जंगलबाट बुबा नफर्किएको त्यो पूर्णिमा

Forest_Path.jpg

मेरा बाउको अनुहार स्मृतिमा अलि धमिलो आँउछ। किनभने मेरो बाउले संसार छोड्दा म जम्मा पाँच वर्षको थिएँ। अहिले पनि हरेक वर्ष एकोदृष्ट र पार्वण गरी म बुवाको नाममा म दुई श्राद्ध गर्छु। त्यसमा काँधमा पिण्ड बोकाएपछि गुरुले भन्ने गर्नुहुन्छ एक पटक तपाई बुबाको अनुहार सम्झनुस् । यो शब्दले मलाई निकै सकस महसुस हुन्छ। किनकि  उहाँको अनुहार मलाई ख्याल हुदैन। 

 बुबाको निधन हुँदा उहाँको उमेर ३८ थियो रे । आमाको उमेर ३२ बर्ष थियो । बाउ र आमाको उमेरको अन्तर  छ बर्षको थियो। बाउ ९ बर्षको हुँदा आमालाई माग्न जानु भएको थियो रे । पण्डित र जजमानी गर्ने मेरा मावलीका लागि मेरा बाउ कालो र नपढेको हुनुभयो भनेर फर्काएछन् । 

बाउ अलि झोक्की स्वभावको हुनुहुन्थ्यो रे । त्यसपछि उहाँ सिधै काशी लाग्नुभएछ। दुई वर्ष काशीमा पण्डित्याइँ पढेपछि गाँउ फर्किएर पुराण भन्न थालेपछि मावलीको मन पग्लिएछ । त्यसपछि मावलीले आमाको बिहे बुवासँग गर्न मन्जुर भएछन् । अहिले मेरो आमा ८२ वर्ष हुनुभयो । कहिलेकाँही  हामीलाई यो सन्दर्भ सुनाउनुहुन्छ। 

आमाका अनुसार बुवा हक्की  र जिद्दी स्वभावका हुनुहुन्थ्यो। अन्याय र नाजायज कुरा उहाँलाई पटक्कै मन पर्दैनथ्यो। उहाँले गाउको स्कूलमा मास्टरी समेत गर्नुभयो। तर उहाँले  जिल्ला भरी नै पुराण भन्ने गर्नुहुन्थ्यो । त्यसैले हामीले अहिले सम्म पण्डितको छोरा छोरी, र बुहारी ज्वाई नाती लगायतको संज्ञा पाएका छौ। 

माथि नै मैले उल्लेख गरेँ बाउको अनुहार राम्रोसँग याद आँउदैन। तर मलाई बाउको त्यो अन्तिम घडी भने कहिल्यै बिर्सन सक्दिनँ। दशै पछिको पूर्णिमा।  घास काटन गएको बुबा अबेर सम्म फर्किनु भएको थिएन। त्यसबेला गाँउतिर चलेको चलन अनुसार आमा र दिदीले सुशेला हालेर बुवालाई खोज्न थाल्नु भएको थियो। बुवा नआएको त्यो घटना मेरो मनमा पनि चिसो पसिरहेको थियो।

म सानो भए पनि दिदी र आमाको सुशेला सुन्दै भित्र मैले मेरो बाउ खोजिरहेको थिएँ। आँगनको ढुंगा माथि बसेर मेरा आमा र दिदीको सुसेलामा  हराएको मेरा बाउको जवाफी सुसेला पर्खेर बसिरहेको थिएँ।  किनकि यसरी परिवारको सदस्यलाई बोलाउनु पर्दा वा खोज्नु पर्दा सुसेलाको संकेत हुन्थ्यो।  वस्ती पातलो भएको र एकान्त जंगली क्षेत्रमा त्यसबेलाको यो नै डिजिटल संचार प्रविधि थियो। तर त्यस दिन सधै जबाफ आउने बाउको सुसेली मौन थियो। आमा र दिदीले हालेका सुसेला पहरामा बज्रेर  आफै फर्किन्थे । तर बाउको सुसेली फर्किएको थिएन। त्यसपछि मेरो बालु्लभ मनमा समेत अनेक चीसो पसिसकेको थियो। 



बाउको त्यो जवाफ नफर्किएपछि सबैजना खोजतलासमा लागे। पछि  खोज्दै जाँदा  खोलाको पुल नजिकै बाउ लडेको अवस्थामा भेटिनुभयो। सँगै  भाँचिएको रुखको हाँगा पनि थियो। बाउ अर्ध चेत अवस्थामा हुनुहुन्थ्यो। निकै रगत बगिसकेको थियो। त्यसपछि उहाँलाई सबै दाजु भाई मिलेर उठाए। सातो बोलाउने भन्दै कानमा सुसेला पारे। त्यसको कुनै प्रतिक्रिया थिएन। त्यसपछि घरको दलानमा राखियो। म पनि छेउमा बसेर नै बुवाको गतिविधि नियालिरहेको थिएँ। मलाई फगत मेरा बाउले पछि के गर्लान् भन्ने कुनै सपना देखेको थिइन। बिगतको सम्झान मात्र उनलाई हेरेपछि अगाडि आइरहेको थियो। 

साउनको भेलको उर्लिएको मोलुङ खोल कसैमा तर्ने हिम्मत थिएन। आमाका अनुसार मेरा बाउ कहिल्यै भेलमा रोकिनु भएन। एउटै ढाकरमा राखेर साउनको मोलुङमा  भाई म र दिदीलाई तार्दा हामी रमाउँथ्यो। किन कि पानीमा हामीलाई  रिंगटा लागेको बेग्लै रमाईलो हुन्थ्यो। तर बाउलाई कति दुःख होला भनेर सोच्ने बेला हाम्रो भएको थिएन।

बुबालाई दलानमा राखेका बेला निकै समयसम्म मैले बुवालाई हेरे। तर किन कसरी हेरे भन्ने अहिले पनि थाहा छैन। शायद अब मलाई खोलो कसले तार्ला ,दशैंमा खसी कसले काट्ला भन्ने प्रश्न उठेको थियो कि जस्तो लाग्छ। किनकि बुबा पण्डित भए पनि घरमा खसी काटिन्थ्यो। 

तर मैले त्यो दिन आमसंगै बसेर दलनामा रुनु परेको थियो । त्यसको जवाफमा बेला बेलामा बुवाले देव्रे हातले  आफ्नो छाती मुसार्नु हुन्थ्यो। यसका अर्थ बुवाले आमालाई न रोउ भनेर सम्झाएको हुनुपर्छ।  अर्को दिन बिहानै बुवा बित्नु भएछ। त्यसपछिका घटना याद भएनन् । 

बुवा बितेको घटना याद नआए पनि पछिका दिन कम पीडादायी भएनन्। केटाकेटीमा झगडा गर्दा अरु ‘म त बाउलाई भनिदिन्छु’ भन्थे। तर हामीसँग त्यो हतियार बाँकी थिएन। हामी निरीह र हारेको सीपाही जस्तो अनुभव हुन्थ्यो ।

एकपटक एक जना दाईसँग हामी घुम्दै  हिडेका थियौं। बाँसमा पलाएको ऐजेरु देखेर हामीले छेउको दाईलाई सोधेका थियौ ‘त्यो के हो’। दाईले झोक्किँदै भनेका थिए ‘तेरा बाउको टाउको’। त्यसपछि मैले गएर आमालाई सोधेछु, हाम्रा बाउको टाउको किन बाँसमा झुण्डाएको’। सबै कुरा बुझेपछि आमा बेस्सरी रुनुभयो। त्यसपछि हामीले आमालाई यस्तो कुरा कहिल्यै सुनाएनौं । 




प्रतिक्रिया