फुट्नै आँटेको समृद्धिको बेलुन

/assets/plugins/bower_components/fileman/Uploads/post_images/November/new_dr_ramesh_pokheral_2_ns.jpg

अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट दीक्षित जापानका केन वातानावेले एउटा बहुचर्चित पुस्तक 'प्रब्लम सल्भिङ १०१' मा मानिसको उत्कृष्टतालाई पाँच अभिलक्षणमा वर्गीकृत गरेका छन् । प्रसिद्ध व्यवस्थापन कम्पनी 'म्याकिन्जे' मा ६ वर्षसम्म काम गरेपछि लेखेको उक्त पुस्तकमा वातानावेले उल्लेख गरेका मानिसका अभिलक्षण यस प्रकार छन् - 

एक, केही मानिस समस्यादेखि पर–पर भाग्छन् । उनीहरू ठान्छन्, यस्तो काम पूरा गर्न मैले सक्दिनँ वा यस्तो काम गर्न मबाट कुनै हालतमा सम्भव छैन । कहिलेकाहीँ उक्त काम गर्न सक्ने कुनै नयाँ उपाय वा विचार आइहाल्यो भने पनि सम्भावित खतराबारे सोचेर उनीहरू कार्यान्वयनमा जाँदैनन् । र, अन्त्यमा आफूलाई अरूले काम गर्न दिएनन् भन्दै आफ्नो कमजोरी छोप्ने कोसिस गर्छन् । 

दुई, यस किसिमका मानिस जहिले पनि अरूको आलोचना मात्र गर्छन् । यिनीहरू बोल्न र लेख्न निडर हुन्छन् । उनीहरू अर्काको नवीन योजना वा विचार कसरी बेठीक हो भन्दै तर्क गरिरहन्छन् । कारणबस, कसैले प्रयास गरेर पनि असफल भयो भने 'देख्यौ, मैले त भनेकै थिएँ नि' भन्ने उनीहरूको प्रवृत्ति हुन्छ । यस्ता मानिस अरूका गल्ती मात्र खोजिरहन्छन् । अरूलाई गलत र खराब प्रमाणित गर्न समय खर्चिन्छन् । तर यस्ता सर्वज्ञानी जस्ता लाग्ने मानिस समस्या समाधान गर्न भने सक्तैनन् । किनकि उनीहरूसँग नयाँ कुरा हुँदैन र नयाँ ज्ञान प्राप्तिका लागि प्रयास नै गर्दैनन् । 

तीन, यस किसिमका मानिस सपना मात्र देख्छन् । यस्ता मानिसले यो वा त्यो गर्ने भनेर सपना देखाउँछन् । तर त्यस्ता सपना पूरा गर्न के गर्नुपर्छ भन्नेबारे उनीलाई केही थाहा हुँदैन । उनीहरू भविष्यको मार्गचित्रबारे पनि अनभिज्ञ हुन्छन् । यस्ता मानिस सपनामा सुत्छन्, सपनामा जिउँछन् र सपना देख्दै मर्छन् ।  

चार, 'परिणाम ल्याउने मेहनतले हो' भन्ठान्ने मानिस यस कोटीमा पर्छन् । झट्ट हेर्दा यिनीहरू सकारात्मक सोच भएका जस्ता लाग्छन् । यिनीहरू परिणाम नआएको 'काम वा मेहनत नगरेर मात्र हो' भन्ने धारणा राख्छन् । 'विगतलाई परिवर्तन गर्न नसके पनि वर्तमानमा केही गर्न सकिन्छ' भन्ने सोचाइ उनीहरूको हुन्छ । कल्पना गरेर समय खेर फाल्नुभन्दा काम गरेपछि परिणाम स्वतः आइहाल्छ भन्ने मान्यता यस्ता प्रवृत्तिका मानिसको हुन्छ । उनीहरूका अनुसार समस्या कहाँ छ, समाधानका उपाय के के हुन् र उत्तम विकल्प के हो भन्नबारे दिमाग खियाउनु समयको बरबादी मात्र हो । 

पाँच, यस किसिमका मानिस समयको एउटा निश्चित लक्ष्य निर्धारण गर्छन् । अनुसन्धान गर्छन् र समस्याको जरासम्म पुगेर कारण पत्ता लगाउँछन् । विज्ञहरूको सहयोग लिन्छन् । समस्या समाधानको स्पष्ट मार्गचित्र बनाउँछन्, परिणाम निकाल्न सक्ने व्यक्तिको पहिचान गर्छन् र निरन्तर अनुसन्धान एवम् अनुगमन गरिरहन्छन् । गतिशील स्वभावका यस्ता मानिसहरू परिणाम मात्र ध्यान दिन्छन् ।   
 

पहिलेदेखिनै प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीलाई निर्देशन दिन्थे । मन्त्रीले सचिवलाई, सचिवले महानिर्देशकलाई र महानिर्देशकले 'साइट–इन्जिनियर',आज पनि कार्यशैली उही छ । जबसम्म राजनीतिक तहले प्रश्नहरूको उत्तर दिँदैन तबसम्म  जतिसुकै निर्देशन दिए पनि काम हुनै सक्दैन । 


यी पाँच अभिलक्षणको उल्लेख अकारण गरिएको होइन । नेपालको आर्थिक समृद्धिका लागि दशकौंदेखि प्रतीक्षा गरिएको बहुमतसहितको स्थायी सरकार र त्यसले दिने परिणामका सन्दर्भमा उल्लेख गरिएको हो । दुई तिहाई बहुमतको सरकार हुँदासमेत किन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले औसत परिणाम निकाल्न सकेन ? भन्ने जिज्ञासाको उत्तर खोज्न पनि यी प्रसंग अगाडि सारिएका हुन् । 

के प्रधानमन्त्री ओली र उनका सहयोगीहरू उल्लिखित एकदेखि चारसम्मका मात्र गुण बोकेका मानिस हुन् ? अन्यथा किन परिणाम शून्य छ ? त्यसो हो भने अब प्रधानमन्त्री ओलीलाई माथिको पाँचौँ नम्बरले सम्बोधन गर्ने खालका मानिस चाहियो ।  

सरकारलाई पाँच नम्बरखाले मान्छे किन चाहियो त भन्ने कुराको पनि कारण छ । हालै प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकारसँग पंक्तिकारको भेट हुने संयोग जुर्‍यो । सरकारको उपलब्धिका विषयमा जिज्ञासा राखेपछि उनले उत्साहित हुँदै भने, 'पञ्चेश्वरको विषय र तराई डुबानको समस्यामा प्रधानमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नाजबाफ हुने गरी कुरा गर्नुभएको छ । र, सीधा–सीधा कुरा गरेपछि मोदीजी पनि सहमत हुनुभएको छ । तर देशभित्र भने सरकारलाई घेराबन्दी भइरहेको छ ।' 

ओलीका राजनीतिक सल्लाहकारको कुरा आंशिक रुपमा सही नै होला । तर मुलुकलाई चाहिएको परिणाम परराष्ट्र मामिलाका अमूर्त कुरा होइनन् । मैले थपें, 'परराष्ट्र मामिलामा केपी ओलीले राम्रो नम्बर ल्याए पनि देशभित्रका समस्या समाधान र परिणाम ल्याउने कुरामा तपाईंहरू गलत बाटो हिँड्दै हुनुहुन्छ ।' एकातिर विपक्षी कांग्रेस एजेन्डाविहीन छ भने अर्कातिर नेकपासँग दुई तिहाइ बहुमतको सरकार छ । सरकारले चाहने हो भने जस्तोसुकै नयाँ कानुन र भएका कानुनमा आवश्यक सुधार गर्न सक्छ । तर चुकिरहेको कहाँ हो त ?

'मुलुकको विकास निर्माणका लागि कानुनमा आवश्यक सुधार वा नयाँ कानुन बनाउने दिशामा खोइ त सरकारको शीघ्र सम्बोधन ?' भन्ने मेरो प्रश्नमा उनको जबाफ थियो, 'सरकारले पनि कुनै शून्यमा काम गरिरहेको छैन । एक छिनअघि मुख्य–सचिवसँग नयाँ कानुन निर्माण तथा पुराना कानुनमा संशोधनका विषयमा छलफल गर्दै थिएँ, तुरुन्तै सम्बन्धित सचिवहरूसँग बस्दैछु । सरकार एकदम 'राइट ट्र्याकमा छ ।'  उनको उत्तरले मलाई आश्चर्यचकित बनायो । राजनीतिक सल्लाहकार हुनेबित्तिकै सबै समस्याको समाधान सल्लाहकारको 'प्रेस्कृप्सन' ले दिइहाल्छ भन्ने भ्रम उनमा रहेछ । तर यसरी परिणाममा पुग्न सकिँदैन ।

केही समयअघिको एउटा घटना यहाँ उल्लेख गर्न प्रासंगिक छ । डा. गोविन्द केसीको स्वास्थ्य एजेन्डा र अनशनबारे सरकारले पहिले तीव्र विरोध गर्‍यो । आन्दोलन चर्किंदै गएर जनमत उनको पक्षमा उर्लिएपछि सरकारले केसीको मागमा सहमति जनायो र सम्झौता पनि गर्‍यो । एउटा कम्युनिस्ट र समाजवाद उन्मुख सरकारले गोविन्द केसीका मागभन्दा माथि उठेर समग्र स्वास्थ्य क्षेत्रको कायापलट गर्ने ढंगको क्रान्तिकारी फड्को मार्न सक्थ्यो । तर पहिले कडा विरोध गरेको सरकारले अकस्मात् उनीसमक्ष आत्मसमर्पण गर्न पुग्यो । डा. केसीसँग सम्झौता नै गर्नु थियो थियो भने यति ठूलो राजनीतिक क्षयीकरण किन गरियो ? 



परम्पराको पुनरावृत्ति

प्रधानमन्त्रीमा नियुक्त भएको केही समयपछि ओलीले राजधानीका सडकका खाल्टाखुल्टी तत्काल पुर्न निर्देशन दिएका थिए। ओलीको निर्देशनपछि भौतिक पूर्वाधार मन्त्रीले पचास दिनभित्रै खाल्टाखुल्टी पुरिसकिने प्रतिबद्धता व्यक्त गरे। तर निर्धारित समयमा खाल्टाखुल्टी पुर्न नसकेपछि गत बिमस्टेक सम्मेलनका पाहुनालाई गोकर्ण रिसोर्टमा दिइने भनिएको रिटिट्र कार्यक्रम सोल्टी होटेलको स्विमिङपुल छेउमा आयोजना गरियो । 

पहिले पनि प्रवृत्ति यस्तै थियो । प्रधानमन्त्रीले सम्बन्धित मन्त्रीलाई निर्देशन दिन्थे । मन्त्रीले सचिवलाई, सचिवले महानिर्देशकलाई र महानिर्देशकले 'साइट–इन्जिनियर' लाई निर्देशन दिएपछि काम हुन्छ भन्ने भ्रम थियो । आज पनि कार्यशैली उही छ । जबसम्म राजनीतिक तहले प्रश्नहरूको उत्तर दिँदैन तबसम्म 'साइट–इन्जिनियर' लाई जतिसुकै निर्देशन दिए पनि काम हुन सक्दैन । 

पानी आउँदा हिलाम्मे र घाम लाग्दा धूलाम्मे हुने राजधानीका सडकका कारणले राजधानीका बासिन्दा वर्षाैदेखि आजित छन् । तर यति सानो काम पनि सरकारले गर्न सकिरहेको छैन । जब यस्ता कुरामा जनताले सरकारलाई प्रश्न गर्छन्, प्रधानमन्त्रीचाहिँ 'खाल्टाखुल्टी यो सरकारले बनाएको होइन' भन्ने जबाफ दिन्छन् । यसले सरकारमा बस्नेहरूमा काम गर्ने इच्छाशक्ति नभएको देखाउँछ ।

खाल्टाखुल्टी र धुलोधुवाँको समस्या समाधानामा किन सरकारका विभिन्न निकायबीच समन्वय भइरहेको छैन ? ठेक्का प्रक्रियामा किन ब्रगेल्ती समस्या छन् ? विकास निर्माणका काम निक ज्यादै ढिलो सम्पन्न हुन्छन् ? कुनकुन कानुन, नीति र नियमावली सुधार गर्न वा नयाँ बनाउन आवश्यक छ जसले गर्दा मातहतका निकायले समन्वय गरेर काम गर्न सक्छन ? यस्ता प्रश्नहरूको उत्तर प्रधानमन्त्रीका आफन्त र कार्यकर्ता सल्लाहकारले दिन सक्तैनन् । यसको उत्तर खोज्न तथ्य र तथ्यांकको विश्लेषण गरेर निष्कर्षमा पुग्न सक्ने विज्ञहरू चाहिन्छन् । 

अब प्रश्न उठ्छ, इतिहासमा विरलै प्राप्त हुने अवसरलाई ओलीले कसरी उपयोग गर्लान् ? अर्थशास्त्री स्वर्णीम वाग्लेले भनेजस्तै प्रधानमन्त्री ओलीले 'जुद्धशमशेरपछिको उपयुक्त अवसर' को सदुपयोग गर्न सक्लान् ? ओलीको अहिलेसम्मको लक्षणले त्यस्तो देखाउँदैन, उनको समय र सीमाबद्ध लक्ष्य छैन । काममा परम्परागत भद्दा प्रवृत्ति मात्र छ । यी कारणहरूले उनको समृद्धिको बेलुन फुट्नै आँटेको देखिन्छ ।
 
ली क्वान यु सिंगापुरको राजनीतिक नेतृत्वमा नपुगेका भए आजको विकसित सिंगापुर नहुन सक्थ्यो । देङ स्याओ पिङ चीनको राजनीतिक नेतृत्वमा नउदाएको भए विश्वमा अहिले रहेको चीनको उपस्थितिको अवस्था फरक हुन सक्थ्यो । लामो समय लोडसेडिङको मार खेपेका हामी नेपालीले कुलमान घिसिङजस्ता कुशल व्यवस्थापक नपाएको भए आजसम्म पनि सोही समस्या भोगिरहनुपथ्र्यो। त्यसकारण कुनै खास मान्छे खास कामका लागि निर्णायक बनेको हुन्छ ।

कसरी आउँछ परिणाम ?

केही वर्षअगाडि एउटा राष्ट्रिय दैनिकमा पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य र यो पंक्तिकारले संयुक्त रूपमा 'यसरी बन्न सक्छ– नेपाल' भन्ने लेख प्रकाशित गरेका थियौं । विकासमा नेपाल पछाडि पर्नुका धेरै कारण रहेका भए तापनि दुई मूलभूत कारणले गर्दा नेपाल पछाडि परेको हो भन्ने हाम्रो निष्कर्ष थियो । 

पहिलो, राजनीतिक नेतृत्वमा राज्य सञ्चालनका लागि चाहिने आधारभूत सीपको अभाव । दोस्रो, दक्ष 'टेक्नोक्य्राट' को उत्पादन र सही परिचालनको अभाव । अर्थात् नेताले सही कार्यको पहिचानसहित लक्ष्य निर्धारण गर्ने र दक्ष 'टेक्नोक्य्राट' ले उक्त कार्यलाई परिणाममा पुर्‍याउने । 

राज्य सञ्चालनमा धेरै संस्था तथा अवयवको भूमिका हुन्छ । तर राजनीति र व्यवस्थापनमा अन्ततः केवल एक व्यक्तिको भूमिका निर्णायक हुन्छ । उक्त खास व्यक्तिको कारणले देशको भविष्य उज्यालो वा अँध्यारो हुने निर्धारण गर्दो रहेछ । त्यसैले राज्य सञ्चालनमा सही व्यक्ति सही ठाउँमा हुनुको निर्णायक महत्त्व हुन्छ । 

ली क्वान यु सिंगापुरको राजनीतिक नेतृत्वमा नपुगेका भए आजको विकसित सिंगापुर नहुन सक्थ्यो । देङ स्याओ पिङ चीनको राजनीतिक नेतृत्वमा नउदाएको भए विश्वमा अहिले रहेको चीनको उपस्थितिको अवस्था फरक हुन सक्थ्यो । लामो समय लोडसेडिङको मार खेपेका हामी नेपालीले कुलमान घिसिङजस्ता कुशल व्यवस्थापक नपाएको भए आजसम्म पनि सोही समस्या भोगिरहनुपथ्र्यो। त्यसकारण कुनै खास मान्छे खास कामका लागि निर्णायक बनेको हुन्छ । 

विश्वमा दुरदृष्टि र कुशल रणनीति भएको मानिने चर्चित नेताहरू ली क्वान यु, देङ स्याओ पिङ, महाथिर मुहम्मद, सैनिक शासक भए पनि दक्षिण कोरियाका पार्क चुङ ही, चिलीका पिनोसे आदि सबैले सही र सक्षम 'टेक्नोक्य्राट' को छनोट गरेकै कारणले आआफ्नो मुलुकलाई विकसित गर्न सकेका हुन् । त्यहाँ भएको राजनीतिक व्यवस्थाको कारणले होइन । ती देशहरूले कुनै लोकतान्त्रिक वा निरंकुश राजनीतिक व्यवस्थाको कारणले समृद्धि हासिल गरेका होइनन् ।   

शासनको केही वर्ष पार्क चुङ हीले व्यक्तिगत रूपमा सक्षम 'टेक्नोक्य्राट' छनोट गरेका थिए । त्यसको सहयोगमा उनले सन् १९७१ मा 'कोरिया डेभलपमेन्ट इस्टिच्युट' नामक 'थिंक ट्यांक' स्थापना गरेका थिए। 'कोरिया डेभलपमेन्ट इस्टिच्युट' ले नै कोरियाली आर्थिक समृद्धिको दिशानिर्देश गरेको थियो । यसले सरकारका आर्थिक योजना तय गथ्र्यो । योजना कार्यान्वयनका क्रममा नीतिगत र कानुनी सुधारका लागि आवश्यक अनुसन्धान गरेर सरकारलाई सुझाव दिन्थ्यो ।  कोरियामा हाल सरकारी तथा विश्वविद्यालय स्तरमा सयौं अनुुसन्धान केन्द्रहरूले सरकारलाई सघाइरहेका छन् ।  

मुलुकलाई सही दिशा दिन सक्षम 'टेक्नोक्य्राट' को व्यवस्थापनको उदाहरणका रूपमा चिलीका सैनिक शासक पिनोसेलाई पनि लिन सकिन्छ । सन् १९७३ मा पिनोसेले अर्थशास्त्रका नोबेल पुरस्कार विजेता तथा सिकागो विश्वविद्यालयका प्राध्यापकसँग गुहार मागे ।  चिलीका सय भन्दा बढी युवालाई सिकागोमा पढ्न पठाए । त्यसरी पढेर फर्किएका पहिलो विद्यार्थीलाई अर्थ मन्त्रालयको जिम्मेवारी सुम्पिए । अन्य विद्यार्थीलाई पनि उद्योग, श्रम, योजनामन्त्रीदेखि केन्द्रीय बैंकको गभर्नरसमेत बनाए । पिनोसेले बनाएको आर्थिक जगमा चिली आज विकसित देशहरूको संगठन 'ओइसिडी' मा प्रतिनिधित्व गर्ने एक मात्र ल्याटिन अमेरिकी देश बन्न सफल भएको छ । त्यहाँको प्रतिव्यक्ति जिडिपी २५ हजार डलरभन्दा बढी छ । चिलीको यस्तो विकास मोडेल 'सिकागो ब्वायज मोडेल' भनेर प्रसिद्ध छ । 

छिमेकी भारतमा तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहको पालामा डलरको तुलनामा रुपैयाँको अवमूल्यन हुन थालेपछि उनले रघुराम राजनलाई केन्द्रीय बैंकको गभर्नर बनाए । रघुराम राजन अन्तर्राष्ट्रिय मुद्राकोषमा काम गरिसकेका र प्रख्यात एमआइटीमा दीक्षित भएका अर्थशास्त्री थिए । उनलाई गभर्नर बनाएपछि मात्र भारतीय अर्थतन्त्रले सही दिशा समातेको थियो । त्यस्तै नोबेल पुरस्कारका दाबेदारसमेत मानिने वरिष्ठ अर्थशास्त्री कौशिक बसुलाई प्रधानमन्त्रीका आर्थिक सल्लाहकार बनाएका थिए । परिणाम ल्याउने काम यसरी गरिन्छ ।

हाम्रो मुलुकमा भने आजजस्तो अवस्था पञ्चायतकालमा समेत थिएन । राजनीतिक भागबन्डाको सिकार बनाएपछि कुनै बेला दक्षिण एसियामै नाम कमाएको त्रिभुवन विश्वविद्यालयको 'सेडा' जस्तो अनुसन्धानमूलक संस्था निकम्मा भइसकेको छ । अनुसन्धान गरेर दक्ष जनशक्ति उत्पादन गर्ने संस्थाका रुपमा होइन, विश्वविद्यालय प्रमाणपत्र बाँड्ने संस्थामा रूपान्तरण भइसकेको छ । त्यसलाई सुधार्ने कुनै योजना छैन । 'अनुसन्धान के हो र किन आवश्यक हुन्छ' भन्ने बुझेको मान्छेको नै अभाव भइसकेको छ ।

प्रजातन्त्रको पक्षलाई एकातिर राखेर हेर्ने हो भने तत्कालीन राजा महेन्द्रले गरेको कार्यबाट पर्याप्त सिक्न सकिन्छ । उनले यदुनाथ खनाल, डा. भेषबहादुर थापा, हर्क गुरुङ जस्ता सक्षम व्यक्तिलाई राज्यका महत्त्वपूर्ण निकायको जिम्मा दिएका थिए । राजा महेन्द्रले अमेरिका भ्रमणका क्रममा त्यहाँ अब्बल विद्यार्थीका रूपमा भेटेपछि भेषबहादुर थापालाई पढाइ सकिनेबित्तिकै टिकट दिएर नेपाल बोलाएका थिए । प्रतिकूल आर्थिक र मानवीय स्रोत भए पनि राजा महेन्द्रले पूर्व–पश्चिम राजमार्ग, पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्गलगायत कैयन् भौतिक पूर्वाधारका आयोजनाहरू समयमै सफलतापूर्वक सम्पन्न भएका थिए । 

त्यसैले परिणाम ल्याउने उद्देश्यसाथ काम गर्ने हो भने ओली सरकारले कामको तौरतरिका र ढाँचा फरक बनाउन आवश्यक छ । सपना देख्नु र भिजन बनाउनु एउटा कुरा हो भने भिजनलाई परिणाममा ढाल्नु नितान्त फरक कुरा हुन् । भिजन बनाउन वा जनतालाई सपना देखाउन केपी ओली समकक्षी अन्य नेताभन्दा अब्बल देखिन्छन् । तर भिजनलाई यथार्थमा बदल्ने कर्ममा भने उनको क्षमता कतै देखिँदैन । बरु उनको समृद्धि नामक बेलुनको हावा फुस्किँदै गएको देखिन्छ ।




प्रतिक्रिया