भारतबाट भाडामा ल्याएर जनकपुर-जयनगर रेल चलाउने तयारी

Rail_123_station.jpg

जनकपुरधाम- सन् २०१८ भित्र जनकपुर-जयनगर रेल चलाउने सरकारको तयारी छ। रेल सञ्चालन गर्ने समयसीमा नजकिंदै गर्दा निर्माण कार्यलाईसमेत तीब्रता दिइएको छ। जयनगरदेखि धनुषाको कुर्थासम्म रेल सञ्चालन गर्न लिक ओछ्याउने काम लगभग पुरा भइसकेको छ। तर, लिकमा गुड्ने इन्जन र बोगी (डब्बा) सम्बन्धमा अझै टुंगो लाग्न सकेको छैन्।

पहिलो चरणमा जनकपुर हुँदै कुर्थासम्म रेल गुडाउने गरी तयारी भइरहँदा इन्जन र बोगीको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा निक्र्यौल हुन नसकेको हो। रेलमार्गमा गुड्ने इन्जिन र बोगी व्यवस्थापन गर्ने विषयमा विभागमा गम्भीर छलफल चलिरहेको बताउँछन् रेलवे विभाग साइट कार्यालय जनकपुरका इन्जिनियर विनोद ओझा।

ओझाले जनकपुर-कुर्था रेल खण्डमा इन्जन र बोगी व्यवस्थापन गर्ने विषमा विभागमा तीब्र रुपले छलफल चलिरहेको जानकारी दिए। साइट प्रमुख ओझाका अनुसार भारतीय पक्षसँग लिज वा आफैं खरिद गरेर रेल सञ्चालन गर्ने दुवै विषयमा छलफल चलिरहेको छ। यद्यपी यस विषयमा निर्णय हुन नसकेको उनले बताए।

‘दुबै पक्ष गहन छलफलमा जुटेको छ,’ नेपाल समयसँग कुरा गर्दै ओझाले भने,‘रेल सञ्चालन गर्ने विषयमा नेपाल र भारतीय पक्षबीच विभागमा छलफल चलिरहेको छ। भाडामा लिने वा आफै खरिदगर्ने विषयमा उहाँहरु छिट्टै कुनै निष्कर्षमा पुग्नु हुनेछ।’

आफैं खरिद गर्न नसकेपनि तत्काल लिजमा लिएर भएपनि रेल सञ्चालन हुने ओझाको दाबी थियो। यस वर्षको अक्टोबरसम्म निर्माणतर्फका सम्पूर्ण कार्य पुरा गरेर डिसेम्बरबाट रेल सञ्चालन गर्ने हाम्रो तयारी छ, ओझाले भने,‘खरिद गर्न नसकिए भाडामै लिएर पनि सन् २०१८ भित्र रेल गुड्छ, ढुक्क हुनुस।’

तत्काल रेल खरिद गर्न सम्भव पनि नरहेको उनको भनाइ छ।  ‘रेल निर्माण गर्ने नजिकको हाम्रो छिमेकी मुलुक भारत हो। रेल खरिदगर्न शुरुमा अर्डर गर्नुपर्ने हुन्छ। र, अर्डर गरेको एक डेढ वर्ष पछिमात्र निर्माण भएर नेपाल आउने छ,’ उनले तर्क गरे,‘ आफैं खरिद गर्दा प्रक्रिया लामो हुने भएकोले तत्काल लिजमा लिने सम्भावना संभावना बढी छ।’

https://www.nicasiabank.com/
रेल विभाग यात्रुको चाप हेरेर रेल गुडाउने सोचमा देखिएको छ। रेलमा यात्रा गर्ने यात्रुहरुको संख्याको हिसाबले शुरुवाती चरणमा तीनदेखि चारवटा रेल सञ्चालन हुन सक्ने साइट प्रमुख ओझाले बताए। उनका अनुसार एक पटक ८ देखि १० वटासम्म बोगी सञ्चालन गर्ने तयारी छ।

जयनगर-कुर्था रेलमार्गमा अहिले ब्लास्ट कस्ने, क्रसिङ्ग निर्माण, सिगनल जडान, भवन रंगरोगनलगायतका कार्यहरु अहिले तीब्र रुपमा चलिरहेको ओझाले जानकारी दिए। अक्टोबरसम्म सिभिलतर्फका यी सम्पूर्ण कामहरु पुरा भइसक्ने उनले विश्वास व्यक्त गरे।

यसैबीच जयनगर-कुर्था रेल खण्डको आधा मार्गमा रेलको सफल परीक्षण कार्य सकिएको छ। जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरको दुरीमध्ये १७ किलोमिटर रेलको सफल परीक्षण गरिएको हो। पहिलो चरणमा २३ साउनमा भारतको जयनगरदेखि खजुरी स्टेसनसम्म १७ किलोमिटर भारतीय इन्जनसहित ५३ बोगी बोकेर सफल परीक्षण गरिएको थियो। दोस्रो चरणमा खजुरीदेखि दुहबीसम्म ९ किलोमिटर सफल परीक्षण गरिएको छ। अब दुहबीदेखि कुर्थासम्म १७ किलोमिटर लिक परीक्षण गर्न बाँकी रहेको साइट कार्यालयले जनाएको छ।

जनकपुरबाट भारतसम्म पुग्न हजारौं मानिस सबैभन्दा सुलभ यातायातको साधन रेल प्रयोग गर्ने गरेका थिए। तर, ब्रोडगेज निर्माण हुने भएपछि विगत १० वर्षदेखि रेलसेवा बन्द छ। जनकपुरबाट २९ किलोमिटरको दुरीमा रहेको भारतको जयनगरसम्म पुग्ने एकमात्र यातायातको साधन जनकपुर-जयनगर रेलसेवा बन्द भएपछि अहिले जटही सीमाहुँदै यात्रुलाई बस प्रयोग गरेर दोब्बर दुरी हिँड्नु पर्ने बाध्यता छ।

सन् भारतमा शासन गरिरहेको बेला १९२८ मा तत्कालीन अंग्रेज शासकहरुले दुई देशबीच नैरोगेज रेलसेवा सुचारु गरेका थिए। रेलसेवा सञ्चालन गर्नुको उनीहरुको प्रमुख उद्देश्य थियो, नेपालको जंगलबाट काठ दाउरा ढुवानी गर्नुपर्छ। पछि मात्रै यात्री आवतजावत गर्न यात्रुवाहक रेलगाडी सञ्चालन गरिएको बताइन्छ।

सन् १९४० मा तत्कालीन दरभंगा महाराजले नेपाल सरकारको आग्रहमा जयनगरस्थित नेपाली भू-खण्डमा रहेको रेलवे स्टेशन भाडामा उपलब्ध गराएका थिए । दुई देशबीच रेलसेवा सञ्चालन भइरहे सम्म यो भू–खण्ड नेपालले प्रयोग गर्ने दरभंगा महाराज र नेपाल सरकारबीच सम्झौता छ।

प्रतिक्रिया