ट्रम्प र किमको सुरक्षामा किन गोर्खाली ?

gorkha_police.jpg

काठमाडौं- १२ जुनमा सिंगापुरको सन्तोसा टापुमा भेटवार्ता गर्दैछन्, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तरकोरियाली नेता किम जोङ–उन । उक्त वार्ताले विश्व राजनीतिमा तरंग पैदा गर्नु स्वाभाविकै हो । 

वार्ताको सुरक्षा व्यवस्था कस्तो होला भन्ने प्रश्न पनि सँगै गाँसिएर आउँछ । चर्चामा आइसकेकै विषय हो, वार्तास्थलको सुरक्षा जिम्मा सिंगापुर गोर्खा प्रहरीलाई दिइँदैछ । 

पहिलो विश्वयुद्धदेखि नै विश्वव्यापी चर्चामा छन्, वीर गोर्खा सैनिक । दोस्रो विश्वयुद्धताका जर्मनीका तानाशाह हिटलरले सार्वजनिक अभिव्यक्ति नै दिएका थिए, ‘यदि मसँग गोर्खाहरू हुन्थे भने संसारको कुनै सेनाले मलाई हराउन सक्दैनथ्यो ।’

सिंगापुर सरकारले तिनै गोर्खालीलाई ट्रम्प–किम वार्ताको सुरक्षा जिम्मा दिँदैछ । र, एक पटक फेरि गोर्खालीको बहादुरी विश्वव्यापी चर्चामा आएको छ । 

भारतीय र बेलायती मात्र होइन, अमेरिकी र फ्रान्सेली सेनामा पनि नेपाली युवा 



सिंगापुरमा सैनिक संगठन छैन । सबै प्रकारको सुरक्षा व्यवस्था प्रहरीले नै हेर्छ । र, नेपाली नागरिक पनि सिंगापुर प्रहरीमा कार्यरत छन् । 

‘दी गोर्खा कन्टिन्जेन्ट’

नेपाली नागरिक रहेको विभिन्न मुलुकको प्रहरीलाई ‘गोर्खाज प्रहरी’का रूपमा चिनिन्छ । सिंगापुर प्रहरी बलमा ‘दी गोर्खा कन्टिन्जेन्ट’ स्थापना भएको छ । सन् १९४९ मा स्थापित उक्त कन्टिन्जेन्टको मुख्य दायित्व ‘आतंकवाद प्रतिरोधक बल’ हो । 

संसारका प्रहरी संगठनहरूमा सिंगापुर प्रहरीको स्थान अग्रपंक्तिमा आउँछ । चुस्त सुरक्षा व्यवस्थाका कारण ख्याति कमाएको हो, उक्त प्रहरीले । त्यसको गोर्खा कन्टिन्जेन्टमा दुई हजारभन्दा नेपाली युवा कार्यरत छन् । 

‘दी गोर्खा रिजर्भ युनिट’

ब्रुनाईको सेनामा नेपाली नागरिक भर्ना हुन थालेको सन् १९७४ देखि हो । 

ब्रुनाईमा ‘दी गोर्खा रिजर्भ युनिट’मा सन् १९७४ मा स्थापना भएको हो । उक्त युनिटमा करिब दुई हजार नेपाली छन् । तीमध्ये अधिकांश बेलायती गोर्खा सेनाबाट अवकाशप्राप्त सिपाही हुन् । 

खासगरी ब्रुनाईका सुल्तान, शाही परिवार र राज्यका महत्वपूर्ण संरचनाको सुरक्षामा सोही एकाइका सैनिक तैनाथ गरिएको छ । 

संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा समेत उक्त युनिट परिचालित हुने गरेको छ । 

गोर्खा सेना र प्रहरीलाई अन्तर्राष्ट्रिय जगतमा सबल, सक्षम, साहसी र इमानदारिताको पर्याय मानिन्छ । 

अमेरिका र फ्रान्सेली सेनामा पनि

ब्रिटिस र भारतीय गोर्खा सेनामा नेपाली नागरिक भर्ना हुन थालेको दुई सय वर्ष नाघिसक्यो । बेलायतकी महारानी एलिजाबेथ द्वितीया मात्र होइन, बकिङघम दरबारको सुरक्षा नै गोर्खा सेनाले गर्दैै आएका छन् । ब्रिटिस गोर्खा सेनामा अहिले करिब तीन हजार नेपाली कार्यरत छन् । 

भारत स्वतन्त्र भएपछि ब्रिटिस गोर्खा सेनाका रेजिमेन्टहरू बाँडिएका थिए । त्यसको निरन्तरताका रूपमा भारतीय गोर्खा सेनामा अहिले करिब ४१ हजार नेपाली कार्यरत छन् । उक्त संख्याको करिब ३२ प्रतिशत भारतीय नेपाली छन् । 

तर, त्यसभन्दा महत्वपूर्ण विषय नेपाली नागरिक अहिले अमेरिकी र फ्रान्सेली सेनामा पनि कार्यरत छन् । 

अफगानिस्तान युद्धपछि अमेरिकी सेनामा पनि नेपाली नागरिकलाई भर्ना लिन थालिएको हो । खासगरी, अवैध रूपमा बसिरहेका नेपालीहरूका लागि ‘मिलिटरी एक्सेसन भाइटल टु नेचुरल इन्ट्रेन्ट’ (माभ्नी) कार्यक्रम अमेरिकी सरकारले ल्याएको थियो । 

सन् २००८ देखि लागू भएको उक्त कार्यक्रमअन्तर्गत् हालसम्म करिब तीन सय नेपालीले सैनिक सेवा गरिरहेका छन् । त्यसरी भर्ना भएका नेपालीलाई अमेरिकी सेनाले इराक र अफगानिस्तानमा तैनाथ गरेको थियो । सेनामा भर्ती भएर सेवा पुर्‍याएवापत उनीहरूलाई अमेरिकाको नागरिकता दिइने गरेको छ ।

१२ वैशाख ०७२ को विनासकारी भूकम्पपछि अमेरिकी सेनामा कार्यरत नेपालीहरू नेपालका कुना–कुनासम्म पुगेर उद्धार र राहतमा जुटेका थिए । 

पछिल्ला वर्षमा फ्रान्सेली सेनामा पनि नेपालीहरू सेवारत छन् । उनीहरूको अलग्गै टुकडी बनाएर परिचालन गर्ने गरिएको छ । फ्रान्सेली सेनाले तयार पारेका त्यस्ता टुकडीहरूमा विदेशी नागरिकलाई प्राथमिकताका साथ भर्ना लिने गरेको छ । 

संख्या यकिन नभए पनि करिब साढे तीन सयको संख्यामा नेपाली हुन सक्ने अनुमान जानकारहरूको छ । 

भारत र बेलायतबाहेकका मुलुकमा सैन्य भर्नाका लागि द्विपक्षीय सम्झौता भएको छैन । त्यसैले अमेरिकी र फ्रान्सेली सेनामा भर्ती लिनु अवैध हो । फ्रान्सले आतंकवादविरुद्धको लडाईंमा पनि विदेशी नागरिकलाई पठाउने गरेको छ । नेपालसहित एक सय ४० भन्दा मुलुकका ९० हजारभन्दा बढी त्यस्ता टुकडीमा भर्ना भएर फ्रान्सेली सेनामा कार्यरत छन् । 




प्रतिक्रिया