कर्णालीले सुरु गर्‍यो प्रदेश अस्पताल: जीर्ण भौतिक संरचना, डाक्टर अभाव

/assets/plugins/bower_components/fileman/Uploads/post_images/October/Province_Hospital_karnalli_2.jpg

सुर्खेत- कर्णाली प्रदेश सरकारले मंगलबारदेखि आफ्नै अस्पताल सञ्‍चालनमा ल्याएको छ। सरकारले नयाँ अस्पताल नभई तत्कालिन मध्यपश्‍चिमाञ्‍चाल क्षेत्रिय अस्पताललाई प्रदेश अस्पतालका रुपमा सञ्चालनमा ल्याएको हो।

संघीय सरकारको मातहतमा रहेको उक्त अस्पताललाई प्रदेश सरकारले आजदेखि नै औपचारिक रुपमा प्रदेशको मातहतमा ल्याएको हो। प्रदेश सरकारको मातहतमा आएपछि क्षेत्रिय अस्पतालको नामपनि ‘प्रदेश अस्पताल’ कायम गरिएको छ।

कर्णाली प्रदेशले आज नै प्रदेश अस्पतालको औपचारिक उद्घाटन समेत गरेको छ। प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादु शाहीले अस्पतालको उद्घाटन गरेका हुन्। उद्घाटन सत्रमा बोल्दै शाहीले अबदेखि अस्पतालले भौतिक र जनशक्तिको अभाव झेल्नु नपर्ने बताएका छन्। 

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले अस्पताललाई आर्थिक अभाव हुन नदिने बताए । त्यस्तै सामाजिक विकास मन्त्री दल रावलले प्रदेश अस्पताललाई छिट्टै शिक्षण अस्पतालका रुपमा विकास गरिने बताए।

५० शैया स्विकृति १ सय २० शैया सञ्‍चालनमा

आजदेखि कर्णाली प्रदेश सरकारको मातहतमा आएको प्रदेश अस्पतालले ५० शैयाको मात्रै सञ्चालनको अनुमति पाएको छ। तर अस्पतालले १ सय १५ शैंयाको सेवा सुविधा प्रदान गर्दै आएको छ। मंगलबारदेखि प्रदेश मातहतमा आएको अस्पतालले अस्पताल विकास समितिको सक्रियतामा १ सय १५ शैया सञ्‍चालन गर्न सफल भएको हो।

पचास शैयाको स्वीकृति लिएर संचालन भएको एक दशक भन्दा बढी हुँदा पनि स्तर उन्नतीतिर सरकारले चासो दिएको छैन। भौतिक पूर्वाधार र सेवा सुविधाले क्षेत्रिय अस्पतालमा सात सय शैया सञ्‍चालन गर्न सक्ने क्षमता बनिसकेको अस्पतालका सुपरिटेन्डेन्ट डा डम्मर खड्का बताउँछन्।

२०२८ सालमा पचास शैयाको स्विकृति लिएर जिल्ला अस्पतालका रुपमा संचालन गरिएको अस्पताललाई २०६२ फागुन ७ गते क्षेत्रिय अस्पतालका रुपमा विस्तार गरिएको थियो। जिल्ला अस्पालकै रुपमा ५० शैया सञ्‍चालन गर्ने अनुमति पाएको अस्पालले हाल एक सय १५ शैंयाको सुविधा दिइरहेको छ।  थप शैया स्वीकृतिका लागि पटक-पटक मन्त्रालयमा ताकेता गर्दा समेत कसैले चासो नदिएको अस्पतालले जनाएको छ। एनआइसीयू, आइसीयू तथा अक्सीजन प्लान्टलगायतका सेवा सुविधा समेत संचालनमा रहेको यस अस्पतालमा विरामीको चाप पनि त्यतिकै छ।

अस्पतालका मेडिकल सुपिरिटेण्डेन्ट खड्काले जिल्ला अस्पताललाई दिइनु पर्ने जनशक्ति समेत राज्यले दिन नसकेको बताउँछन्। १ सय १५ शैया संचालनको स्वीकृतिका लागि विभागमा पठाएको लामो समय हुँदासमेत कसैले चासो नदिएको उनको भनाई छ।

सरकार र अन्य सरोकारवाला निकायले शैया थपका लागि पहल गर्न नसक्दा १३ वर्षसम्म पनि शैया थप गर्ने अनुमति पाउन सकेको छैन। कतिसम्म भने क्षेत्रिय अस्पालको रुपमा सञ्चालन भएको १३ वर्ष वितिसक्दा पनि ओएनएम सर्वेसमेत हुन सकेको छैन। जसले गर्दा वर्षैदेखि अस्पतालले जनशक्तिको अभाव झेल्दै आएको छ।

डाक्टरको अभाव उस्तै

क्षेत्रिय अस्पताल प्रदेश सरकारको मातहतमा आएपनि जनशक्तिको अभाव भने उस्तै छ। अस्पतालले सूचना अधिकारी विनोद बस्नेतले दिएको जानकारी अनुसार ३० भन्दा बढी डाक्टरहरु आउन सकेको छैनन्। दरबन्दी हुँदा पनि विशेषज्ञ डाक्टरहरुको पद पूर्ति हुन नसकेको उनको भनाई छ। सूचना अधिकारी बस्नेतका अनुसार अस्पतालमा ११ तहका ४ दरबन्दी मध्ये ३ जनाको दरबन्दी रिक्त रहेको छ । त्यस्तै ९ र १० तहका १९ दरबन्दी मध्ये १७ जनाको दरबन्दी रिक्त रहेको छ। 


मेडिकल अधिकृति ५ जना मध्ये १ जनाको दरबन्दी रिक्त रहेको छ। ९ देखि ११ तहसम्मका विशेषज्ञ डाक्टहरुको दरबन्दी हो। जुन जनशक्ति अस्पताको प्रभावकारी सञ्चालनका लागि अति आवश्यक मानिन्छ । त्यही जनशक्तिको पदपूर्ति हुन नसक्दा पटक-पटक विरामीले डाक्टरको अभाव झेल्दै आएका छन् । वार्षिक ६० हजार बढी विरामीको आउने अस्पतालमा हाल सम्पूर्ण कर्मचारी गरी ८८ जनाको दरबन्दी छ तर अझै पनि विभिन्न पदका ३० भन्दा बढी दरबन्दी पदपूर्ति हुन सकेको छैन।



प्रतिक्रिया