ओलीको स्वास्थ्य जाँच अपडेट : दसैंको टिकासँगै रुघाखोकी सर्‍यो

/assets/plugins/bower_components/fileman/Uploads/post_images/October/Oli_Press_meet_Teaching.jpg

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। छातीमा संक्रमण र शरीरमा ग्लुकोजको मात्रा कम भएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा सोमबार बिहान ४ बजे भर्ना गरिएको थियो। 

प्रधानमन्त्री ओलीको उपचारमा पाँच जना चिकित्सकको टोली संलग्न छ। अमेरिकाबाट भ्रमणमा रहेकी प्रधामन्त्रीकी निजी चिकित्सक दिब्यासिंह पनि सोमबार नै नेपाल आइपुगेकी छिन्।

चिकित्सक दिब्या सिंह शाहका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा अहिले ६० प्रतिशत सुधार आएको छ। ‘उहाँको स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गइरहेको छ,’ उनले भनिन्, ‘औषधि र आवश्यक उपचारका कारण अहिले उहाँको समस्यामा ६० प्रतिशतभन्दा बढी सुधार भइसकेको छ। ज्वरो पनि घटेको छ।’

डा शाहका अनुसार प्रधानमन्त्री ओलीलाई कम्तीमा तीन दिन अस्पतालमै राख्नुपर्ने हुन्छ। ‘त्यसपछि आराम गर्दा हुने अवस्था देखिएको छ,’ उनले भनिन्। प्रधानमन्त्री ओलीको छातीमा निमोनिया भएर पानी जमेको अवस्था भने नरहेको उनले जानकारी दिइन्। 

ओलीको स्वास्थ्य जाँचको रिपोर्ट अनुसार दसैंमा टीका लगाउने क्रममा धेरै जनासँग सम्पर्कमा आएका कारण प्रधानमन्त्री ओलीलाई रुघाखोकी सरेको हो। मिर्गौला प्रत्यारोपण गरेको व्यक्तिमा रोग प्रतिरोधात्मक क्षमता कम हुने गर्छ। यस्तो अवस्थामा रुघाखोकीले सतायो भने संक्रमण चाँडै बढ्ने खतरा रहन्छ। 

प्रधानमन्त्रीको मृगौलाको ट्रान्सप्लान्ट गरिएको कारण संक्रमण नहोस् भनेर सिसियुभित्र आइसोलोडेड कोठामा राखेर उपचार भइरहेको छ। उनको ११ वर्ष अघि मृगौला प्रत्यारोपण गरिएको थियो। मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओली बीचबीचमा ‘फलोअप’ का लागि थाइल्याण्डको जाने गरेका थिए।  

यसैबीच, प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बिग्रिएर अस्पताल भर्ना भएपछि उनलाई भेट्न प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, गृहमन्त्री रामबहादुर थापा बादल, नेता भिम रावल, प्रदेश ५ का मुख्यमन्त्री शंखर पोखरेललगायतका नेताहरु अस्पताल पुगेका थिए। ओलीको स्वास्थ्य बुझ्न गएका नेताकार्यकर्ता तथा शुभचिन्तहरुको अस्पतालमा दिनभर भिड लागेको थियो। 

दशैँमा गृहजिल्ला झापा पुगेका प्रधानमन्त्री दैनिक टिका लगाइदिएका थिए। दसैंको व्यस्त तालिका र धपेडीले पनि उनको स्वास्थ्यमा असर परेको चिकित्‍सकले बताएका छन्। त्यहीबीचमा नेकपा सचिवालयको बैठकमा उनी सहभागी भएका थिए। अस्वस्थताका कारण प्रधानमन्त्री ओली नेकपाले कात्तिक १० गतेको चियापान कार्यक्रममा उपस्थित हुन सकेनन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीको सोमबारदेखि हुने मित्रराष्ट्र कतारको औपचारिक भ्रमण स्वीकृत गर्नेलगायत कार्यसूचीका लागि आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठकसमेत बसेको थियो। 



प्रतिक्रिया