दशैंका ‘डिजिटलाइज्ड’ पोस्टकार्ड

/assets/plugins/bower_components/fileman/Uploads/post_images/October/Dashain_ns_.jpg

काठमाडौं- बिहान सबेरै उठेर कोठा सफा गर्न लागेकी दिदीले नेहा श्रेष्ठलाई भन्दै थिइन्, ‘तिम्रो आशिकको चिनो भेटियो।’ छेउमा च्यातिइसकेका पोस्टकार्डमा टाँसिएको फोहोर टक्टक्याइन् र आँखा मिच्दै हेरिन्। उनको आँखामा पुरानो सम्झना नाच्न थाल्यो। पोस्टकार्डमा लेखिएको थियो, ‘दशैंको विस’।

मोबाइलमा फेसबुक ‘लग इन’ गरिन्। उनको मन भने पोस्टकार्डले नै तानिरहेको थियो। फेरि एक पटक पोस्टकार्डतिर आँखा दौडाइन्। राता गुलाफका फूलहरूका गुच्छा रहेको पोस्टकार्डमा अघिल्लोपट्टि लेखिएको थियो, ‘लभ यु अल्वेज टु यु’।

नेहाका लागि यो पुरानो सम्झना थियो। आजकालका प्रेम जोडीहरूले ती दिन देख्न पाएनन्। अहिले सामाजिक सञ्जाल र इमेलमा डिजिटलाइज्ड भइसकेका छन्, चाडबाड र अवसरहरूका शुभकामना कार्डहरू।

सामाजिक सञ्जालहरूको विकास हुनु अघिसम्म कलिउड, बलिउड र हलिउडका नायक-नायिका, फूलहरू, मनमोहक प्राकृतिक दृष्यलगायत तस्बिर अंकित पोस्टकार्डहरूबाट शुभकामना आदानप्रदान गर्ने प्रचलन थियो। पोस्टकार्डको पछिल्तिर आफ्ना भावना पोख्दै शुभकामना दिने चलन थियो। कविता, सायरी र मनका भावना कोरिएका हुन्थे पछिल्तिर।

‘आजकल पोस्टकार्ड नै आउँदैनन्, किन्ने मानिस पनि हुँदैनन्। सबैलाई फेसबुकले छोएको छ।’


हुन त, त्यसबेला पोस्टकार्ड किन्नु अनावश्यक खर्च गरिएको मानिन्थ्यो। समाज अहिलेजस्तो खुला भएकै थिएन। भेटेरै शुभकामना आदानप्रदान गर्नुलाई मात्र सदभावका रूपमा लिने गरिन्थ्यो।

पोस्टकार्डहरू हितैषी मित्र मात्र होइन, लामो समयदेखि दूरी बढेको साथीलाई पनि बाँडिन्थ्यो। त्यसबाट वैमनश्यता हराउँथ्यो र मित्रताको भाव उत्पन्न गराउँथ्यो। दशैं त्यसै पनि वर्षभरिका दुःख, पीडा र वैमनश्यता भुलेर सबै एकाकार भएर मनाइने चाड हो।

पोस्टकार्डहरू अब इतिहास बनेका छन्। र, कसैले संग्रह गरेको भए ती ऐतिहासिक दस्तावेजजस्ता पनि बनेका छन्। समकालीन समाजमा दुई व्यक्तिबीचको सम्बन्ध, त्यतिबेलाको सामाजिक सोच, शैक्षिक र आर्थिक स्तरको पनि अंकित गर्छन्, पुराना पोस्टकार्डहरूले।

दशैं, तिहार, नयाँ वर्षलगायत अवसरहरूमा पोस्टकार्डहरू बढी चल्थे। एक रुपैयाँमा एउटा बन्डलै पाइन्थ्यो। मन परेको व्यक्तिलाई सबैभन्दा राम्रो पोस्टकार्ड दिने चलन थियो। त्यसरी कार्ड बाँड्नु इच्छा मात्र थिएन, प्रेम र सदभाव साटासाट गर्नु पनि थियो।

समकालीन समयका युवा पुस्तामाझ लोकप्रिय थियो, उक्त प्रचलन। तन्नेरी पुस्तामा अंकुराउने प्रेम पनि अभिव्यक्त हुन्थ्यो। शहरी इलाकाबाट दशैंमा घर आउनेहरूलाई पोस्टकार्ड ल्याइदिन आग्रह गर्थे, ग्रामीण भेगका युवा-युवतीहरूले।

‘ह्याप्पी दशैं एन्ड दिपावली’ कोरिएका पोस्टकार्डहरूमा निश्छल भावना, खुशी र शुभकामना मात्र होइन, सुख र समृद्धीको कामना पनि गरिएको हुन्थ्यो। साथीभाइले पठाएका कार्डहरू जम्मा गरेर आ-आफ्ना कोठाका भित्तामा टाँस्ने चलन पनि थियो।

अहिले त इन्स्ट्यान्ट जमाना शुरु भइसकेको छ। ‘रेडिमेड’ शुभकामना, भर्चुअल चंगा र म्यासेन्जरमा पठाइने विभिन्न धुनहरूले दशैंलाई मोबाइलभित्रै सीमित बनाएको छ। आमनेसामने भेटघाट अब फेसबुक लाइभ र च्याटमा खुम्चिएको छ।

हेर्दा आकर्षक लाग्ने यी शुभकामनाका प्याकेजहरू केही क्षणका लागि रोमाञ्चक लागे पनि व्यक्तिगत भावनालाई भने बिर्को लगाइदिएका छन्।

सूचना प्रविधिको विकासका कारण मोबाइलको प्रयोगमा व्यापकता आएको छ। मोबाइलको सर्ट म्यासेज सर्भिस (एसएमएस) पनि दशैंको शुभकामना आदानप्रदानको माध्यम बन्दै आएको छ। शुभकामना लेखिएका इमोजी, जीआईएफ र स्टिकर बनाएर सामाजिक सञ्जाल तथा एसएमएसमै पठाउने प्रचलन पनि व्यापक छ।

भर्चुअल शुभकामना र त्यसको जवाफ दिने चलन पनि अर्कै ढंगको छ। ‘ह्याप्पी दशैं’ लेखेर सन्देश पठाउँदा जवाफ आउँछ, धन्यवाद जनाउने स्टिकरसहित।

भक्तपुरको मुलढोकामा गोकुल प्रजापतिको पुरानो किराना पसल छ, जहाँ एक दशक अघिसम्म दशैंका पोस्टकार्ड खरिद गर्न बालबालिका र स्कुले विद्यार्थीहरूको घुइँचो लाग्थ्यो। अहिले उनको पसलमा पोस्टकार्ड पाइँदैन। कारण, म्यासेन्जर र मोबाइलबाटै शुभकामनामा आदानप्रदान गर्ने प्रचलन विकास हुँदा कागजी पोस्टकार्डको चलन हराइसकेको छ।

‘आजकल पोस्टकार्ड नै आउँदैनन्, किन्ने मानिस पनि हुँदैनन्। सबैलाई फेसबुकले छोएको छ,’ प्रजापति भन्छन्।

काठमाडौं गोंगबुस्थित आर्काइभ गिफ्ट एन्ड ग्रिटिङ कार्ड सेन्टरका सञ्चालक निरेश कार्कीले पनि केही वर्ष अघिसम्म पोस्टकार्ड बिक्री गर्थे। उनले दशैंका ‘ग्रिटिङ कार्ड’ राख्न छाडेका थिएनन्। तर, ल्याएका सबै कार्ड व्यर्थमा खेर गएपछि उनले राख्नै छाडेका छन्। ‘बजारमा डिमान्ड नै छैन, सामान मात्र ल्याएर के गर्नु,’ कार्की भन्छन्, ‘कहाँ अहिलेको जमानामा पनि पोस्टकार्ड हेर्छन् र ! मोबाइल, फेसबुक र म्यासेन्जर नै सस्तो माध्यम बनेका छन्, सबैका लागि।’




प्रतिक्रिया