भाइरलको प्रकोपले विद्यालय बन्द

/assets/plugins/bower_components/fileman/Uploads/post_images/October/Viral_Fever.jpg

 दार्चुला- नौगाड गाउँपालिका-२ सुण्डमुण्डुमा मौसमी भाइरलको प्रकोपले केदारेश्वर माध्यमिक विद्यालय सुण्डमुण्डु बन्द गरिएको छ।

एक सातादेखि फैलिएको भाइरलले गाउँभरिका बालबालिका तथा वृद्धवद्धासहित विद्यालयमा अध्ययनरत ३५० विद्यार्थीमध्ये आधाभन्दा बढी प्रभावित भएका छन्।

विद्यालयका शिक्षक प्रेमसिंह ठगुन्नाका अनुसार भाइरलकै कारण विद्यार्थीको नियमित पठनपाठनमा समस्या भएपछि आजदेखि विद्यालय बन्द गरिएको हो। दशैँ बिदा यही असोज २४ गतेदेखि गर्नुपर्ने भए पनि भाइरलको प्रकोप बढ्न थालेपछि विद्यालय चाँडै बन्द गरिएको उनले बताए। 

प्रभावित विद्यालयमा सामुदायिक स्वास्थ्य एकाइ सुण्डमुण्डुको स्वास्थ्यकर्मीको टोलीले आज विद्यालयमै औषधि वितरण गरेको छ। सबै विद्यार्थी र शिक्षकमा भाइरल फैलिँदै गएपछि स्वास्थ्यकर्मीको टोलीलाई विद्यालयमै बोलाएर औषधि वितरण गरिएको हो। 

एकाइका प्रमुख रमेशसिंह ठगुन्नाले भने, 'अहिले विद्यालय क्षेत्र र बढी प्रभावित क्षेत्रमै औषधि दिएका छौँ। मौसमका कारण देखिएको भाइरलले सामुदायिक स्वास्थ्य एकाइ तथा निजी मेडिकलमा बिरामीको भीड लाग्ने गरेको छ।” भाइरल कम गर्नका लागि औषधिसहित स्वास्थ्यकर्मीको टोली विद्यालय र गाउँमा पठाइएको नौगाड-२ का वडाध्यक्ष नरेन्द्रसिंह ठगुन्नाले बताए। बिरामीको निगरानीमा दुई अहेब परिचालन गरिएका छन्। 



प्रतिक्रिया