वाम सरकारको अग्रगामी छलाङ: ४ बजे बोलाइएका पत्रकार नै जिल्ल!

Press_Meet_7_province.jpg

धनगढी- हरेक काम कारबाहीमा अग्रगामी छलाङ मारेको दाबी गर्ने बाम सरकार हुँदाहुँदा पत्रकार सम्मेलन पनि तोकिएको समय भन्दा अघि नै सम्पन्न गर्न थालेको छ। 

कम्युनिस्टको एकलौटी सरकार रहेको प्रदेश ७ मा मंगलबार चार बजे बोलाइएको पत्रकार सम्मेलनमा पत्रकार आउनु अगावै सकिएको थियो। सरकारको यस्तो व्यवहार देख्दा पत्रकारहरु नै जिल्ल परेका छन्। मुख्यमन्त्री अध्यक्ष हुने प्रदेश स्तरीय समस्या समाधान समितिको बैठकले गरेका निर्णय सार्वजनिक गर्ने भनि ४ बजे पत्रकार सम्मेलन आयोजना गरिएको भए पनि पत्रकार सम्मेलन भने ४ नबज्दै सम्पन्न भइसकेको मुख्यमन्त्री कार्यालयले जानकारी गराएको छ। 

प्रदेश सरकारका कामकाजलगायत विभिन्न १५ वटा विषयमा बिहान ११ बजे देखि छलफल भएको बैठकका निर्णय सार्वजनिक गर्न मुख्यमन्त्री कार्यालयले ४ बजे पत्रकार सम्मेलन गर्ने भनि सूचना जारी गरेको थियो। ४ बजे पत्रकार मुख्यमन्त्री कार्यालयमा पुग्दासम्म सरकारका प्रवक्ता तथा कानुन मन्त्री प्रकाश बहादुर शाह पत्रकार सम्मेलन सकेर गइसकेको जानकारी दिए। मुख्यमन्त्री कार्यालयमा बुझ्दा उनले तीन जना पत्रकारको उपस्थितीमा ४ बजे अगाडी नै पत्रकार सम्मेलन सकेको जानकारी मुख्यमन्त्री कार्यालयले दियो। 
 
‘पत्रकार सम्मेलन छ भनेर खबर पाएपछि ४ नबज्दै मुख्यमन्त्री कार्यालय पुगेको थिए हलमा सम्मेलन सुरु भइसकेको थियो’, राजधानी दैनिकका समाचारदाता दिपक वलीले भने,‘तीन जना पत्रकारसँग मन्त्री बोल्दै गरेको देखेपछि आफु भित्र नपसेर फर्किए।’ वली जस्ता थुप्रै पत्रकार ४ बजे पछि त्यहाँ पुग्दा पत्रकार सम्मेलनमा सहभागि हुन नपाउँदै फर्किए। 

पत्रकार सम्मेलन सकिएपछि करिव आधा घण्टाको अवधिमा ८-१० जना पत्रकार कार्यालय पुगेर फर्किएका मुख्यमन्त्रीसँग रहेका पत्रकार लोकेश अधिकारीले बताए। कहिले उल्टो झण्डा त कहिले च्यातिएको राष्ट्रिय झण्डा मन्त्रालयमा राखेर चर्चामा आउने प्रदेश सातका मन्त्रीहरुमा यसपटक कानुनमन्त्री शाह तीन जना पत्रकारलार्इ तोकिएको समयभन्दा अघि नै पत्रकार सम्मेलन गरेको खबरले चर्चामा आएका छन्। 

सरकारले सूचना लुकाउने उद्देश्यले आफ्नो नजिकका तीन जनालार्इ बोलाएर सूचना टिपाएको भन्दै चौतर्फी आलोचना भइरहेको छ। 

 



प्रतिक्रिया