सिरियाको इदलिबमा विद्रोहीविरुद्ध प्रतिष्ठाको युद्ध

Idlib.jpg

लन्डन- सात वर्षदेखि जारी सिरिया युद्धमा उत्तरपश्चिमी शहर इदलिबमाथि आक्रमणको तयारी भइरहेको छ। सिरिया र उसको सहयोगी रुसको सेनाले गर्न लागेको संयुक्त कारवाहीलाई आईएसलगायत सबैजसो विद्रोही समूहविरुद्धको प्रतिष्ठाको युद्धका रूपमा हेरिएको छ।

उक्त शहर सन् २०१५ देखि विद्रोही समूहहरूको कब्जामा छ। र, यो सिरियाली राष्ट्रपति बसर-अल–असदलाई सत्ताच्युत गर्ने प्रयासमा रहेका विद्रोही र जिहादी गुटहरूको अन्तिम गढ पनि हो।

संयुक्त राष्ट्रसंघका अनुसार इदलिबमा २९ लाख जनसंख्या छ, जसमा करिब १० लाख बालबालिका छन्। उक्त शहरका अधिकांश बासिन्दा विद्रोहीहरूको कब्जा रहेका अन्य इलाकाबाट भागेर आएका हुन्। जब–जब सरकारी फौजले विद्रोहीहरूका गढ भत्काउँदै गयो, त्यहाँका मानिस भागेर इदलिब आए। 

यदि इदलिबमा विद्रोहीहरूको हार भयो भने उनीहरूसँग सिरियाभित्र आधार इलाकाका रूपमा कम क्षेत्र मात्र बाँकी रहनेछन्। र, इदलिबको पराजय सशस्त्र विद्रोहको अन्त्य सावित हुन सक्छ।

उक्त प्रान्तमा कुनै एउटा गुटको मात्र कब्जा छैन। सबैजसो गुटहरू मिलाएर इदलिबमा करिब ३० हजार लडाकु छन्। शहरको मुख्य शक्तिका रूपमा ‘हयात तहरिर अल–साम’ (एचटीएस) नाम अतिवादी समूह छ। यस जिहादी समूहको तार अल–कायदासँग जोडिएको छ।

प्रान्तको राजधानी शहरबाहेक टर्कीको सीमास्थित बाब अल–हवा नामक नाकामा एचटीएसको मुख्य कब्जा छ। संयुक्त राष्ट्रसंघले एचटीएसलाई आतंकवादी संगठन घोषणा गरिसकेको छ। यस संगठनमा करिब १० हजार लडाकु छन्, तीमध्ये अधिकांश अन्य मुलुकबाट आएका हुन्।

इदलिबको दोस्रो शक्तिशाली समूह नेसनल लिबरेसन फ्रन्ट (एनएलएफ) हो। यस संगठनलाई टर्कीको संरक्षण रहेको आरोप लगाइँदै आएको छ। एचटीएसको दबदबा कम गर्ने उद्देश्यले सन् २०१८ मै एनएलएफको गठन गराइएको हो।

एनएलएफमा अहरार अल–साम तथा नुर अल-दिन अल-जकी ब्रिगेडजस्ता धेरै कट्टर इस्लामी गुट सामेल छन्। फ्रि सिरियन आर्मी नामक समूहले पनि एनएलएफको ब्यानर प्रयोग गर्दै आएको छ।

इदलिबको लडाईंको पल्ला राष्ट्रपति असदतर्फ भारी भएझैं देखिन्छ। किनभने, सिरियाको सहयोगी मुलुक रुसको हवाई आक्रमण र इरान समर्थित हजारौं लडाकुहरूको मद्दतबाट देशका बाँकी हिस्साहरूमा विद्रोहीहरूलाई उखेलेर फालिसकेका छन्।
 

निहत्था सर्वसाधारणलाई सुरक्षित स्थलमा पुर्‍याउने बन्दोबस्त मिलाउन संयुक्त राष्ट्रसंघको आग्रह।


सिरियाली विदेश मन्त्री वालिद मुआलेमले ३० अगस्टमा इदलिब शहरमाथि आक्रमणको घोषणा गरेका थिए। इदलिबलाई स्वतन्त्र बनाउन सरकार जस्तोसुकै कुर्बानी दिन पनि तयार रहेको उनले बताएका थिए। रुसले पनि उक्त शहरलाई विद्रोही कब्जाबाट मुक्त गर्नु आफ्नो अधिकार रहेको बताएको छ।

यसअघि नै टर्कीमा ३० लाख सिरियाली शरणार्थी छन्। सीमा क्षेत्रमा अर्को ठूलो लडाईंको अर्थ फेरि एक पटक लाखौं मानिस आफ्नो भूमिमा प्रवेश गर्नु रहेको बताउँदै टर्कीले चिन्ता जनाएको छ।

एक जबर्जस्त सैन्य अभियानबाट इदलिब प्रान्तमा ठूलो जनधनको क्षति हुने सम्भावनालाई नकार्न सकिँदैन। यसअघिदेखि नै बेहाल जिन्दगी बिताइरहेका लाखौं मानिसको हालत अझ खराब बन्ने निश्चित छ। शहरमा यसअघिदेखि नै खाने, पिउने सामान र औषधीहरूको अभाव छ।

संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले इदलिबमाथिको आक्रमणबाट गम्भीर मानवीय संकट उत्पन्न हुने चेतावनी दिएका छन्। युद्धका कारण करिब आठ लाख मानिस बेघरबार हुन सक्ने संयुक्त राष्ट्रसंघको अनुमान छ।

शहरमा आक्रमणपछि त्यहाँका बासिन्दा अन्यत्र जान सक्ने सम्भावना पनि कमजोर छ। किनकि, टर्कीले आफ्नो सिमाना यसअघि नै सिल गरिसकेको छ। सिरियाका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत स्टेफेन डे मिस्तुराले रुस, इरान र टर्कीलाई युद्धका लागि हतार नगर्न अपिल गरेका छन्।

सिरियाली विपक्षी दलहरूले आक्रमणविरुद्ध हस्तक्षेपका लागि अन्तर्राष्ट्रिय समूदायसँग माग गरेका छन्। विशेष दूत मिस्तुराले विद्रोहीहरूलाई वार्ताका लागि थप समय दिन र शहरवासीलाई सुरक्षित स्थलमा पुर्‍याउने बन्दोबस्त मिलाउन आग्रह गरेका छन्।

विद्रोहीहरू विरुद्ध राष्ट्रपति असदलाई मिलिरहेको सफलताका पछाडि रुसको हात छ। छिमेकी मुलुक टर्कीले भने सिरिया र रुससँग विद्रोहीहरू विरुद्धको सैन्य कारवाही स्थगित गर्न आग्रह गर्दै आएको छ। आगामी शुक्रबार तीन मुलुकबीच वार्ता हुँदैछ, जसबाट कुनै परिणाम आउने आशा छ।

अमेरिकाले विद्रोहीहरूलाई साथ दिँदै आएको छ। सिरिया सरकारले बर्बरताको हद पार गरेको आरोप अमेरिकाले लगाउने गरेको छ। सैन्य कारवाहीबाट निहत्था सर्वसाधारणको सुरक्षा ग्यारेन्टी गर्न नसकिने अमेरिकी ठहर छ।



प्रतिक्रिया