बलेवा विमानस्थल पुनः सञ्चालनमा

/assets/plugins/bower_components/fileman/Uploads/Images/balewa_airport.jpg

बलेवा- तीन महीनासम्म सञ्चालन भएर रोकिएको बागलुङको बलेवा विमानस्थल पुनः सञ्चालनमा आउने भएको छ । कच्ची विमानस्थलमा वर्षाका बेला ट्वीनअटर विमानलाई समस्या भएकाले हवाई सेवा रोकिएको थियो । 

वर्षा रोकिएको र बिग्रिएका धावनमार्ग मर्मत गरिएकाले यही असोज २५ गतेदेखि पुनः हवाई सेवा सञ्चालन हुन लागेको बागलुङ नगरपालिकाले जनाएको छ । 

नेपाल एयरसँग रहेका दुई ट्वीनअटर विमानमा समस्या आएकाले मर्मतमा समय लागेको र तारा एयरका विमान दुर्घटनामा परेका कारण नियमित उडान रोकिएकोमा अब पुनः उडान सञ्चालन हुने बलेवा विमानस्थलका स्टेशन म्यानेजर कमलप्रकाश पौडेलले जानकारी दिए । उनका अनुसार असोज २५ गते बिहीबारका दिन नेपाल एयरको विमान काठमाडौँबाट यात्रु बोकेर बलेवामा अवतरण गर्नेछ । 

विमानस्थल पुनः सञ्चालनमा आउने भएपछि यात्रुको चापसमेत बढेको छ । तारा एयरको उडान तत्काल नहुने भए पनि नेपाल एयरले हरेक बिहीबार नियमित उडान भर्नेछ । असोज २५ गते बिहीबार काठमाडौँबाट आउने नेपाल एयरको विमानका सबै सिट बुकिङ भइसकेको बताइएको छ । 

“अहिले बागलुङदेखि काठमाडौँसम्म पुग्नका लागि ठाउँ–ठाउँको जाम र सडक निर्माण तथा मर्मतले धेरै यात्रु हैरानीमा परेका छन्, अबदेखि त्यस्तो हैरानी भोग्नु नपरोस् भनेर विमानस्थल नियमित सञ्चालनका लागि प्रयास गरिरहेका छौँ”, पौडेलले भने । 

दुई दशकभन्दा लामो समयदेखि प्राय बन्द अवस्थामा रहेको विमानस्थल सञ्चालनका लागि विमान कम्पनीहरू तयार नभएपछि उक्त नगरपालिकाले यात्रुको सङ्ख्याका आधारमा कम्पनीलाई वित्तीय सुरक्षाको प्रत्याभूति दिलाएकाले उडान भर्न तयार नेपाल एयर र तारा एयर पुनः तयार भएका हुन् । नगर प्रमुख जनक पौडेलले जानकारी दिए ।  रासस




प्रतिक्रिया