एनजीओको कार्यक्रममा रमाउँदै प्रदेश २ का मुख्यमन्त्री र मन्‍त्रीहरु

NGO_Program_Province_2.jpg

जनकपुरधाम- प्रदेश २ को राजधानी जनकपुरमा एक गैरसरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्रीदेखि मन्त्रीपरिषदका आधाभन्दा बढी सदस्य सहभागी भएका छन्। प्रदेश २ मा मुख्यमन्त्री, मन्त्री र राज्यमन्त्री गरी जम्मा १३ जना सदस्य छन्।

आआरएन नामक गैरसरकारी संस्थाले बिहिबार जनकपुरमा आयोजना गरेको एक कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतदेखि मन्त्रीपरिषदमा प्रतिनिधित्व गर्ने सात जना सदस्य सहभागी भए। गैरसरकारी संस्थाले सञ्चालन गरेको सामुदायिक विकास कार्यक्रम अन्तर्गत आफ्नो संस्थाको प्रगति समीक्षा कार्यक्रम राखेको थियो।

कार्यक्रममा मुख्यमन्त्रीका साथै भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनल र सामाजिक विकासमन्त्री नवलकिशोर साह सहभागी थिए। उनीहरुसँगै राज्यमन्त्री सरोजसिंह कुशवाहा, योगेन्द्रराय यादव, अभिराम शर्मा र डिम्पल झा पनि कार्यक्रममा सहभागी भएका थिए। कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री सुरेश मण्डललाई निमन्त्रणा गरिएपनि उनीहरु अनुपस्थित थिए।
https://www.nicasiabank.com/

एक गैरसरकारी संस्थाको प्रगति समीक्षासम्बन्धी कार्यक्रममा मन्त्रीपरिषदका अधिकांश सदस्य सहभागी भएपछि नकारात्मक सन्देश गएको राज्यमन्त्री मण्डलले बताएका छन्।

उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री मण्डलले सामाजिक सञ्जाल फेसबुकमा असन्तुष्टि जनाउँदै लेखका छन् ‘एउटा सानो कार्यक्रममा पुरा सरकारको उपस्थिति किन चाहियो?’ मण्डलले सामाजिक सञ्जालमा अभिव्यक्त गरेको यो धारणा अहिले चर्चाको विषय बनेको छ। कुनै एनजीओको कार्यक्रममा मन्त्रीमण्डल नै सहभागी हुने शैली ठिक नभएको उनले बताए।

प्रतिक्रिया