ठट्यौली शैलीले बजार पिट्यो, हराउँदै पुराना देउडा गीत

deauda_2_Ns.jpg

धनगढी- सुदूरपश्चिमको प्रमुख पहिचान मानिन्छ, देउडा गीत । पछिल्ला वर्षमा यसमा नयाँ पुस्ताका गायक-गायिकाहरूको आगमन बढेको छ । 

नयाँ गायक-गायिकासँगै मनोरञ्जनात्मक गीतले अलग्गै रौनक ल्याएका छन् । जसका कारण लोपोन्मुख देउडा लोक संस्कृतिको जर्गेनामा टेवा पुगेको महशुस यस क्षेत्रका जानकारहरूले गरेका छन् । 

अहिलेका देउडा गीतमा ठेट पश्चिमेली भाषा, त्यस्तै शब्द र प्रस्तुती शैलीले गर्दा नयाँ मात्र होइन, पुरानो पुस्ताले पनि मन पराउन थालेको छ । 

पुरानो पुस्ताका कलाकारले गाएका गीतहरूमा दुःख, व्यथा बढी र मनोरञ्जन कम हुन्थ्यो । सोही कारण नयाँ पुस्ताले देउडा गीत कम सुन्ने गरेका थिए । स्रोताको भावना बुझ्दै नयाँ पुस्ताका कलाकारले देउडा गीतमा नयाँपन दिन थालेका हुन् । मनोरञ्जनलाई मात्र मध्यनजर गर्दै ठेट भाषा र शब्दहरू समेटिएका देउडा गीतले बढी चर्चा कमाइरहेका छन् ।

अहिलेका दर्शक तथा स्रोताले गालामा हात लगाएर सुन्ने देउडामा रुचि कम दिने गरेका छन् । अलि-अलि भए पनि कर्मर मर्काउने गीत ल्याउन सक्नुपर्ने गायक लोकेन्द्र खत्रीको भनाइ छ । उनी भन्छन्, 'अहिले नाच्न सकिने गीतले मात्रै बजार पाएका छन् । यो समयमा दुःखमा परेका गीत ल्याएमा नचल्ने अवस्था छ ।'

सूचना प्रविधिको विकाससँगै देउडामा पनि नयाँपन आउन थालेको छ । गीत गाउने, शब्द चयन गर्नेमा मात्र नभई गीत पस्किने माध्यममा पनि नयाँपन आएको छ । पहिलेको जस्तो क्यासेट तयार गर्ने र क्यासेट प्लेयरमा सुन्ने प्रविधि पूरै बन्द भइसकेको छ । त्यसको ठाउँ मोबाइलले लिएको छ । 'पहिलेको जमानामा क्यासेट तयार भएपछि टेपहरूमा बजाएर गीत सुन्न पाइन्थ्यो भने आजभोलि म्युजिक भिडियोहरू तयार नभई अडियो सुन्न नपाउने व्यवस्था छ,' चर्चित् देउडा गायक भुवनप्रसाद दाहाल भन्छन्, 'मोबाइल र युट्युब च्यानलले निकै सजिलो बनाइदिएको छ ।' 



जति राम्रो गीत भए पनि अडियो मात्रले कुनै अर्थ नराख्ने उनको भनाइ छ । भन्छन्, 'भिडियोले देउडाको पुनर्जागरणमा निकै ठूलो मद्दत पुगेको छ ।' खासगरी, ठाडी भाका र मौलिक देउडा गाउन मन पराउने पुरानो पुस्ताका कलाकार दाहालले समयसँगै गायनको क्षेत्रमा पनि परिवर्तन गरिरहेका छन् । पहिलेभन्दा अहिले गीत सुन्ने र हेर्ने क्रम अत्यधिक बढेकामा उनी दंग छन् । नयाँ पुस्ताका कलाकारजस्तै उनी पनि गीत लेखन र गायनमा नयाँपन दिन लागिपरेका छन् । 

युट्युब च्यानलमा सम्भवतः सबैभन्दा बढी हेरिएको मौलिक देउडा गीत 'यो अछामी बड्डो' का रचनाकार तथा गायक लालबहादुर धामी आफूले यो गीत निकालेपछि अरूमा पनि त्यस्तै गीत निकाल्ने सोच आएको बताउँछन् । धामीको उक्त गीत युट्युबमा हालसम्म करिब २५ लाखले हेरिसकेका छन् । 

अर्को देउडा गीत 'डोटी कि छोर्‍याटी' पनि युट्युबमा ११ लाखले हेरिसकेका छन् । यसअघि प्रायः पश्चिममा मात्र सीमित रहेको देउडा गीत पछिल्लो समय देशका अन्य क्षेत्रमा पनि हेर्न थालिएको छ । देउडाको क्षेत्र विस्तार हुनुमा युट्युबको मुख्य भूमिका रहेको धामी बताउँछन् । 

गीतको भाव पूरै नबुझे पनि भिडियो हेरेर त्यसको अर्थ बुझ्न सहज भएको प्रतिक्रिया उनले पूर्व क्षेत्रका दर्शकबाट पाएका छन् । 

पदम खड्काको 'यो लोटाउनु राँगो', लोकेन्द्र खत्रीको 'ओछ्यान जोई खोज्दो', राम साउँदको 'गिदाउड्या छोर्‍याट्टो', डम्बर खड्काको 'बाजुराको गाँठ्या'जस्ता मौलिक ठट्यौली देउडा गीत युट्युबमा सर्वाधिक हेरिएकामध्येमा पर्छन् । 

पछिल्लो पुस्ताका कलाकारहरू दोहोरी गीतमा पनि जम्न थालेका छन् । लोक-पप गीतहरू गाउनेको संख्या पनि बढ्दै गएको छ । जसमा टंक तिमिल्सिना, चक्र बम, लोकेन्द्र खत्रीलगायत कलाकार पर्छन् । 'दारु सड्काउने' नामक गीतका गायक चक्र बम देउडासँगै पछिल्लो पुस्तालाई लोक-पपले पनि आकर्षण दिएको बताउँछन् । लोक-पप गीत भए पनि भाषा भने पश्चिमकै भएकाले भाषा संरक्षणमा यसले योगदान पुग्ने उनको विश्वास छ ।

कुनै जमानामा भोजराज भट्ट, भुवन दाहाल, नरेन्द्रराज रेग्मी, नन्दकृष्ण जोशीलगायत प्रसिद्ध देउडा गायकका गीतले गाउँ-शहर गुन्जायमान हुन्थे । उनीहरूका हरेक गीत सबैका ओठमा झुण्डिएका हुन्थ्ये । अहिले पनि देउडा गीत बजारमा नआएका होइनन् । तर, ती देउडा गीतजस्ता छैनन् । 

केही वर्षअघि भारतबाट आउने हरेक प्रवासी सुदूर तथा मध्यपश्चिमेलीको हातमा एउटा क्यासेट बज्ने टेप हुन्थ्यो । त्यो टेपमा निकै मार्मिक देउडा गीत घन्किन्थे । तर, समयले निकै कोल्टे फेरिसक्यो । अहिले भारतबाट आउने नेपालीको हातमा देउडा बज्ने टेप होइन, महँगो मोबाइल हुन्छ । त्यसमा देउडा गीत होइन, आधुनिक शैलीका पप गीत बजेको सुनिन्छ ।

देउडालाई समयमै व्यावसायिक धारमा नढाल्नाले एक समयमा चर्चित देउडा गायकलाई अहिलेको युवा पुस्ताले नचिन्ने अवस्था आएको छ । 



करिब आधा दशकअघि भोजराज भट्ट, भुवन दाहाल, नन्दराज रेग्मी, नन्दकृष्ण जोशी, हरिना साउँद, डिप्रा गाइनेलगायत शीर्ष देउडा गायक-गायिका हरेक मेला-महोत्सवमा पुग्ने गर्थे । आफ्ना लोकप्रिय देउडा गीत गाउँथे । तर, उनीहरू आजकल आयोजना हुने मेला-महोत्सवमा आक्कल-झुक्कल देखिन्छन् । 

पुराना गायक-गायिकाले अहिले बजारको मागअनुसारका देउडा गीत ल्याउन सकेका छैनन् । बजारले पुराना देउडा गायक-गायिकाका नयाँ देउडा गीत खोजेको छ । तर, अधिकांश गायक-गायिका पुरानै लयमा देखिन्छन् । 

घाँस, दाउरा गर्दा अहिले गुमनाम भएका देउडा गायकका गीत खुब सुनिन्थ्यो । उनीहरूका गीतमा भिज्दै घरायसी काम गर्दा समय गएको पत्तो नै हुन्थेन । अहिले भने घाँस-दाउरा गर्दा कमै सुदूरपश्चिमेली देउडा गीत सुनिन्छ । अन्य शैलीका गीतले बजार पिटेका छन् । 

देउडा गीत सुदूर र मध्यपश्चिमको मौलिकता हो । पुरानो शैली टिपेका गायक-गायिकालाई जीवन धान्न धौ धौ छ । नयाँ पुस्ताका गायक-गायिका भने युट्युबलगायतको कमाइबाट मख्ख देखिन्छन् । मेला-महोत्सवहरूमा आयोजकले पुराना देउडा गायक-गायिकालाई खासै स्थान दिएको पाइँदैन । दिए पनि १०/१५ मिनट मात्र । 




प्रतिक्रिया