अमेरिकाको निर्वाचनमा तीन नेपाली उम्मेदवार

/assets/plugins/bower_components/fileman/Uploads/post_images/October/Three_Nepali_in_America-copy_1.jpg

वासिङ्टन डिसी- अमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा तीन नेपाली मूलका अमेरिकीले उम्मेदवारी दिएका छन् । 

उम्मेदवार दिनेमा मेरिल्याण्डका ह्‍यारी भण्डारी, न्यू ह्याम्पसायरबाट मदलसा गुरुङ र भर्जिनियाबाट प्रदीप ढकाल हुन्। अमेरिकामा ३३ सिनेटको पद, ४३५ कंग्रेस, ३६ गभर्नर, स्टेट सिनेट तथा स्टेट डेलिगेटस र विभिन्न तहका न्यायाधीशसमेतको निर्वाचन हुँदैछ। यस निर्वाचनले सिनेट र कंग्रेसमा कुन पार्टीको वर्चस्व रहन्छ भन्ने कुराको निक्र्यौल गर्नेछ। 

सोही निर्वाचनमा मेरिल्याण्डको डिस्ट्रिक ८ बाट नेपाली मूलका भण्डारीले हाउस अफ डेलिगेट्समा डेमोक्र्याट पार्टीका तर्फबाट उम्मेदवारी दिएका छन्। भण्डारी गत जुनमा सम्पन्न भएको आन्तरिक पार्टी निर्वाचनमा पाँच हजार ९ सय ४१ मत ल्याएर प्राइमेरीमा विजयी भएका थिए। यसरी प्राइमेरी निर्वाचनमा विजयी भएर एक तहको निर्वाचन पार गर्ने भण्डारी पहिलो नेपाली हुन्। 

सो डिस्ट्रिकबाट तीन जना उम्मेदवार हाउस अफ डेलिगेट्समा निर्वाचित हुन्छन्। डेमोक्र्याट पार्टीको राम्रो पकड भएको उक्त स्थानमा मतदाता निकै जागरुक भएकाले यसलाई स्विङ डिष्ट्रिक अर्थात् जुन कुनैमा पनि मत जान सक्ने डिष्ट्रिकका रुपमा लिइन्छ। 

आइतबार ‘अर्लि भोटिङ’ को मतदानस्थलमा दिनभरि मतदातासँग मत माग्न व्यस्त रहनुभएका भण्डारीले भने, “हामीहरुको अवस्था राम्रै छ, मतदाताले कसरी हाम्रो उपस्थितिलाई स्वीकार गर्छन् भन्ने नोभेम्बर ६ तारिखपछि भन्न सकिन्छ।” प्रचारप्रसारका विषयमा उनले भने, “हाम्रो डिस्ट्रिकमा ८० हजार मतदाता छन्, सबैखाले प्रचारप्रसारमा पनि राम्रै गरेका छौँ ।” 

न्यू हयाम्प्सायरबाट डेमोक्र्याटीक पार्टीका तर्फबाट स्टेट रिप्रेजेन्टेटिभमा उम्मेदवारी दिएकी गुरुङको क्षेत्रमा डेमोक्र्याटको झिनो उपस्थिति रहेको मानिन्छ। उता ढकालको उम्मेदवारी कुनै दलगत नभई केवल स्थानीयस्तरको एकाइको पद हो। उनले उम्मेदवारी दिएको पद ६ का लागि १० जनाको उम्मेदवारी परेको छ भने पाँच जना यस अघि निर्वाचित भइसकेका काउन्सिल सदस्य हुन्। यसरी हेर्दा आगामी नोभेम्बर ६ मा खास प्रतिस्पर्धामा भण्डारी मात्र छन्।

भण्डारी जिताउनका लागि स्वयंसेवी बनका डा श्याम कार्कीले भने, “हयारीको जितले नेपालीलाई अमेरिकाको राजनीतिमा समाहित गराउने ढोका खोल्नेछ।” यसैगरी भण्डारी उम्मेदवार बनेको क्षेत्रमा बसोबास गर्ने अर्जुन हमालले भने, “भण्डारी अहिले यो क्षेत्रमा एक उदीयमान नेताका रुपमा आफूलाई स्थापित गर्न सफल भएका छ, त्यसैले उनलाई प्राइमेरी निर्वाचनमा चर्चित पत्रिका ‘बाल्टीमोर सन’ले पनि इण्डोर्स गरेको छ।” 

मेरिल्याण्डमा काम गर्ने तरुण पौडेलले पनि भण्डारीको पकड र आधार मजबुत भएको बताए। करीब २०० नेपालीको घर यही डिस्ट्रिकमा भएकाले पनि उनलाई यार्ड साइनमा र मतदानमा सहयोग पुग्ने बताइएको छ। नेपाली तथा भूटानी मूलका करीब तीन सयको हाराहारीको मत रहेको आँकलन पौडेलले गरेका छन्। अमेरिकामा हुने यस निर्वाचनले नेपाली उम्मेदवारको उपस्थिति अनुमोदन हुन्छ कि हुँदैन भन्ने भण्डारीको जीतहारले सुनिश्चित गर्नेछ। 



प्रतिक्रिया