काठमाडौंमा भित्रियो बर्डफ्लु, कुखुरा मार्ने अभियान सुरु

Bird_Flu.jpg

काठमाडौं-  काठमाडौं उपत्यकामा बर्डफ्लु भित्रिएपछि कुखुरा मार्ने अभियान सुरु भएको छ। ललितपुर गोदावरीका विशंखुनारायण र बडिखेलमा बर्डफ्लुको संक्रमण भेटिएपछि राजधानी उपत्यकामा उच्च सतर्कता अपनाइएको छ । 

दुवै स्थानमा गरी करिब ४३ सय ६४ कुखुरा, लोकल कुखुरा एक सय ६०, अण्डा ११ र दाना १९ सय ७२ किलो नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय प्रमुख मगोलप्रसाद साहले नेपाल समयलाई जानकारी दिए ।

केन्द्रीय पशुसेवा अनुसन्धान केन्द्रमा गत बुधबार गरिएको परीक्षणमा दुवै स्थानका कुखुरामा 'एच-५ एन-१' भाइरस पुष्टी भएको थियो । गत साता पनि काठमाडौं बलम्बुमा बर्डफ्लुको संक्रमण भेटिएको थियो । 

के हो बर्डफ्लु ?

चराचुरुंगीमा देखिने रुघाखोकीजस्तै 'एच-५ एन-१' को संक्रमण नै बर्डफ्लु हो । यो इन्फ्लुएन्जा जातिको भाइरस हो । 

यो रोग कम र उच्च संक्रामक गरी दुई प्रकारको हुन्छ । अहिले देखिएको बर्डफ्लु उच्च संक्रामक प्रकृतिको हो । 

केमा ध्यान दिने ?

अण्डाको सेतो र पहेंलो भागमा भाइरस हुन सक्छ । तसर्थ, अण्डालाई पूर्ण रूपमा राम्ररी पकाएर मात्र खाने । हाँस, कुखुरा वा अन्य पक्षीको मासु पनि राम्ररी पकाएर मात्र खाने । 

अण्डा वा काँचो मासु चलाएको वा छोएको छ भने हात राम्ररी साबुन-पानीले धुने । धेरै पक्षी एकै ठाउँ र समयमा कुनै कारणबिना मरेको देखिएमा तुरुन्तै कृषि मन्त्रालय मातहतका कार्यालयमा सूचना दिने । 

मानिसमा सर्छ ?

बर्डफ्लु भाइरस ७० डिग्री सेल्सियसमा मर्ने भएकाले राम्ररी पकाउँदा स्वास्थ्यका लागि हानिकारक हुँदैन । नेपालीले अण्डा तथा मासु राम्ररी पकाएर खाने भएकाले पनि आत्तिनुपर्ने अवस्था नआउने पशु सेवा कार्यालय ललितपुरका प्रमुख मगोलप्रसाद साहले बताए । 

हालसम्म मासु वा अण्डा खान्दा बर्डफ्लु लागेर मानिसको मृत्यु भएको प्रमाणित भएको छैन । यस्तै, यो रोग मानिसबाट मानिसमा केही अपवादबाहेक सजिलै सर्दैन । 
https://www.nicasiabank.com/

बर्डफ्लु संक्रमित जिउँदो पक्षीसँगको लसपस तथा पक्षीको सुलीको प्रयोगबाट मानिसमा सर्छ । तर, मासु खाएर सर्ने सम्भावना भने निक्कै कम हुन्छ । 

हालसम्म संसारभर प्रमाणित रूपमा बर्डफ्लुका कारण ज्यान गुमाउने मानिसको संख्या तीन सय ७७ मात्र छ । 

को को जोखिममा ?

बर्डफ्लुको जोखिममा कुखुराका खोरमा काम गर्ने मानिस हुन् । कुखुराको स्याहारमा खट्ने किसान र श्रमिक उच्च जोखिममा पर्छन् । जिउँदो पक्षी बेच्ने व्यवसायीलाई पनि यो रोगको संक्रमण हुन सक्छ । 

यस्तै, कुखुराको मासु बिक्री गर्ने फ्रेसहाउसका कामदार पनि उच्च जोखिममा रहन्छन् । 

बच्न के गर्ने ?

बर्डफ्लुको संक्रमण बढ्न थालेपछि पक्षी भएका ठाउँमा जानु हुँदैन । हाँस, कुखुरा पालिएका फार्महरूमा पनि अत्यावश्यकबाहेक जानु हुँदैन । जाँदा सुरक्षित भएर जानुपर्छ । 

पक्षीको खोरमा काम गरेर आएका किसानले व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ । साबुन, पानी, खरानीले राम्ररी हातखुट्टा धोएर मात्र अरू काममा सहभागी हुनुपर्छ । 

काम गर्दा मास्क र पञ्जाको प्रयोग गर्नुपर्छ । मासु बेचविखन गर्ने मानिसले पनि सफा माक्स र पञ्जाको प्रयोग गर्नुपर्छ । 

हाँस, कुखुरा काटेपछि उत्पन्न हुने फोहोरलाई राम्रोसँग जलाउने वा खाडल खनेर पुर्नुपर्छ । मरेका पक्षी जथाभावी फाल्नु हुँदैन । व्यवस्थित ढंगले पुर्नुपर्छ । 

सफा पसलबाट मात्र मासु किन्नुपर्छ । सकभर जिउँदो कुखुरा घरमा लगेर काट्ने गर्नुहुँदैन ।
 

प्रतिक्रिया