आगामी सातादेखि जनकपुर-पटना बससेवा सञ्‍चालन हुँदै

Janakpur_Patna_bus_service.jpg

जनकपुरधाम- जनकपुरसहित वरिपरीका यात्रुलाई अब भारत विहार राज्यको राजधानी पटना पुग्न सहज हुने भएको छ । भारतको पटना पुग्न जनकपुरबाट सोझै बससेवा सञ्चालन हुने भएकोले यात्रुहरुलाई सहज हुने भएको हो।

यसअघि पटनासम्म पुग्न यस भेगका यात्रुहरुलाई सीमापारी पुग्नु पर्दथ्यो। तर, दुई मुलुकबीचको सम्झौता अनुसार ३१ भाद्रबाट जनकपुर–पटनाबीच बससेवा सञ्चालन हुन गइरहेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा सार्क सम्मेलनमा सहभागी हुन आएको बेला जनकपुर–पटना बससेवा सञ्चालन गर्ने घोषणा गरेका थिए । र, पछिल्लो पटक बिमस्टेक सम्मेलनमा सहभागी हुन पुनः नेपाल पुगेका उनले उक्त घोषणा कार्यान्वयन गर्न सम्झौता गरेका छन्। 

नेपाल-भारतबीच भएको सम्झौता अनुसार जनकपुर–पटना बस सेवा सञ्चालन हुन गइरहेको जनकपुर अञ्चल बस व्यवसायी संघका अध्यक्ष मनोज चौधरीले जानकारी दिए।

अध्यक्ष चौधरीका अनुसार २८ भाद्रमा विहारका मुख्यमन्त्री नितिश कुमारले पटनामा हरियो झण्डा देखाइ जनकपुरको लागि बसलाई विदा गर्नेछन् । त्यसैगरी ३१ भाद्रमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जनकपुरबाट पटनाको लागि बस सञ्चालन गर्न हरियो झण्डा देखाउने कार्यक्रम रहेको छ।

https://www.nicasiabank.com/
दुई मुलुकबीच चारवटा बस सञ्चालन गर्ने सम्झौता रहेपनि तत्काल दैनिक १-१ बस सञ्चालन हुने अध्यक्ष चौधरीले बताए। ‘जनकपुर–पटना दैनिक २-२ बस सञ्चालन गर्ने सम्झौता छ,’ नेपाल समयसँग कुराकानी गर्दै चौधरीले भने,‘पहिलो चरणमा १-१ बस सञ्चालन हुँदै छ। यात्रुको चाप हेरेर बस सेवा थप गरिने छ।’ पटनासम्म पुग्न बस भाडा निर्धारण नभएपनि एकदुई दिनमा यस विषयमा टुंगो लगाइने उनले जानकारी दिए।

जनकपुरबाट करिब २ सय ७ किलोमिटर दुरी रहेको पटनासम्म बस सञ्चालन गर्न नेपालतर्फबाट काठमाण्डौस्थित स्वयंभु मञ्जुश्री यातायात प्रा.लि. र भारततर्फबात विहार सरकारको विहार पारवहनले जिम्मा पाएको छ।

उपचार, किनमेललगायत अन्य काम विशेषले पटना पुग्ने सर्वसाधारणको संख्या हेर्दा दैनिक दुई बस सञ्चालन गर्न समस्या नआउने बस व्यवसायी संघका अध्यक्ष चौधरीको अनुमान छ। 

जनकपुरबाट छुट्ने बस महोत्तरीको भिठ्ठामोड नाका हुँदै विहारको सीतामढी, मुजफ्फरपुरबाट पटनासम्म पुग्ने छ । दुई स्थानबीचको यात्रा समय करिब ७ घण्टा रहने अनुमान गरिएको छ।

जनकपुरबाट बिहान ७ र ९ बजे तथा राति ८ बजे र पटनाबाट अपरान्ह ३ बजे, बिहान ४ बजे तथा राति ९ बजे समय प्रस्ताव गरिएको छ । यसैगरी काठमाण्डौ र विहारको बोधगयासम्म पनि बस सेवा सञ्चालन हुन गइरहेको बताइएको छ । काठमाण्डौबाट छुट्ने बस बीरगंज, रक्सौल, मुजफ्फरपुर, पटना हुँदै बोधगयासम्म पुग्ने छ।

प्रतिक्रिया