राजपाले प्रदेश २ को सरकार नछोड्ने

RJPN_111.jpg

काठमाडौं- राष्ट्रिय जनता  पार्टी (राजपा) नेपालले प्रदेश नम्वर २ को सरकारबाट अलग नहुने निर्णय गरेको छ। 

पार्टी अध्यक्ष मण्डलको बिहिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बसेको बैठकले लालबाबु राउतको नेतृत्वको राजपा नेपाल सम्मिलित २ नम्वर प्रदेश सरकारलाई राजपा नेपालको समर्थन, सहयोग र सहभागिता निरन्तर रहने निर्णय गरेको हो। 

बैठकले प्रदेश नं २ को सरकारका बिरुद्ध कुनै पनि प्रकारले टिप्पणी नगर्न सम्पूर्ण पार्टी पंक्तिलाई निर्देशन दिएको महासचिव केशव झाले नेपालसयमलाई बताए। उनले भने ‘मधेश आन्दोलनको भावना, मधेशी जनताको चाहना एवम् मधेशी जनताको जनादेश समेतलाई ध्यानमा राख्दै पार्टीले राउत नेतृत्वको सरकारलाई समर्थन गरेकोले सरकारमा सहभागी भएर अगाडि बढ्ने निर्णय अध्यक्ष मण्डलले गरेको हो।’

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा संघीय समाजवादी फोरम नेपालको सहभागिताको घटनलाई अध्यक्ष मण्डलको बैठकले गम्भिर ध्यानाकर्षण भएको निष्कर्ष निकालेको अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तीमा जनाईएको छ। 

एक सय ७ जना सांसद भएको प्रदेश नम्वर २ मा राजपा र संघीय समाजबादी फोरम मिलेर सरकार निर्माण गरेका छन्। दुवै दलको गरी सो प्रदेशमा ५४ जना सांसद छन् । संघीय सरकारमा फोरम अध्यक्ष उपेन्द्र यादब नेतृत्वमा दुई जना सरकारमा सहभागी भएपछि २ नम्वर प्रदेशमा पनि सरकारको संरचना परिवर्तन हुने अड्कलबाजी गरिएको थियो।

फोरम  संसदीय दलका नेता राउतलाई मुख्य मन्त्रीमा समर्थन गरेर सरकारमा सहभागी राजपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेसँगै २ नम्वर प्रदेशको सरकार परिवर्तन हुने सम्भावना तत्काल टर्ने देखिएको छ । 

राउत नेतृत्वको सरकारलाई नेपकाले दिएको समर्थन फिर्ता लिइसकेको छ। संविधान बमोजिम सरकार निर्माणमा समर्थन दिएको दल राजपाले समर्थन फिर्ता नलिने भएपछि राउतले राजिनामा नदिएमा नेकपा र फोरमको गठबन्धन २ नम्वर प्रदेशको सरकार परिवर्तन सहज नदेखिएको हो। 

राजपा अध्यक्षमण्डलका सदस्य शरत्सिंह भण्डारीवाहेक सबैको उपस्थिति थियो। 
 



प्रतिक्रिया