गएका थियौ उडेर आकाशमा, फर्केर आयौ बन्द बाकसमा

Maya.jpg

काठमाडौं- रेमिट्यान्सले धानेको नेपाली अर्थतन्त्रको सामाजिक मूल्य निकै महँगो बन्दैछ। हजारौं सुन्दर सपना पूरा गर्ने उद्देश्यले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेर बादलको बाटो पराई भूमि झरेका नेपाली युवा-युवती बाकसमा प्याक भएर फर्किरहेका छन्। 

कोही चिरनिद्रामा फर्किरहेका छन् भने कोही बाटैमा लुटिएर रित्तो हात। दुई दशकयताको सामाजिक पीडालाई म्युजिक भिडियोको रूप दिएका छन्, प्रकाश सपुतले। 'बोल माया'लाई राष्ट्रिय रोदनको गीतको संज्ञा दिँदा पटक्कै अतिशयोक्ति हुँदैन। 

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार नौ वर्षयता ५८ सय ९२ युवा-युवतीको पार्थिव शरीर बाकसमा फर्काइएको छ। तीमध्ये ५७ सय ६५ पुरुष र एक सय २७ महिला छन्। 

रोजगारीको खोजीमा संसारका २८ वटा मुलुकमा पुगेका नेपाली युवा-युवतीको कथा हो यो। ती मुलुकबाट बाकसमा बन्द भएर आउनेहरूको संख्या औसतमा वार्षिक ६ सय ५० छ। 

हरेकसँग एउटा सिंगो परिवार, गाउँसमाज र मुलुक गाँसिएको छ। कुनै एक नेपाली पराई भूमिमा मृत्युवरण गर्दा सारा तीन करोड नेपाली नै शोकमा डुब्छन्। भदौ ०६१ मा १२ नेपाली युवालाई इराकमा घाँटी रेटेर हत्या गरिँदाको पीडा सहन गर्न नसकेर सारा नेपाली सडकमा उत्रिएको घटना सबैको दिमागमा ताजै छ, अझै। 

युवा-युवती बाकसमा फर्किने घटना विमानस्थलमा नौलो लाग्न छाडेको छ। मानौं, यो नियमित आकस्मिकताबाहेक केही होइन। बाकस आउँछन्, लास जल्छन् या पुरिन्छन् अनि सबै कुरा विस्मृतिमा हराउँछन्। 

मानौं, यसरी आफ्ना नागरिकको अकाल मृत्यु रोक्नु सरकारी निकायहरूको दायित्व नै होइन। तिनै नागरिकले पठाएको रेमिट्यान्सले अर्थतन्त्र धानिरहेको विषय पनि कुनै 'भर्चुअल' दुनियाँको कथाजस्तो लाग्छ। 
 

- धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा। कस्तो भई गयौ कस्तो भई आयौ काठको बाकसमा।



यही राष्ट्रिय रोदनलाई प्रकाश सपुतले 'बोल माया'मा समेटेका छन्। ३ जेठमा युट्युबमा अपलोड गरिएको यो म्युजिक भिडियो ४७ लाख ५६ हजारभन्दा बढीले हेरिसकेका छन्। र, ११ हजार प्रतिक्रिया र ८५ हजारको लाइक पाइसकेको छ, गीतले। 

पाश्र्व धुनबाट शुरु हुने गीतमा गाउँकी एक गर्भवती पात्र फोनमा कुरा गर्दागर्दै मुर्छा पर्छिन्। सँगै काठमाडौं देखाएपछि र उनै महिलाको घरतिर एक सेतो जिपमाथि खैरो रंगको बाकस ल्याइरहेको देखिन्छ। 

बाकस देखेपछि बालबालिका, महिला र वृद्धवृद्धाहरू भेला हुन्छन्। लासलाई अँगालो हाल्दै गर्भवती विलौना गर्छिन्। उनको विलौना सुनेर नभक्कानिने को होला र !

युवा जमात, जो देश विकासको मेरुदण्ड हो। जनता जगाउने मात्र होइन, संसार थेग्ने आँट त्यही जमातमा हुन्छ। परिवर्तनको सपना हुन्छ, तातो रगत हुन्छ र संवेदनाले भरिपूर्ण मुटु हुन्छ। म्युजिक भिडियोमा त्यो जमात देखिँदैन किनभने गाउँका सबै युवा खाडीको ५० डिग्रीको गर्मीमा पसिना बगाइरहेको छ। 

त्यही युवा मरुभूमिलाई हराभरा बनाउँदा बनाउँदै जीवनको अन्तिम सास फेर्छ, पराई भूमिमै। र, फर्किन्छ कुरुप बाकसमा कहिल्यै नउठ्ने गरी। 

भिडियोमा पढ्ने उमेर र रहर हुँदाहुँदै पनि परिवारका सदस्यको हातमुख जोर्न जोहो गर्नुपर्ने बाध्यताबाट मुक्ति दिन खाडी मुलुकतिर उड्छ, एक युवक। ऊसँग श्रीमतीका रहर पूरा गर्ने, बुवाको मैलो टोपी फेर्ने, आमाको वर्षौंदेखिको फाटेको चोली फेर्ने सपना हुन्छ। 

श्रीमतीको पेटमा काउकुती लगाइरहेको आफ्नो सन्तानसँग फर्केर खेल्ने रहर हुन्छ, उसको मनमा। खरले छाएको घरको छानोमा जस्तापाता हालेर कहिल्यै नचुहिने बनाउने सुन्दर सपना बुनेको हुन्छ। 

अनगिन्ति आशिर्वाद थापेर उडेको नवयुवक कुरूप बाकसमा फर्किन्छ। प्रेम विवाह गरेको केही महिनामै मायाको चिनो पेटमा छाडेर जिन्दगीको पाटो र गाउँको बाटो फेर्ने आशा दिएर उडेको श्रीमान् सदाका लागि आँखा बन्द गरेर बाकसमा अरूले ल्याउँदै गरेको वेदना शब्दमा कसरी व्यक्त गर्न सकिएला र ! 

अर्धमुर्छित बनेकी युवककी श्रीमती विलौना गर्छिन् : 

धन ल्याउँछु भन्दै गएका थियौ उडेर आकाशमा।
कस्तो भई गयौ कस्तो भई आयौ काठको बाकसमा।।


बाल्यकालदेखि नै एउटै गन्तव्यमा हिँडेका श्रीमान्‌ले छाडेर जाँदा असह्य पीडालाई गीतमा उनिएको छ। यसमा देखाएजस्तै गरिबी, बेरोजगारी र राजनीतिक अस्थिरताबाट वाक्क भएर दैनिक एक हजार युवा अवसर खोज्दै बिदेसिन्छन्। 

विडम्बना, उनीहरूमध्ये धेरै जना सकुशल फर्किन पाउँदैनन्। त्यसरी बिदेसिएकाहरूको सामाजिक सुरक्षाको अत्तोपत्तो छैन। कति नेपाली पराया मुलुकमै बेपत्ता बने, कति लास बनेर फर्किए, कतिको लास फर्काउन नपाएर उतैका शवगृहमा सडिरहेका छन् भन्ने कुनै लेखाजोखा छैन। 

मानिसको मृत्यु भएको केही घण्टामै दाहसंस्कार गरी १३ दिनमा काजक्रिया सक्ने र वार्षिकीपछि उसको आत्मालाई देवत्व प्राप्त भएको विश्वास गरिने नेपाली चलन छ। कतिपय यस्ता युवा पनि छन्, जसको शव वर्षौंदेखि परदेशका शवगृहमा थन्किएको छ। शोकमा डुबेको परिवारको आँशु रोक्ने कुनै उपाय छैन। 

उनीहरूको शोक ऐंठनमा परिणत हुन्छ। केहीको शव मात्र साथीभाइ र आफन्तको सहयोगमा गाउँ आइपुग्छ, त्यो पनि वर्षौंपछि। अनि मात्र दाहसंस्कारको विधि पूरा गर्न पाउँछ परिवारले। 

यस गीतले नेपाली समाजमाथि गम्भीर प्रश्न खडा गरेको छ, सामाजिक मूल्य, मान्यतामा भइरहेको यो बलात्कारको शृंखला कति दिन चल्छ ? 
 



प्रतिक्रिया