस) र नाला निर्माण धमाधम भइरहेको छ ।

आयोजना प्रमुख विनेश मुनकर्मीले समग्र आयोजनाको काम १७ प्रतिशत सकिएको जानकारी दिए । संसदीय टोलीलाई आयोजनाको अवस्थाबारे जानकारी गराएका थिए। भन्सार, क्वारेन्टाइनजस्ता आवश्यक १५ वटा संरचनाको डिजाइन र निर्माण काम पनि अघि बढेको छ ।

डोजर, लोडर, टिपरलगायतका ८० उपकरणमार्फत साढे २ सय कामदारले दैनिक रूपमा काम गरिरहेको निर्माण कम्पनीका जनसम्पर्क अधिकृत कृष्ण चापागार्इंले जानकारी दिए । प्रमुख मुनकर्मीका अनुसार सन् २०१९ भित्र रनवे निर्माण सक्ने र टर्मिनल भवन २०२० को जुलाईसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

जमिन खन्ने क्रममा कडा चट्टान भेटिएको र विस्फोटक पदार्थ अभावले काममा केही ढिलाइ हुन पुगेको आयोजनाले जनाएको छ ।

सरकारले सन् २०१४ मे मा चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईलाई ठेक्का दिएको थियो । नेपाल सरकार र चिनियाँ कम्पनीबीच विमानस्थल निर्माण कार्य तोकिएको समयमा सम्पन्न नभए कम्पनीले क्षतिपूर्ति तिर्ने सहमति भएको छ । सम्झौताअनुसार कम्पनीले २०२१ को जुलाई १० मा विमानस्थल सम्पन्न गरी नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्नेछ ।

चिनियाँ एक्जिम बैंकको झन्डै २२ अर्ब रुपैयाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । अन्तर्राष्ट्रिय विमानस्थल झन्डै ३७ सय रोपनी क्षेत्रफलमा निर्माण भइरहेको छ । 

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) को मामदण्डअनुसार ४ ‘डी’ मोडलमा निर्माण हुने विमानस्थलमा बोइङ ७५७ र एयरबस ३२० का जहाज अवतरण हुनेछन् । विमानस्थलको धावनमार्ग २५ सय मिटर लम्बाइको हुनेछ ।
 




प्रतिक्रिया