किन बदनाम भयो शितल निवासको टिका 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/October/shree_krishna_anirudra_gautam_da.jpg

पछिल्ला दिनहरूमा राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको दसैं टिका प्रकरण अत्यन्त चर्चित र आलोचित भयो । टिका लगाउँदा कसैलाई कुर्सीमा बसाएर लगाइएछ, कसैलाई घुँडा टेकाइएछ अथवा उनीहरूले नै टेकेछन् । त्यस अवसरका श्रब्य-दृश्य र रंगीन तस्बिरहरूले संसारै ढाक्यो । प्रतिक्रिया अनगिन्ती आए र अत्यधिक मात्रामा नकारात्मक नै आए। टिका प्रकरणमा राष्ट्रपति भण्डारी विवादको विषय बनिन् । जनमत पक्ष र विपक्षमा बाँडियो । पक्ष लिनेहरू रक्षात्मक र अरू आक्रामक भए । 

श्रीमती विद्या भण्डारी राष्ट्रपति नहुँदै दुई चार पटक मेरो भेट भएको हो । उनको पहिलो कार्यकालमा उनीसँगै एउटा कार्यक्रममा धनगढी जाने अवसर मिलेको थियो । उनी सधैं नै विनम्रतापूर्वक प्रस्तुत हुन्थिन् र सदैव संवादमा सहज रहेको मेरो अनुभव छ । त्यसैले पनि यस्ता घटना, यति अव्यवस्था कसरी भइरहेको छ, कसैले भने कुर्सीमा बसेर टिका थाप्ने र कसैले घुँडा टेक्नुपर्ने कुन गुज्रे जमानाको परिपाटी र अपसंस्कार राष्ट्रपति भवनमा कसरी भित्रियो, चकित भइरहेको छु । 

एकथरीले गणतन्त्र आइसक्यो किन टिका लगाउनुपर्‍यो पनि भनिरहेका छन् । त्यो उनीहरूको विचार हो तर टिका लगाइदिदैमा गणतन्त्र नै दुषित हुने होइन । निश्चय नै परम्परालाई समयानुकूल परिष्कृत गर्दै, अझ सहज र ग्राह्य बनाउँदै लानुपर्ने हुन्छ ।   

नेपालीहरू प्रथमतः दसैंलाई पारिवारिक मिलनको पर्वका रूपमा मनाउँछौं, देश, प्रवास जहाँभए पनि । वर्षदिनमा कम्तिमा एक पटक परिवारको सबैभन्दा पाको सदस्यका निवासस्थानमा भेला हुन्छौं र आशीर्वादस्वरुप टिका थाप्छौं । दशमीका दिन प्रायः सबैले नै सबैभन्दा पाको सदस्य भएकै स्थानमा व्यतीत गरिन्छ । त्यसैलाई मूलघर पनि भनिन्छ । त्यसपछिका दिनमा मावल, ससुराली र अरु मान्यजनकहाँ जाने गर्छौं । 



राष्ट्रपति नेपालको सर्वोच्च (आलंकारिक) संस्था हो । सांस्कृतिक हिसाबले यसलाई राष्ट्रको मूलघर नै मानौं र प्रकारान्तरमा हो पनि । यद्यपि राष्ट्रपतिबाट टिका थाप्ने चलनचाहिं विगतकालमा राजाहरूले गरिआएको प्रथालाई नै निरन्तरता दिइएको हो । देश गणतन्त्र भएपछि निरन्तरता नदिएइको भए के हुन्थ्यो, सायद त्यसको राजनीतिक अर्थ अर्कै हुन्थ्यो । 

किनभने राष्ट्रपतिले टिका नलगाइदिँदा टिकाप्रेमीहरू, जेठ १९, २०५८ मा त्यतिबेलाका राजा रहेका वीरेन्द्रको सवंश विनाशपछि राजा बनेका र गणतन्त्रको आगमनपछि ‘राजा’ पदवीबाट च्युत, ज्ञानेन्द्रको निर्मल निवासतिर ओइरिन्छन् भन्ने आशंकाका कारण पनि राष्ट्रपतिले दसैंको टिका लगाइदिने परम्परालाई निरन्तरता दिइएको हो भन्न सकिन्छ ।
 
टिका थाप्‍ने र लगाइदिने शैलीको सरलीकरण हुनुपर्ने, सबै मानिसको प्रतिष्ठा एउटै हुन्छ भन्ने बोध गरेर सबैसँग एकैसमानको व्यवहार भइदिएको भए आलोचनाको ठाउँ रहने थिएन । बरु प्रशंसा नै हुन्थ्यो । कसैका लागि कुर्सी र कसैलाई भने घुँडा यस्तो अल्पबुद्धि कहाँबाट आयो ? दसैं आफैंमा समताबोधक पर्व हो, यस्तो पर्वमा भेदभावको अभ्यास किन गरियो, ढंग नभएर कि बुद्धि नपुगेर कि उच्चासनमा बसेपछि जे पनि मान्य हुन्छ भन्ने अहंकारले मति भ्रम भएको हो ? केही त पक्कै भएकै हो । 

राष्ट्रको सर्वोच्च आसनमा बस्ने व्यक्ति व्यवहारमा संवेदनशील भइदिएन भने अनर्थ हुन्छ । त्यही समाजको चलन बन्न जान्छ, कतिपय मानिस त्यस्तै कार्यको सिको गर्दै प्रतिकूल आचरण गर्न थाल्छन् । लोकले समाजको अग्रपंक्तिकै आचरणको अनुकरण गर्छ । आफैं हेर्नुहाेस् व्यक्तिको प्रतिष्ठाबारे कुनै ख्यालै नगरी बोल्नु, आरोप लगाउनु, मनगढन्ते आक्षेप लगाउनु त अचेल सामान्य जस्तै भएको छ । 

यो हद्को अशिष्टता, यी तथानामहरू कहाँबाट कसरी निःसृत भएका हुन् र यी तथानामहरूबीच मानिसको मनमस्तिष्क कसरी सुस्थिर हुन्छ ? तडकभडक र मोजमस्ती मात्रै गर्ने, गालीगलौज र आरोप प्रत्यारोपमा दिन गुजार्ने मानिस उँभो नलागेजस्तै देशकै चालचलन त्यस्तै हुँदै गयो भने समृद्धि त परै भीख पनि पाइने छैन ।

मानिसको स्वभाव अनुकरणात्मक हो । उसले राज्य व्यवस्थाको शिरमा जो बसेको छ, जस्तो चालचलन हुन्छ, सामान्यतया जानीनजानी त्यसैको अनुकरण गरिरहेको हुन्छ । उच्चासनमा बस्नेले भेदभावलाई मान्यता दियो भने भेदभाव नै क्रमशः संस्थागत हुन्छ । समाजमा विद्यमान यावत् कुरीतिहरू विगतमा उच्चासनमा बस्नेहरूले मान्यता दिएकै कारण स्थापित भएका हुन् । 
 

छापादेखि अनलाइन पोर्टल, सामाजिक सञ्जालमा गुनासा, सुझाव, आलोचना आइरहेका छन्, के राष्ट्रपति कार्यालय त्यसको ट्रेकिङ गर्दैन ? नोट बनाउँदैन ? ब्रिफिङ गर्दैन ? राष्ट्रपतिको देशभित्रै आवागमन तामझामपूर्ण छ । उनको ‘सवारी चल्दा’जनताले सास्ती पाउँछन् । सास्ती पाएपछि गाली त गर्छन् नै, गालीमात्रै होइन सराप्छन् पनि । 


त्यसैले आजजस्तो चलन बस्छ त्यो कालक्रममा थिति बन्छ र थिति (थिति विकृत हुँदा बेथिति) बन्छ बनिसकेपछि त्यसबाट फुत्किन लरतरै सकिँदैन । जस्तै, विगतमा राजाहरूले टिका लगाइदिए, प्रथम राष्ट्रपति रामवरण यादवले त्यसैलाई निरन्तरता दिए । निरन्तरता दिनुको राजनीतिक कारण थियो, त्यो भनिसकियो । वर्तमान राष्ट्रपतिका पालामा विशेष गरेर यसपालिको टिका प्रकरण समय नसुहाउँदो गरी भद्दा भयो । अर्थात् रीति, कुरीति बन्न पुग्यो ।  
  
भद्दा भयो किनभने राष्ट्रपति टिका प्रकरणमा टिका थाप्ने र लगाइदिनेको भावमुद्रा हेर्नुहोस् । कोही आफूलाई बडो विशिष्ट मानेर टिका थापिरहेको छ, अर्काथरी दासानुदास सरह विभिन्न प्रकारले घुँडा टेकेर टिका थापिरहेका देखिए । समाजशास्त्रीय भाषामा भन्नुपर्दा यो गहिरो गाढिएको चाकडी गर्ने र गराउने सामन्त र दास अन्तरसम्बन्धको अवशेष हो । 

प्रश्न छ, यो अवशेषलाई निस्तेज बनाउने कि हुर्काउँदै लाने ? लोकतन्त्र त ती अवशेषहरू निस्तेज पार्न आएको हो । तर प्रवृत्ति भने सामन्ती अवशेषलाई हुर्काउँदै लानेतर्फ उन्मुख छ । हाम्रासमु लाने, नलाने दुई विकल्प छन् । लाने भए समाजमा अप्रिय द्वन्द्व हुन्छ । राज्य सञ्चालन गर्ने पात्रहरू र तिनका भक्त एक कित्ता र अरु अर्को कित्तामा पुग्छन् ।   
 
अवश्य नै नेपालका राष्ट्रपति आलंकारिक भएकाले त्यो संस्थाको सांस्कृतिक महत्व स्थापित गर्नु नराम्रो होइन । राजकाजको काम उनले गर्दैनन्, गर्दिनन् । त्यसैले विभिन्न सांस्कृतिक समारोहमा भाग लिनु, पुरस्कार, मानपदवी वितरण, (मन परेकालाई) भूषित विभूषित गर्नु उनको दैनन्दिनी हुन्छ । 

प्रधानमन्त्री नै प्रमुख कार्यकारी भएकाले सरकारका काममा राष्ट्रपतिको सही छापबाहेक अरु काम छैन, हुँदैन । त्यसैले उनका धेरैजसो गतिविधि सांस्कृतिक नै हुन्छन्, होउन् यसमा खासै आपत्ति जनाउनुपर्ने देखिँदैन । आलंकारिक पद भनेकै त्यस्तै हो । राष्ट्रप्रमुखको संस्था आलंकारिक राख्नुको, विशेष गरे संसदीय प्रथामा, राष्ट्रिय आस्थाको प्रतीकका रुपमा आलोचनामुक्त रहोस् भनेर हो । ताकि, अरु सबैतिर आश मर्न गयो भने राष्ट्रपति त छन् भन्ने अवस्था बाँकी रहोस् । 

तर विशेष गरेर भण्डारीको दोस्रो कार्यकालमा उनको हाउभाउ निकै खट्किने खालको देखिन थालेको छ । टिका त पछिल्लो प्रसंग हो । यस्ता प्रसंगहरू बग्रेल्ती भइसकेका छन् । दिनहुँ जसो राष्ट्रपति आफ्नै आलोच्य प्रस्तुतिका कारण आलोचित भइरहेकी छन् । राष्ट्रपति पदमा आसीन व्यक्ति यसरी आलोचित भएपछि राष्ट्रपतित्व कसरी मर्यादित भयो त ? यो प्रश्नचाहिं अहिले विचारणीय भएको छ । 

छापादेखि अनलाइन पोर्टल, सामाजिक सञ्जालमा गुनासा, सुझाव, आलोचना आइरहेका छन्, के राष्ट्रपति कार्यालय त्यसको ट्रेकिङ गर्दैन ? नोट बनाउँदैन ? ब्रिफिङ गर्दैन ? राष्ट्रपतिको देशभित्रै आवागमन तामझामपूर्ण छ । उनको ‘सवारी चल्दा’जनताले सास्ती पाउँछन् । सास्ती पाएपछि गाली त गर्छन् नै, गालीमात्रै होइन सराप्छन् पनि । 

राष्ट्रपति जनताबाट दिनहुँ सरापिनु राम्रो हो र ? राम्रो हो कसैले भन्दैन र आशा छ, स्वयं राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले पनि भन्ने छैनन् । फेरि, न खड्गप्रसाद शर्मा ओली सधैं प्रधानमन्त्री भइरहने हुन्, न त विद्यादेवी नै अनन्तकालसम्म राष्ट्रपति रहिरहन्छिन् । पदबाट बाहिर भएका दिन कसैले नगन्ने पूर्वराष्ट्रपति भइयो भने के हुन्छ ? यता पनि सोचिदिए राम्रो हुन्छ, मंगल हुन्छ । 

नेपालको प्रधानमन्त्री कार्यकारी पद हो, राष्ट्रपति आलंकारिक । राष्ट्रपतिमा लोकआस्था संकेन्द्रित हुनुपर्छ । प्रधानमन्त्रीलाई त कार्यकारी भएकाले गाली खाए, सरापिए पनि काम गरेर देखाउने अवसर हुन्छ । काम गर्दा गल्ती भए आलोचित हुन्छन्, काम गरेर सच्चिन सक्छन् । तर हाम्रो राष्ट्रपति सर्वोच्च र आलंकारिक पद भएकोले, त्यस पदमा आसीन व्यक्तिले आलोच्य व्यवहार गर्नबाट बच्‍नुपर्छ।     





प्रतिक्रिया