राजकीय सम्मानका साथ वाजपेयीको अन्त्येष्टि

Vajpyee_last_rites.jpg

नयाँदिल्ली- भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको राजकिय सम्मानका साथ दाहसंस्कार गरिएको छ। 

वाजपेयीको पार्थिव शरीरलाई राष्ट्रपति रामनाथ कोविन्द, उपराष्ट्रपति वैकडा नायडू, प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्वप्रधानमन्त्री मनमोहन सिंह, सभामुख सुमित्रा महाजन, भुटानका राजा जिगमे खेसर, अफगानिस्तानका पूर्व राष्ट्रपति हामिद करजईं, बंगलादेशका विदेशमन्त्री, नेपालका परराष्ट्रमन्त्री, श्रींलकाका विदेशमन्त्रीले राष्ट्रिय स्मृति स्थलमा अन्तिम श्रद्धाञ्जलि दिएका छन्।

भारतीय जनता पार्टीका संस्थापक नेता समेत रहेका वाजपेयीको बिहीबार साँझ ५ बजेर ५ मिनेट जाँदा ९३ वर्षको उमेरमा नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो।

निष्ठावान राजनीतिज्ञको परिचय बनाएका ९३ वर्षीय राजनीतिज्ञ बाजपेयीलाई मिर्गौला, छाती र पिसावसम्बन्धी समस्या देखिएपछि गत ११ जुनमा अस्पताल भर्ना गरिएको थियो। सन् २००९ मा ‘हर्ट अट्याक’ भएपछि स्वास्थ्यकै कारण उनी सक्रिय राजनीति र सार्वजनिक कार्यक्रमहरुबाट टाढा बस्दै आएका थिए।

तीनपटक भारतको प्रधानमन्त्री बन्न सफल बाजपेयी भद्र र शालीन राजनीतिज्ञका रुपमा चिनिन्थे। र, तार्किक भाषणशैली लागि पनि उनको विशिष्ट परिचय थियो। प्रधानमन्त्रीको पाँच वर्षे कार्यकाल पूरा गर्ने उनी एकमात्र गैर कंग्रेसी नेता पनि हुन्। उनले १९९९ देखि २००४ सम्मको कार्यकाल सफलतापूर्वक सम्पन्न गरेका थिए।
https://www.nicasiabank.com/

कानपुरको डिएभी कलेजबाट राजनीतिशास्त्रमा स्नातकोत्तर बाजपेयी पहिलो पटक सन् १९९६ मा एनडीएको तर्फबाट भारतका दशौं प्रधानमन्त्री बन्न सफल भएका थिए। तर, संसदमा बहुमत साबित गर्न नसकेपछि उनले १३ दिनमै राजिनामा दिनु परेको थियो। राजीनामा दिनेक्रममा उनले संसदमा दिएको मन्तव्यले निकै वाहवाही पाएको थियो।

त्यतिबेला प्रधानमन्त्री पद गुमाए पनि उक्त भाषणका कारण बाजपेयीले राष्ट्रिय राजनीतिमा दीर्घकालीन जित हासिल गरिएको टिप्पणी भएको थियो। नभन्दै उनी पुन: सन् १९९८ मा दोस्रो पटक प्रधानमन्त्री बन्न सफल भए। र, दोस्रो पटक भने उनले पाँच वर्षे कार्यकाल पुरा गरे। यसअघि सन् १९७७ मा मोरारजी देसाई नेतृत्वको मन्त्रीमण्डलमा उनी परराष्ट्र मन्त्री थिए।

बाजपेयीले दुई पटक नेपालको भ्रमण गरेका छन्। पहिलो पटक सन् १९७७ मा परराष्ट्रमन्त्रीका रुपमा र दोस्रो पटक सन् २००२ मा ११ औं सार्क सम्मेलनका अवसरमा प्रधानमन्त्रीका रुपमा नेपालको औपचारिक भ्रमण गरेका थिए।

सन् १९२४ मा मध्यप्रदेशको ग्वालियरमा जन्मेका बाजपेयीको राजनीति जीवन सन् १९४२ मा तत्कालीन इष्ट इण्डिया कम्पनीविरुद्धको भारत छोडो आन्दोलनबाट सुरु भएको थियो।

प्रतिक्रिया