नारीको पीडा पोख्‍ने जयलक्ष्मीको ‘दर्द’

/assets/plugins/bower_components/fileman/Uploads/post_images/October/Jayalaxmi_Darda.jpg

धनगढी- 
अन्धकार भो जीवन मेरो दिउँसै तारा देख्न पुगेँ
उनको जीवन मेरो कथा कवितामा सोच्न पुगेँ 

डर्ने छैन मेरो कलम जस्तो दबाब आए पनि 
उनकै कारण साहित्यमा म नि पाइला टेक्न पुगेँ 


जयलक्ष्मी जोशीको गजल संग्रह ‘दर्द’ को पहिलो पृष्ठमा रहेको गजल हो यो। यही गजलमार्फत उनले साहित्यमा छिरेको जनाउ दिएकी छिन्। साहित्यमार्फत् चेतना जगाउन आफूलाई जस्तोसुकै दबाब आए पनि पछाडि नहट्ने अठोट गजलमा व्यक्त गरेकि छिन्। 

जन्मघर माइती त्यागी आएकै थेँ मैले
घरबारी चुलो चौको धाएकै थेँ मैले 

कुरा काट्दै गाली त्यो सुन्दा पनि 
परिवारको मीठो गीत गाएकै थेँ मैले 

 
सामाजिक परिवेशमा देखिएको घटनाक्रम र ती घटनालाई किनारा लगाउन उनिएको एउटा सुन्दर शब्दको माला हो ‘दर्द’। जुन मालामा उनिएका छन् नेपाली समाजमा व्याप्त कुप्रथा, सामाजिक रुपमा महिलामाथि गरिएका घृणित व्यवहार र त्यसलाई तीखो व्यङ्ग्यात्मक शैलीमा उतारिएका शब्दहरु। ती शब्दहारमार्फत् सरोकारवालाको ध्यान केन्द्रित गरेर समाजमा व्याप्त समस्यालाई उजागर गर्न उनिएको छ, दर्द। त्यही दर्दलाई शब्दमा मीठो र लयात्मक शैलीमा उन्ने सर्जक हुन् पिठातोला छान्ना बझाङमा जन्मेकी एक उदयीमान गजलकार जयलक्ष्मी जोशी। हाल धनगढीस्थित एक विद्यालयमा शिक्षण पेशामा आवद्ध जोशीले अध्यापन सँगसँगै गजल विधामा पनि कलम चलाइरहेकी छिन्।

तोतेबोली बोल्ने विद्यार्थीका हात समाउँदै कखरा लेख्न सिकाउने जोशी बचेको समय गजल कोर्नमा तल्लिन छिन्। समाजमा रहेको व्याप्त छुवाछुत, छाउपडी प्रथा, नारीप्रति समाजले गर्ने व्यवहारलगायतका आफूले र समग्र महिलाले खेपेको दर्द अथवा पीडालाई शब्द बुन्दै ‘दर्द’ बजारमा ल्याएकी छिन्।
  
पिता रामप्रसाद र माता हर्कदेवीको कोखबाट जन्मेकी जयलक्ष्मी एक कुशल शिक्षिका हुन्। उनले अध्यापनपछिको बाँकी रहेको समयलाई सदुपयोग गर्दै आम पाठकसामू दर्द ल्याएकी हुन्। धनगढीस्थित कैलाली जनपुस्तकायलयको सभा हलमा कैलाली जनपुस्तकालयद्वारा आयोजित एक समारोहमा उनको कृति विमोचन भयो। 

जयलक्ष्मीको ‘दर्द’ गजल सङ्ग्रहभित्र निकै मार्मिक र समाजको यथार्थ चित्रण हुने खालका गजल संग्रहित छन्। मान्छे जन्मिसकेपछि समाजका लागि केही गर्नुपर्छ भन्ने स्वभावका भएकाले नै होला उनको यो कृति जन्मिएको। गजल पिछिल्लो पुस्ताले खुबै रुचाएको विधा हो। गजलमा शब्द भाव र आफूले दर्शाउन चाहने भावना, यथास्थिति, घटना, परिवेशलाई उनेर व्यक्त गर्न सकिने शब्दलाई मार्मिक तरिकाले छनोट गर्न सक्ने खुबी नै हो, जसमा जयलक्ष्मी पोख्त रहेको उनको यो गजल सङ्ग्रह पढ्दा आभाष हुन्छ।

उनको यो गजलले नारी अर्थात महिलाले आफू जन्मे-हुर्केको घर त्याग्नु पर्ने बाध्यतालाई दर्शाएको छ। आफ्नो घर त्यागेर पराई घरलाई अँगाल्दाको पीडा र त्यहाँ पनि चुलोचौको, खेतबारी सबैतिर सकी नसकी धाउनु पर्दाको पीडालाई शब्दमा उतारेकी छिन् उनले। सासु-बुहारीबीचको खाडल, घरपरिवारमा बेमेल, झै-झगडा सबै सहेर एउटी नारीले घरबाहिर परिवारको मीठो गीत गाएको यथार्थतालाई गजलमार्फत चित्रण गरिएको छ। 

भाइले नै भाइहरु मराएका छन् 
हिँड्ने खुट्टा तान्ने काम गराएका छन् 

अभावलाई बोकेर पराइसँग बाँच्छु बरु
आफ्नाहरुले मलाई डराएका छन् 


अहिलेको समाजले भाइबन्धुत्वको नाता तोडेको यथार्थ यो गजलमा दर्शाइएको छ । भाइले नै भाइहरुलाई विश्वास गर्न नसकिने अवस्था आइलागेको कुरा यहाँ गजलकारले देखाएकी छिन्। बरु यो समयमा आफ्ना भन्दा पराइ नै नजिक हुने गरेको र आफ्नाहरुले नै डर त्रास देखाउने गरेको यो गजलमा नारीको पीडालाई चित्रण गरिएको छ।  

कयौँ चेली छाउपडी र सुत्केरीको गोठमा मरे
नथामिने कथा व्यथा विरह र चोटमा मरे 

जन्मदा नै पक्षपाती कस्तो हाम्रो चलन पनि 
उमेरसम्म फूल्न नपाई अल्पायूमै बोटमै मरे 


छोरीको बेदनासहितको यो गजलमा सुदूरपश्चिमका कूप्रथाका रुपमा जरा गाडेको छाउपडी प्रथालाई दर्शाइएको छ। छाउपडी गोठ र सुत्केरी हुँदा १० दिनसम्म महिलालाई नछुने प्रथालाई जयलक्ष्मीले जोडेकी छिन्। सुदूरपश्चिममा महिनावारी भएको समयमा महिलाले टाढै रहेको छाउपडी गोठमै रातदिन बिताउनुपर्ने बाध्यता छ। कतिपय महिलाले छाउगोठमै मृत्युवरण गरेको यथार्थतालाई गजलमा उतार्न सफल छिन् गजलकार जयलक्ष्मी। 

आऊ प्रिय एउटा नयाँ पहिचान बनाउँ
मायाको कानुन सुरक्षित हुने संविधान बनाउँ 

प्रेममा उदाहरण बनौला मुनामदन जस्तै
मृत्युपश्चात् सबले गाउने भजन बनाउँ 


गजलकार जयलक्ष्मीले सामाजिक चित्रणसँगै दर्द भित्र प्रेममा पनि बहकिएकी छिन्। उनले प्रेमीसँग नयाँ पहिचान बनाउने वाचा गरेकी छिन्। देशको कानुन बनिसकेको अवस्थामा प्रेमको नयाँ हिसाब किताबसहितको कानुन जरुरी रहेको गजलमा प्रस्ट्याएकी छिन्। उनले मायाको कानुन सुरक्षित हुने संविधान बनाउन गजलमार्फत जोड दिएकी छिन्। यस्तै उनले प्रेममै सपना साँच्दै मुनामदनझैँ एक जोडी बनेर युगौयुग बाचिरहने कल्पनासमेत गरेकी छिन् ।  

पूर्णिमाको जुनेली रातमा आउनु है 
मैले देख्ने सपनीको साथमा आउनु है 

एक्काइसौँ शताब्दीका कति कति प्रविधि छन् 
म्यासेन्जरमा मीठा मीठा बातमा आउनु है 


उनले अहिलेको प्रविधिलाई पनि गजलमा छुटाएकी छैनन्। सुदूरका गौरा, डेउडा, जात्राजस्ता मेला पर्वमा रातिको समयमा प्रेमीलाई भेट्ने कल्पना गरेकी छिन् गजलमा। उहिलेको जस्तो डाँडा पाखा या जंगलमा गएर लुकीछिपि भेट्नुपर्ने बाध्यतालाई अहिलेको एक्काइसौँ शताब्दीमा प्रविधिले सहज बनाइदिएको कुरा पनि चित्रण गरिएको छ। 

उनले प्रेमीलाई फेसबुकको म्यासेन्जरमा आएर मीठा मीठा बातमा हराउन आव्हान गरेकी छिन्। ‘दर्द’ आफैंमा एक सशक्त र सामाजिक परिवेश गाँसिएको यथार्थवादी शैलीमा सुदूरको वस्तुस्थिति झल्काउने गजल संङ्ग्रह बनेको छ। 

 



प्रतिक्रिया