सम्झनामा ‘कामेश्वर-कुशेश्वर’- निधि एकाएक भावविभोर भए

yadukuha_nidhi.jpg

जनकपुरधाम- धनुषाको हडबाडामा नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि भावुक देखिन्थे। २०२९ साल असोज १ गते तत्कालीन पञ्चायती शासन उत्कर्षमा रहेकोबेला प्रहरीको गोली लागेर निधन भएका धनुषा हडबाडाका कामेश्वर मण्डल र मुरीवाका कुशेश्वर यादवको शालिक अनावरण गर्न पुगेका निधि भावविभोर भएको सहजै अनुमान गर्न सकिन्थ्यो।

निधि तथा कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानालगायतका नेता जनकपुरस्थित रारा बहुमुखी क्याम्पसमा विद्यार्थी राजनीति गरिरहेका बेला विद्यालयमा अध्ययन गरिरहेका कामेश्वर-कुशेश्वरलाई प्रहरीले गोली हानेको थियो।

निधि, ढुंगाना, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रिय सदस्य महेन्द्र यादव, रामकृष्ण यादवलगायतका नेताहरु  कामेश्वर-कुशेश्वरको शालीक अनावरण कार्यक्रममा पुगेका थिए।

असोज महिना भर्खर लागेको थियो। असोज लागेपछि हरेक नेपालीको मनमा दशैँको रमझम शुरु हुन्छ । तराई मधेशमा असोज शुरु हुनेवित्तिकै पर्वहरूको लहरनै शुरु हुन्छ। दशैँ, तिहार, छठ जस्ता महत्वपूर्ण पर्वहरुले असोज महिनालार्इ चाडैचाडैको पर्वका रुपमा चिनाउँछ । यी पर्वहरुमा बुढापाखा भन्दा पनि घरका स-साना नानी, युवाहरु भन बढी रमाउने गरेका हुन्छन्।

आजभन्दा ४६ वर्षपहिले दशैं आउन लाग्दा खुशी भएका थिए धनुषा हडबाडाका कामेश्‍वर मण्डल र मुरीवाका कुशेश्वर यादवलगायत उनका साथीहरु। तर, कामेश्वर र कुशेश्वरले त्यस वर्षपछि कहिल्यै दशैँ मान्न पाएनन्।

२०२९ असोज १ गते कामेश्वर र कुशेश्वर तत्कालीन पञ्चायती सरकारको प्रहरीले गोली चलायो। र, कामेश्वर-कुशेश्वरको गोली लागि घटनास्थलमै मत्यु भयो। तत्कालिन पञ्चायती सरकारले नयाँ शिक्षा योजना लागू गरेको थियो। जसको विरोधमा थिए, त्यतिबेलाका राजनीतिक दलहरु।

सरकारले ल्याएको नयाँ शिक्षा एकतर्फी लागू गरिएको भन्दै कांग्रेस र वामपन्थी दलहरु विरोधमा थिए, उनीहरुले नयाँ शिक्षा योजनाको विरोध गर्दै राजनीतिक कारणले जेलमा परेका कार्यकर्ताको रिहाइको माग गरेका थिए ।

राजनीतिक कार्यकर्ता रिहा गर्न पहिलो पटक माग उठेको थियो त्यतिबेला जनकपुरस्थित रारा बहुमुखी क्याम्पसका स्ववियू सभापति थिए आनन्द ढुंगाना।

सरकारले लागू गरेको शिक्षा योजनाको विरोधमा विद्यार्थीले आन्दोलन गर्ने योजना बनाए । र, आन्दोलनको नेतृत्व गर्ने जिम्मेवारी नेविसंघका ढुंगाना, अनेरास्ववियूका ईश्वर पोखरेल र नेकपा मानन्धर समूहबाट पुहुज नारायणले लिए । नेकपा नेता  पोखरेल अहिले रक्षामन्त्री छन्।
https://www.nicasiabank.com/

ढुंगाना, पोखरेल र पुहुजले जनकपुरमा आन्दोलनको कमाण्ड सम्हाले भने गणेश तिवारी, रुपनारायण मण्डल लगायतका व्यक्तिहरुलाई यदुकुहाको कमाण्ड दिइयो ।
आन्दोलन शुरु भए लगत्तै ढुंगाना, कांग्रेसका उपसभापति विमलेन्द्र निधि जनकपुरबाट पक्राउ परे । ढुंगानालाई काठमाडौं र निधिलाई सिन्धुली जेल पठाइयो।

आफूहरु जेल परेपनि आन्दोलन नरोकि झन द्रूतगतिमा अघि बढेको सझन्छन् कांग्रेस नेता ढुंगाना। तत्कालीन सरकारले लागु गरेको नयाँ शिक्षा योजनाको विरोधमा मुलुकभर आन्दोलन चर्कियो ढुंगाना भन्छन, ‘यदुकुहामा हजारौं विद्यार्थी जम्मा भए, सरकारी निर्णयको विरोधमा।’

धवौली, मुरिवालगायतका क्षेत्रबाट ठुलो संख्यामा विद्यार्थीहरु जम्मा भएका थिए प्रहरीको गोलीबाट त्यतिबेला घाइते भएका प्रदीप साह । साहले भने,‘म ९ कक्षामा पढ्दै थिएँ । कामेश्वर ८ र कुशेश्वर ७ मा थियो । यदुकुहा विद्यालयमा जम्मा भई हामी नारा जुलुसगर्दै अगाडी बढ्यौं ।’ ‘प्रहरी चौकी नजिक पुग्ने बित्तिकै प्रहरीले अचानक हामी माथी गोली चलायो , भागामभाग भयो, मेरो खुट्टामा गोली लाग्यो,’ साहले थपे,‘कामेश्वर र कुशेश्वरको टाउकोमा गोली लागेको थियो । दुबैजनालाई ढलेको देखेँ।’

लोकतान्त्रिक आन्दोलनमा कामेश्वर–कुशेश्वरले दिएको योगदान अविश्मरणीय रहेको कांग्रेस उपसभापति निधि बताउँछन् । ४६ वर्ष अगाडी  कामेश्वर–कुशेश्वरसहितका व्यक्तिहरुले दिएकै योगदानका कारण मुलुक अहिले लोकतन्त्र हुँदै गणतन्त्रसम्म प्रवेश गरेको उनले बताए । प्रदेशको मन्त्रीलाई विदा दिलाउन धर्ना दिनुपर्ने अवस्था आउनुले पनि वर्तमान सरकार प्रदेशलाई अधिकार सम्पन्न बनाउन नचाहेको प्रष्ट भएको निधिले बताए।

शहीद कामेश्वर-कुशेश्वरको स्मृतिमा यदुकुहामा कांग्रेसले सोमबार आयोजना गरेको स्मृतिसभामा बोल्दै निधिले भने,‘उहाँहरुको त्याग र बलिदानलाई कसैले बिर्सन हुँदैन।’ वहुदलीय व्यवस्था जनताको लागि रहेको बुझरै उहाँहरुले आफ्नो बलिदानी दिएको चर्चा गर्दै निधिले मुलुकले कहिले बिर्सन नहुने जिकिर गरे।

सरकारतर्फ लक्षित गर्दै निधिले कर्मचारीतन्त्र, स्वतन्त्र प्रेससहित सर्वसाधारण जनतालाई सरकारले त्रसित गर्नतर्फ उद्त रहेको आरोप लगाए। कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रिय सदस्य आनन्दप्रसाद ढुंगाना, रामकृष्ण यादव, प्रदेश संसदीय दलका नेता रामसरोज यादव, जिल्ला सभापति महेशशंकर गिरीलगायतका नेताहरुले कांग्रेसले क्रान्तिकारी आन्दोलन गरेपनि अहिंसामा विश्वास राख्ने पार्टी रहेको बताए।

धनुषाको हडवाडास्थित कामेश्वरको समाधिस्थल पुगी फूलमाला अर्पण गरेर सम्झेका छन्। नेपाली कांग्रेसले हरेक वर्ष १ असोजमा कामेश्वर–कुशेश्वरको स्मृति दिवस मनाउँदै आइरहेको छ।

प्रतिक्रिया