'राजधानी' को समाचारले मृत्युवरण गरेको दिन! 

/assets/plugins/bower_components/fileman/Uploads/post_images/October/News_Fired.jpg

पेशाले पत्रकार। राति अबेरसम्म समाचारमै खेलिरहने दैनिकी छ। तर पनि, राति मैले आराम लिएको समयमा आफूबाहेकको विश्वमा के भयो होला भन्ने जान्न एकाबिहानै पत्रपत्रिकामा आउने र रेडियोले दिने समाचार नपढी, नसुनी दिनको शुरुवात नै हुँदैन। 

१७ असोज बिहान तिनै पत्रपत्रिकामा आएका समाचारमा आँखा दौडिँदै थिए। समाचार आफ्नै प्रदेशको विषयमा भएकाले खुब चासोका साथ पढियो। शायद समाचारका सिद्धान्तमध्येको  'निकटता' ले पनि काम गरेको हुनुपर्छ। समाचार पाठकसँग जति निकट हुन्छ, त्यति नै चाखपूर्वक पढिन्छ भन्ने सिद्धान्त मेरो हकमा पनि लागू भयो होला शायद।

समाचारपछि सामाजिक सञ्‍जालका भित्तामा आँखा दौडाउँदै गएँ, अचानक एक ठाउँमा आँखा टक्‍क रोकिए। मन चसक्क भयो। लेखिएको थियो, 'एकाबिहानै प्रदेश-७ को राजधानीका विषयमा समाचार प्रकाशित भएपछि कान्तिपुर, नागरिक र अन्नपूर्ण पोस्ट जलाइए।' साथमा तस्बिर पनि थियो, पत्रिकाहरू दनदनी जलेर धुवाँको मुस्लो बनेर उड्दै गरेको।

प्रदेश-७ मा करिब दुर्इ सातादेखि प्रदेश राजधानीको विषयमा निकै चर्चा भइरहेको छ। केही दिनअघि नेकपाको दुर्इ तिहाइ बहुमतले गोदावरी प्रदेश राजधानी र प्रदेशको नाम सुदूरपश्चिम 
राख्ने निर्णय गर्‍यो। त्यसविरुद्ध कांग्रेस उर्लियो। गोदावरी राजधानी बनाइनु हुँदैन भन्ने राजनीतिक मुद्दा मात्रै हो भनेर त्यसलार्इ कांग्रेसी मुद्दाको बिल्ला भिराइयो।

त्यसलार्इ राष्ट्रिय दैनिक पत्रपत्रिका कान्तिपुर, नागरिक, अन्नपूर्ण पोस्ट र नयाँपत्रिकालगायतले गोदावरी राजधानी तोकिनु विभिन्न कोणबाट गलत हो भन्ने आशयका समाचार प्रकाशित गर्दै आएका थिए। 

उनीहरूले गोदावरी चुरेको मुनि पर्ने भएकाले पर्यावरणीय हिसाबमा, सुदूरपश्चिमको धार्मिक स्थल भएकाले फोहोर, प्रदुषण बढ्ने, धार्मिक महत्व घट्ने, जंगली जनावर बाघलगायतको बासस्थान भएकाले, त्यहाँको जंगल फँडानी गर्दा बाढी पहिरोको थप जोखिम हुने र त्यसमुनिको भूभाग मरूभूमि हुनेजस्ता एकदमै तार्किक विषयमा विषयविज्ञहरूको रायसहितका समाचारहरू प्रकाशित भइरहेका थिए। तर, एकथरि जत्था, जसले विभिन्न स्वार्थका लागि गोदावरीलार्इ राजधानी बनाइनुपर्छ भन्यो। तिनै जत्थाले १७ असोजमा राष्ट्रिय दैनिक पत्रिकाहरू जलाए। आफूले विभिन्न चरणमा काम गरेको र प्रत्यक्ष-परोक्ष रूपमा जोडिएका समाचारपत्रहरू जले। सहकर्मीहरूले लेखेका समाचारहरू खरानी बने। 

मनमा अनायास अनेकथरी कुराहरू खेल्न थाले। मन बिथोलियो। सोचें, 'आखिर निर्जीव कागजमा पोतिएका रंग रूपी अक्षरको के दोष थियो?' पत्रिकाभरि राजधानीको विषयका समाचार मात्रै त थिएनन्, देशभरका घटना, दुर्घटना तथा सरकारका राम्रा-नराम्रा पक्ष, बेथिति र विसंगतिका कुराहरू पनि थिए।

 के यी विषयमा जनताले सूचना पाउनु गलत हो? 

हामी २१ औं शताब्दीको सूचना र सञ्चारको युगमा बाँचिरहेका छौं। जोसँग सूचना छ, त्यो मानिस अहिलेको समयको शक्तिशाली मानिन्छ। तर, यहाँ जनतालार्इ सही सूचना प्रदान गर्ने हकमा प्रतिबन्ध लगाउँदै समाचारहरूलार्इ खरानी बनाइन्छ। समाचार खरानी मात्र भएनन्, एक जना पत्रकारको दिनभरको मिहिनेत खरानी भयो, उसको कलमलार्इ खरानी बनाइयो र 
राज्यको चौथो अंगलार्इ खरानीको खोल ओडाइयो। संविधानको धारा १७ (स्वतन्त्रताको हक) १९ (सञ्चारको हक) र २७ (सूचनाको हक) माथि आक्रमण धावा बोलियो।

बिहान प्रहरीकै अगाडिबाट पत्रिकाहरू खोसेर सडकमा ल्यार्इ खरानी पार्दासम्म पनि सुरक्षाकर्मी र प्रशासनले अनभिज्ञता प्रकट गरे। हामी विकास र समृद्धिका कुरा गरिरहेका छौं। तर, तिनै विकास र समृद्धिवाहक समाचारहरूले हरेक दिन मृत्युवरण गर्नुपरेको छ। सत्यको घाँटी निमोठिएको छ।

समाचारको मृत्यु भएको दुर्इ दिन बितिसकेको छ। तर, दोषी खुल्‍लेआम हिँडिरहेका छन्। हुन त, न्याय हराएको मुलुकमा दैनिकजसो निर्मलाहरूको चित्कार सुन्ने बानी परेर होला शायद, समाचारका हत्यारालार्इ त्यती महत्व नदिइएको। आज समाचार खरानी बन्यो, भोलि समाचार लेख्ने कलम र पर्सी लेख्ने मानिसलार्इ नै केही नहोला भन्न सकिन्न।

हामीले १० वर्ष लामो सशस्त्र विद्रोहलार्इ पार गरेर धेरै अगाडि आइसक्यो। सशस्त्र विद्रोहका हिमायतीहरूले शायद ती दिनहरू सम्झिन पनि चाहन्नन् होला। त्यसैले त 'जनयुद्ध' शब्दलार्इ 
नै नौ डाँडा कटाएको। तर पनि, हरेक दिन देशभरका समाचार बोकेर हातमा राखिदिने ती निर्दोष अखबारहरूलार्इ दिनदहाडै त्यो पनि बीच बजारमै जल्नु परेको छ। कायरहरूले स्वार्थपूर्तिका 
लागि जतिसुकै समाचारलार्इ जिउँदै जलाउँछन्, त्यसविरुद्ध थप धेरै र सशक्त समाचारहरू लेखिनुपर्छ। 

उनीहरूले गरेको निर्णय गलत छ भन्ने बलियो आधार पेश गर्ने र समाचार स्रोत जुटाउन थप ऊर्जा मिलेको छ। कलमहरू काँप्नु हुँदैन, कायरहरू एकदिन आफैं अवश्‍य झुक्नेछन्। 

अब कुनै पनि समाचारले एकाबिहानै जलेर खरानी बन्नु नपरोस्, सरकारले भनेजस्तो विकास र समृद्धिका खातिर।



प्रतिक्रिया