किताबको वास्‍ना डिजिटलमा कहाँ ?

Book_fair.jpg

काठमाडौं– पेटको भोक पूरा नभइरहेको देशमा पठनको भोक पनि उत्तिकै मौलाइरहेको छ । आखिर पेट र पठनको भोकमा असन्तुलन कसरी भयो ? कृत्रिम भोकले कसरी राज्य गर्दै आइरहेको छ त ? 

पत्रकार केदार शर्माले लेखक हरि शर्मासामु तेस्र्याएको प्रश्न हो, माथिको । शर्माको जवाफ थियो, ‘अभिव्यक्ति सबैभन्दा महत्वपूर्ण कुरा हो ।’शर्मा यसलाई दार्शनिक र सैद्धान्तिक प्रश्न पनि ठान्छन् । पूर्वीय दर्शनबाट हेर्दा शिवको नादबाट शब्द उत्पत्ति भएको हो । शब्द र संगीतबाट पुरातात्विक गुफा र ढुंगामा अक्षर देखिन्छन् । चराचुरुंगीदेखि अनेक आवाजमा स्वर पाइन्छ । शर्मा भन्छन्, ‘स्वरबाटै ज्ञानको भोक जागेको हो ।’

आवाजको सृष्टि हुन्छ, बच्चा जन्मिनेबित्तिकै । त्यसैले मानव सृष्टिसँगै ज्ञानको भोक आएको ठहर छ, शर्माको । उनी जोड्छन्, ‘अझै विकसित भएर दृष्यमार्फत् पनि ज्ञान बटुलिरहेका छौं ।’

‘म खानका लागि बाँच्छु’ केदार शर्मा जोड्छन् । र, बुकाहोलिक्सकी सगुना शाहलाई प्रश्न तेस्र्याउँछन्, ‘करिअर निर्भर भयो समाज । के पढ्दा जीवनयापन गर्न सकिन्छ ? कसरी पठनको भोकलाई तृप्त पार्न लागिरहेका छन् ?’ 

शाह पठनको भोक साधारण पाठक भएर पढेमा तृप्त हुने देख्छिन् । भन्छिन्, ‘अंक कति ल्याउने भन्नेतिर जोड गरिरहेको छ, अहिलेको पठनले । यस्तो भयो भने पठनमा वितृष्णा आउन सक्छ ।’

नेपाली समाजले चार बजे उठेर पढ्यो भने ज्ञान बढी पाइने बताउँथ्यो । अहिलेका युवा राति पढेर बिहान सुत्छन् । ज्ञान प्राप्त गर्न जतिखेर र जहाँ पनि पढ्न सक्ने हरि शर्माको बुझाइ छ ।

प्राध्यापक केदारभक्त माथेमालाई पुस्तक प्रदर्शनीमा एक बालकले सोधेछन्, ‘सेतै कपाल फुलेकाले पनि यत्रो पुस्तक पढ्नुपर्छ ?’ माथेमाले जवाफ दिएछन्, ‘पढ्ने मान्छेले मेरो उमेरमा पनि पढ्छ र नपढ्नेले तिम्रो उमेरमा पनि पढ्दैन ।’

माथेमाका कुरा सम्झँदै हरि भन्छन्, ‘दर्शन र समाज विज्ञान बुझ्न हरेक किताब पढ्नु आवश्यक छ ।’

नेपाली समाजमा पढ्ने भनेको जागिर खानका लागि मात्र भएको बुझाइ छ । पढेपछि त्यसअनुसारको काम गर्न परिवार र समाजले दबाब दिन्छ । 

पढेकाहरू सुकिलामुकिला देखिने सामाजिक मान्यता नै छ । तर, अझै पनि हाम्रो समाजले पठनले ज्ञान बढाउँछ भन्ने सोच्दैन । केदार शर्मा जोड्छन्, छिमेकी भारतको पश्चिमबंगाललाई । 

त्यहाँ मोटो चस्मा लगाउनेहरू नै पढन्ते ठहरिन्थे । पढन्ते बंगालीहरू देखेर स्वयम् केदार लोभिएका थिए । ‘पढन्तेहरूले समाजलाई के लाभ दिन्छन् ?’ केदार प्रश्न तेस्र्याउँछन् । 

‘पढ्ने बानीले समाजलाई हेर्ने दृष्टिकोण र आफूलाई बुझ्न सक्ने बनाउँछ,’ हरि शर्मा भन्छन् । शाह थप्छिन्, ‘आफूभित्रको क्षमताको विकास गराउँछ ।’ 

शाहलाई अक्सर प्रश्न हुन्छन्, ‘कस्ता खालका किताब पढ्ने ?’ प्रश्नकर्तालाई उनी केही पुस्तक सिफारिस गर्छिन् । किताबले विचारधारा बदल्ने मात्र नभई ‘प्यासन’ पनि बढाउने उनको धारणा छ । 

माइकल फुकोको आइडिया सम्झँदै हरि भन्छन्, ‘किताब खोलिसकेपछि लभ र लेबर दुवै हुन्छ रे । किताबले होल्ड गर्न सक्नुपर्छ ।’ त्यसैले ‘प्ले’ पनि महत्वपूर्ण देख्छन्, उनी । 

एक÷दुई जनाले पढेर हुँदैन, सामूहिक पठनको विकास भएको छ कि छैन ? एउटा मान्छे ध्यानमा मग्न हुन सक्छ । ‘संगत शरणनम् गच्छामी’ हुनु आवश्यक देख्छन्, हरि । 

उनी भन्छन्, ‘पठन र पाठकको संस्कृति समाजसँग जोडिनुपर्छ । र, जोड्ने कसरी भन्ने चुनौती छ ।’ 

केदार जोड्छन्, पठन संस्कृतिलाई कसरी प्रबद्र्धन गर्ने ? शाह भन्छिन्, ‘कथा सुनाउन छोडेर अभिभावकले मोबाइल थमाइदिएका छन् ।’ यसमा अभिभावकको कमजोरी देख्छिन्् उनी । 

कथा सुनाउँदा पठन संस्कृतिको विकास सानैदेखि आउन सक्ने तर्क गर्छिन् । र, भन्छिन्, ‘सानो सर्कलबाट विकास हुँदै जाने हो भने पठन संस्कृतिको विकास हुनसक्छ ।’

जंक रिडिङ

‘जंक रिडिङ हुन्छ कि हुँदैन ?’ हरिलाई केदारको प्रश्न । 

‘तोतामैनाजस्ता कथाहरूबाट पढ्न थालिएको समाज हो । वर्षको एकदिन स्वस्थानी पढ्न थालेपछि पठन अगाडि बढेको थियो,’ हरि भन्छन्, ‘के पढ्ने, के नपढ्ने भन्ने कुरामा सचेत हुन आवश्यक छ ।’

बजारले नै पाठकलाई निर्देशन गरिरहेको देख्छन्, हरि । उनको भनाइमा बजारले निर्देशन गर्ने पठनले जंक रिडिङ हाबी हुन्छ ।

राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला स्वदेश फर्किएका थिए । जेलबाट छुटेपछि उनी चाबहिलस्थित निवासमा भेटिन्थे । बीपीले सबै कुराको जवाफ दिन्छन्जस्तो लाग्थ्यो, उनी र उनको समूहलाई । 

बीपीले भने उनीहरूलाई भन्ने गर्थे, ‘तपाईं साहित्य पढ्नूस् । साहित्यले संवेदनशील बनाउँछ ।’ बाँच्नका लागि पनि किताब पढ्नुपर्ने हरिको तर्क छ । 

कुनै पनि धर्म, भाषा र चलन बुझ्न त्यो समाजको ग्रन्थ या किताब पढ्नुपर्ने शाहको भनाइ छ । नयाँ पाठक पढ्दै जाँदा आफैं किताब छान्न सक्ने हुने उनको तर्क छ । 

‘बजारमा पुस्तकहरू गुणात्मक छन् कि छैनन् ?’ केदारको प्रश्नमा हरि भन्छन्, ‘सेकेन्ड ह्यान्ड किताब हिप्पी हुँदा पनि भेटिन्थ्यो । अहिले प्राज्ञिक किताबहरू बढेका छन् । बुक टाइटल बढेका छन् । बुक सपवालाहरू पाठकको नाडी छामेर किताब मगाउँछन् ।’

कुनै जमानामा पुस्तक पसल र पुस्तकालयमा साथीभाइ भेट्ने चलन थियो । किताबका पाना पल्टाउदै संवाद चल्थ्यो । ‘त्यो चलन हराउँदै गयो,’ हरि सम्झिन्छन्, ‘मेरा साथीहरूसँग प्रायः मण्डला बुकजस्ता सपहरूमा भेट्थें ।’

किताबलाई ज्ञानको बैंकमा छिर्ने पासपोर्ट ठान्छन्, केदार । ‘विश्व बजारमा आउने किताबलाई नेपालीहरूले कसरी पढ्न सकिन्छ ?’ प्रश्न तेस्र्याउँछन् । 

पुस्तक समीक्षाको पाटो सबैभन्दा कमोजर पाटो मान्छन्, हरि । अनुवाद संस्कृति विस्तारै बढ्दैछ । अंग्रेजी र नेपाली जोड्ने साँघु नै अनुवादलाई मान्छन् उनी ।

‘अनुवादले बुझ्न सहज बनाउँछ र इन्टरलाइज गर्न ठूलो भूमिका निर्वाह गर्छ,’ उनी भन्छन् । 

किताबको मृत्यु भइरहेको देख्छन्, केदार । प्रविधिको विकासले किताब पढ्ने सोख पनि हराउँदै गएको छ । प्रविधिले पठन संस्कृतिमा कस्तो प्रभाव पारेको छ त ?

हरि शर्मा भन्छन्, ‘किताबका पानामा पाइने वास्ना प्रविधिमा पाइँदैन । प्रविधि कसैको कम्पनी हो र त्यो बन्द हुन सक्छ । र, बच्छ केवल श्रुती परम्परा ।’ 

उनको भनाइमा अक्षर आउनुभन्दा अघि ध्वनी आएको थियो । त्यसैले, प्रविधिले पठन संस्कृति हरायो भने ध्वनी बचाउनुपर्ने उनी बताउँछन् । 

अन्तर्राष्ट्रिय पाँचौं दिन ‘पठनको भोक’ शीर्षकमा बहस गर्दै थिए, हरि शर्मा, केदार शर्मार सगुना शाह । 
 



प्रतिक्रिया