नेपालीलाई सिरिङ्ग बनाउने अमेरिकी 'दुनियाँ'

Tika_Bhattarai_ns_1.jpg

झण्डै तीन सय मानिसले दिउँसोको खाना खाइरहेका थिए। म पनि एउटा कचौरामा सुप पिइरहेकी थिएँ। केही सोच्दै सुप पिइरहेका बेलामा एक्कासी मेरो हातबाट सुपको कचौरा चिप्लेर भुर्इंमा खस्यो र त्यति ठूलो भीडभाडका बीचमा मेरो सुप भुईंभरि पोखियो।

भर्खरै-भर्खरै अमेरिकाजस्तो देशमा नौलो शैली र नयाँ काम गर्न सिक्दै थिएँ। त्यस्तो बेलामा म सबै मानिसको आकर्षणको केन्द्रबिन्दुमा हुन्थें। किनकि, मैले गर्ने कामको शैलीमा पक्कै पनि उनीहरूले आफूभन्दा केही फरकपन पाउँथे। र, मलाइ हेरिरहन्थे।

त्यहाँको ठूलो र अपेक्षाकृत शान्त भीडमा खसेको सुपको कचौराको आवाजले सबैको ध्यान तान्यो। सबैले खसेको कचौरा, पोखिएको सुप र मलाइ पालैपालो हेरे। सबैले मलाई र पोखिएको सुपलाई हेरिहेको आभाष भएपछि मेरो अनुहार रातोपीरो भयो। म के गर्ने र कसो गर्ने भन्ने कुरा थाहा नपाएर एकछिन उभिरहें।

पहिलो कुरा, त्यस्तो सार्वजनिक ठाउँमा भुईं कसरी सफा गर्नुपर्छ भन्ने ज्ञान मलाई थिएन। अर्को कुरा, भुईं पुछ्नेजस्तो कथित तुच्छ प्रकारको काम मैले गर्ने होइन भन्ने गलत सोच पनि थियो। भुईं पुछ्ने काम मेरो होइन भन्ने धारणा मनमा आउनेबित्तिकै म हतारहतार गर्दै भुईं पुछ्ने मान्छे अर्थात् ‘हाउस किपर’ खोज्न दौडिएँ।
 

एउटी महिलाले मुखमा हालिसकेको खाना निकालेर मलाई दिँदै भनिन्, ‘लौ, चाख न।’ आफ्नो मुखबाट झिकेको खानेकुरा चाख्न अनुरोध गर्दै उनले मुखैमा हालिदिन खोजिन्।



‘हाउस किपर’सहित खाना खाने ठाउँमा आउँदा म त झन् तीन छक्क परें। मैले सुप पोखेर फोहोर पारिएको भुईं पहिलेभन्दा पनि सफा पारिएको थियो। सफा पारिएको मात्र थिएन, त्यहाँ पहेंलो स्टिकरमा ‘होसियार, भुईं चिसो छ’ भन्ने सावधानीको सूचनासमेत टाँसिसकिएको थियो। मैले झनै लज्जित महशुस गरें। 

मलाई त्यतिबेला झनै अप्ठेरो लाग्यो, जब मलाई थाहा भयो कि मेराे डाइनिङ टेबलबाट पोखिएको सुपको फोहोर त मेरा बोसले नै सफा गरिसकेका रहेछन्। मैले ज्यादै अप्ठेरो मान्दै र लज्जित महशुस गर्दै सानो स्वरमा भनें, ‘तपाईंले यस्तो काम गर्नु हुँदैनथ्यो।’ उसले अलिकति मुस्कुराउँदै स्वाभाविक रूपमा भन्यो, ‘तिमीलाई असुविधा भएर बाथरूम दौडेजस्तो लाग्यो, त्यसैले मैले सफा गरिहालें।’

फेरि एकदिन मलाई अचम्मलाग्ने अर्को घटना भयो। बिहान-बिहानै अलि ठूलो आकारको कपमा ‘म्याकडोनाल्ड’ ब्रान्डको कफी पिउँदै काममा जाँदै थिएँ। मलाइ कफी अलिकति धेरै भएछ, पिउन मन लागेन। मैले बढी भएको कफी ‘डस्टबिन’मा फ्याँक्न खोज्दाखोज्दै एक व्यक्ति आएर मलाई रोके। ‘तिमीले कफी फाल्ने नै हो भने मलाई देउ न, म पिउँछु’ भनेर जिद्धी गरे।



मलाई साह्रै अप्ठेरो लाग्यो। मैले, ‘मेरो जुठो कफी तिमी कसरी पिउँछौ, म दिन्नँ’ भन्दै अड्डी कसिरहेकी मात्र थिएँ। ह्या, देउ न देउ, मलाई केही मतलव छैन भन्दै उसले मेरो हातबाट कफीको कप खोसेर लग्यो। अझ अचम्मको कुरा त के भयो भने मबाट खोसेको जुठो कफी उसले मात्र पिएन, उसका अरू चार जना साथीसमेत मिलेर बाँडेर पिए। म वाल्ल परेर हेरिरहें।

फेरि अर्कोदिन भएको एउटा घटनाले पनि मलाई असहज तुल्यायो।  एक दिन मेरा सहकर्मीहरूले मैले कहिल्यै नदेखेको खानेकुरा खाँदै थिए। मैले हिँड्दाहिँड्दै ‘तिमीहरूले खाइरहेको खानेकुरा त निकै मिठो होलाजस्तो छ नि, यस्तो खानेकुरा त मैले कहिल्यै खाएकी छैन’ भनें। मैले औपचारिकताको लागि मात्र यसो भनेकी थिएँ। उत्तिकैमा एउटी महिलाले मुखमा हालिसकेको खाना निकालेर मलाई दिँदै भनिन्, ‘लौ, चाख न।’ आफ्नो मुखबाट झिकेको खानेकुरा चाख्न अनुरोध गर्दै उनले मुखैमा हालिदिन खोजिन्। 

तर, मलाई घिन लागेर खान सकिनँ। सीधै तिम्रो भागको जुठो खान्नँ भन्न सकिनँ। म नाईं नाईं भन्दै उम्किन खोजें। उनले चाहीं किन नचाखेको बताउँदै मलाई कर गर्दै थिइन्। मसँग त्यसको जवाफ नभएर त्यहाँबाट उम्किन हम्मे हम्मे पर्यो।

एक बिहान त्यति धेरै जाडो थिएन। त्यसैले अलिकति पातलो लुगा लगाएर काममा गएँ। तर, दिउँसो अकस्मात् जाडो बढ्दै गयो। म बसस्टपमा जाडोले थरथर काँम्दै बस कुरिरहेकी थिएँ। म जाडोले कामिरहेको देखेर एक पुरुष साथीले आफूले लगाइरहेको ज्याकेट खोलेर लगाउन अनुरोध गरे। मलाई अप्ठेरो लाग्यो।

अर्काले लगाइसकेको लुगा म लाउन्नँ भनेर सीधै भन्न नसकेपछि मैले अलिकति कुरा घुमाएर पुरुषको ज्याकेट लगाएर मलाई कार्टुन देखिनु छैन बरु जाडो नै सहन्छु भनेर टारें। उसले मलाई सम्झाउँदै भन्यो, ‘तिमी आफ्नो प्यारो र न्यानो घरभन्दा १० हजार माइल टाढा अमेरिकामा छौ। तिमी बिरामी भयौ भने तिम्रा बुबा-आमा यहाँ छैनन्। व्यावहारिक बन्न सिक।’ उसको भाषण सकिँदा नसकिँदै म फुत्त बसमा चढेर हिँडिहालें। म उम्कन त उम्कें तर अमेरिकामा भइरहेका स-साना व्यवहारहरूले मलाई प्रभावित पनि पारिरहेको थिए।

कुनै दिन त मैले झनै कल्पना नगरेको कुरा देखें। एकदम गर्मीको दिन थियो। एक व्यक्तिको नाथ्री फुटेर नाकबाट रगत बगिरहेको थियो। म नजिकै थिएँ। मलाई घिन लागेर अलि टाढा भइदिएँ। तर, एक कुनै अपरिचित मान्छे आएर उसको नाकबाट बगिरहेको रगत औंलाले पुछ्दै चाट्न थाल्यो। त्यहाँ रहेका अन्य व्यक्तिहरूले ‘भेरी गुड जब, भेरी गुड जब’ भन्न थाले। मैले जिन्दगीमा यस्तो काम कहिल्यै देखेकी थिइनँ। मलाई ज्यादै अनौठो लाग्यो। 
 

‘आफ्नो प्यारो र न्यानो घरभन्दा १० हजार माइल टाढा अमेरिकामा छौ। तिमी बिरामी भयौ भने तिम्रा बुबा-आमा यहाँ छैनन्। व्यावहारिक बन्न सिक।’


भूमण्डलीकरण, आप्रवासन तथा आफ्नै चाहनाले नेपालीहरू संसारभरि छरिएका छन्। म पनि शिक्षा, संस्कार र सीप नेपालबाट लिएर नै अमेरिका आएकी हुँ। जन्मे-हुर्केको समाजबाट दशौं हजार माइल टाढा रहेको अमेरिकाको विकसित समाज नौलो लाग्नु स्वाभाविकै हो। फरक समाज, फरक भाषा-संस्कृति र फरक धार्मिक परम्परासँग भिजेर नयाँ कुरा सिक्ने क्रममा देखेका अनुभवहरू अचम्मका हुँदा रहेछन्।

नितान्त भिन्न समाजका मानिसहरूसँग आफ्नो दिनचर्या व्यतित गर्दागर्दै पत्तै नपाई आफैं पनि विनिर्मित हुँदै गइँदो रहेछ। मेरा पनि विगत केही वर्ष हरेक दिन नयाँ परिदृश्यहरू हेर्दै, सिक्दै र बुझ्दै बितिरहेका छन्। तर, भिन्न परिवेश, संस्कार, संस्कृति, भाषा, धर्म आदिको संसर्गमा रहेर ती कुराहरूसँग अभ्यस्त बन्दै जाने कुरा सजिलो रहेनछ। 
 
छोरा र छोरीको बीचमा रहेको असमानता, गरीब र धनीको बीचमा रहेको असमानता तथा कथित ठूलो जाति र कथित सानो जातिको बीचमा रहेको असमानताजस्ता बेथिति र कुरीति हाम्रो संस्कार थियो। बाहुन-दलित, महिला-पुरुष, उँच-नीच, जुठो-चोखो आदि कुराहरू पनि समाजले बनाएका मान्यताहरू थिए। मैले यहाँ आएपछि कैयौं हाम्रा मान्यताहरू कति खराब रहेछन् भन्ने पनि थाहा पाएँ।  

स-साना कुराहरूले नै संस्कृतिको निर्माण गर्दा रहेछन्। हाम्रा सबै खराब र यहाँका सबै राम्रा भन्ने त पटक्कै होइन। तर, कामप्रतिको लगाव, सम्मान र जस्तोसुकै अवस्थामा पनि सहयोगको भावनाबाट अभिप्ररित हुने संस्कृति यहाँ राम्रो रहेछ। हाम्राभन्दा नितान्त भिन्न मान्यताहरूलाई आत्मसात गर्न भने यहाँ अप्ठेरो नै हुने रहेछ। 

(अमेरिकास्थित ‘ग्लोबल प्रेस इन्स्टिच्युट’मा कार्यरत पूर्वपत्रकार तारा भट्टराई हाल अमेरिकाको न्युयोर्क शहरमा बस्छिन्।)




प्रतिक्रिया