गणतन्त्र ल्याउन गिरिजाबाबुका धेरै पसल ! 

gagan_ganatantra_1 - Copy 1.jpg

काठमाडौं- १८ असोज ०५९ को राजा ज्ञानेन्द्रको कदमपछि नेपाली राजनीतिको पहिलो पुस्तामा एक प्रकारको लघुताभाष देखियो । पुरानो पुस्ता र उदाउँदै गरेको नयाँ पुस्ताबीच ठूलो भिन्नता थियो । 

बहुदलीय व्यवस्था पुनःस्थापनाको आन्दोलनमा नायक बनेका नेताहरू एकपछि अर्को गर्दै असफल बनेका थिए । र, त्यही कारण निराशा व्याप्त थियो । त्यसका बावजुद उहाँहरू ठूलो भारी पनि बोकिरहनुभएको थियो । 

राजाको कदमप्रति लोकतन्त्रमा विश्वास गर्ने हरेक पार्टी र नेताहरूमा स्वाभाविक आक्रोश थियो । राजाको कदम सच्याउनुपर्ने मनोविज्ञान थियो, आन्दोलन नै गरेर हटाउनुपर्छ भन्ने संकल्प पलाइसकेको थिएन । 

तथापि, १८ असोजपछि नयाँ पुस्तामा आन्दोलनको आँधिबेहरी उत्पन्न गरेर गणतन्त्रमा जानुपर्ने मनोविज्ञानको विजारोपण भइसकेको थियो । राजसंस्थाले प्रजातन्त्रमाथि खेलबाड गरेको त्यो पहिलो पटक थिएन । प्रजातन्त्र र राजतन्त्र सँगसँगै जान सक्दैनन् भन्नेबारे हामीले स-सानो समूहमा छलफल थालेका थियौं । 
मेरो विरोध गर्ने कांग्रेस नेताहरूलाई गिरिजाबाबुले साँझबिहान बोलाएर 'यसो यसो गर' भनेर अह्राउने गरेको पत्तो पनि थिएन ।

त्यहीबीचमा नेपाल विद्यार्थी संघको महाधिवेशन भयो, वीरगञ्जमा । गुरुराज घिमिरे अध्यक्ष बन्नुभयो, म महामन्त्री । अनेरास्ववियू (एकीकृत) को कार्यालय थियो, डिल्लीबजार ओरालोमा । हामी प्रायजसो त्यहीं बैठक बस्थ्यौं । अनेरास्ववियूको अध्यक्ष राजेन्द्र राईजी हुनुहुन्थ्यो ।

भर्खरै लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्री बनाएका थिए, राजाले । एक बैठकमा अखिल क्रान्तिकारीको अध्यक्षका नाताले देवेन्द्र पौडेलजी उपस्थित हुनुहुन्थ्यो । पार्टीहरूबीच छलफल नै शुरु भएको थिएन । 

सात राजनीतिक दल र माओवादीका विद्यार्थी संगठनबीच सहकार्य शुरु भइसकेको थियो । हामी आन्दोलन थाल्ने तयारीमा जुटिसकेका थियौं । 

त्यही बेला सरकार-माओवादी वार्ता भंग भयो । र, देवेन्द्रजीहरू फेरि भूमिगत हुनुभयो । तर, सात दलका विद्यार्थी संगठनहरूले आन्दोलनका कार्यक्रम अगाडि बढाउँदै गए । 

जनमत निर्माण गर्ने रणनीतिका रूपमा शैक्षिक आन्दोलन थाल्यौं । र, त्यसमा मूल्यवृद्धिविरुद्धको आन्दोलन जोडेर राजाविरुद्ध जनमत जुटायौं र शक्ति आर्जन गर्‍यौं । 



गिरिजाबाबुको त्यो सन्देश

१ पुस ०६० को साँझ गुरुराज घिमिरे, म र पुरुषोत्तम आचार्यलाई राजद्रोहको अभियोग लगाउँदै जिल्ला प्रहरी कार्यालय, हनुमानढोका लगियो । हामीलाई थुनेपछि संसदवादी दलहरूलाई तर्साउन सकिने सरकारी मनोविज्ञान देखिन्थ्यो । 

हामीलाई अदालत पुर्‍याइयो । बाहिर आन्दोलन अझ चर्कियो । हामीले सोच्यौं, गणतन्त्रको एजेन्डा अदालती प्रक्रियामै स्थापित गराउने यही मौका हो । 

गिरिजाबाबु हामीलाई भेट्न हनुमानढोका नै आउनुभयो । र, मलाई सोध्नुभयो, 'तिमीलाई के मन पर्छ खाना ?' मैले 'जेरी स्वारी मन पर्छ' भनें । उहाँ प्रहरी कार्यालयबाट बाहिरिएपछि जेरी स्वारी पठाइदिनुभयो । 

गुरुराज घिमिरे दाइ, म र पुरुषोत्तमजी छलफल गथ्र्यौं । गुरु दाइ र म बीपी कोइरालाले अदालतमा दिएको बयान पढेर आफ्नो बयानलाई क्रान्तिकारी बनाउने र आन्दोलन सिर्जना गर्नेबारे छलफल गथ्र्यौं । 

'यस्तो राजद्रोह हजार पटक गर्न तयार छु' भनेर मैले भर्खरै एउटा लेख प्रकाशित गरेको थिएँ । तर, ठ्याक्कै अदालतमा बयान दिन जाने दिन गिरिजाबाबुले दुई जना सन्देशवाहक पठाउनुभयो र 'अदालतमा संविधान मान्छु भनेर बयान दिन' अह्राउनुभयो । 

उहाँको सन्देश सुन्नेबित्तिकै म छाँगाबाट खसेझैं भएँ । हामीले छलफल गर्‍यौं । पार्टीका नेताको सीधा आदेश छ, उहाँ आन्दोलनको नेता पनि । तर, त्यो निर्देशन पटक्कै चित्त बुझेन । एकदमै दुःख लाग्यो । अप्ठ्यारो भयो तर हामी अदालत गयौं । 

बयान दिने क्रममा मैले शब्द चपाई-चपाई बोलें । 'तपाईंहरूले यस्तो नारा लगाएको हो ? राजा र राजसंस्थाको विरुद्धमा, ज्ञाने चोर देश छोड भनेको हो ?' प्रश्न यस्तै थिए । त्यो होइन पनि नभनीकन 'म संविधान मान्छु । संविधानप्रति प्रतिबद्ध छु' यस्तै-यस्तै बयान दिइयो । 
 
पहिलो पटक गिरिजाबाबुले दुई जना सन्देशवाहकमार्फत् संविधान मान्छु भनेर अदालतमा बयान दिन लगाउनुभयो ।
 

त्यसबेला सूर्यबहादुर थापाको सरकार थियो । नेताहरूबीच कुराकानी भएको होला । त्यसपछि हामीलाई छाडिदिने भयो । 

त्यसबेला सञ्चारमाध्यम नै आन्दोलनकारी थिए । हाम्रो रिहाइ विद्यार्थीहरूको जित भन्ने ढंगबाट हामी रत्नपार्कमा भेला भयौं । मनमा भने लज्जाबोध भइरह्यो । आफूले गर्न चाहेको कुरा गर्न पाइनँ भन्ने थियो । 

अरू साथीलाई पनि त्यस्तै भएको थियो । रत्नपार्कमा हामीले आफ्ना कुरा राख्यौं । त्यसको केही दिनपछि दमननाथ ढुंगाना (पूर्वसभामुख) ले बुटवलमा गएर बोल्नुभएको थियो, 'यिनीहरूलाई धेरै बढाइचढाइ गर्नु जरुरी छैन । यिनीहरूले अदालतमा गएर एउटा कुरा गरेका छन् । बाहिर अर्को कुरा गर्छन् ।' उहाँको अभिव्यक्ति साँचो थियो । 

मदन भण्डारी बनाइदिने त्रास

९ पुसमा विद्यार्थी संगठनहरू मिलेर आन्दोलनलाई नयाँ उचाइमा लैजाने कार्यक्रम तय गर्‍यौं । 'राजसंस्थाको सान्दर्भिकता कति ?' यस विषयमा २० पुसमा त्रिचन्द्र कलेजमा पहिलो बहस चलायौं । 

त्यो त्यतिबेलाको महत्वपूर्ण घटना थियो । कार्यक्रम भव्य भयो, जसका कारण हाम्रो हिम्मत बढ्यो । दरबारअघि उभिएर 'राजसंस्था चाहिँदैन' भनेर नारा लगाउनुपर्छ भने सबै विद्यार्थी नेताले । 

केही दिनपछि त्रिचन्द्रबाट निस्किएको जुलुस रातो घरको चौराहामा अडियो । मैले पहिलो पटक घोषणा गरें, 'तिथिमिति टिपेर राख्नूस्, दरबार मेरो ठीक अघिल्तिर छ । सुन्दा तपाईंहरूलाई अचम्म लाग्न सक्छ । तर, याद गर्नूस्, नेपालमा अब यो राजसंस्था ढल्यो, ढल्यो । नेपालमा गणतन्त्र आयो, आयो । यसलाई कसैले पनि रोक्न सक्दैन अब ।' 

मैले त्यसो भन्दै गर्दा केही सहभागी भागेको मेरा आँखा अगाडि झल्झली आउँछ, अहिले पनि । त्रासको वातावरण थियो । 

केही दिनपछि एउटा टेलिभिजनमा मेरो अन्तर्वार्ता थियो । त्यसक्रममा मलाई पहिलो प्रश्न थियो, 'राजा (ज्ञानेन्द्र)ले टाइम्स पत्रिकामा अन्तर्वार्ता दिएका थिए । त्यसमा उनले राजनीतिक दलका नेताहरूले मसँग सरकारको भिख माग्दैछन् । त्यसको टेस्ट वा ट्याक्टिसको रूपमा उनीहरूले आफ्नो भातृ संस्थालाई राजसंस्थाविरुद्ध बोल्न लगाएका छन् भनेछन्, यस विषयमा तपाईं के भन्नु हुन्छ ?'

मेरो जवाफ थियो, 'तपाईं तिथिमिति टिपेर राख्नूस्, अब यो राजसंस्था मुलुकबाट गयो ।' 

लगत्तै कतिपय साथीभाइहरूले 'तपाईंलाई मदन भण्डारी बनाइदेला दरबारले' भनेका थिए । त्यस अन्तर्वार्तापछि घरमा आमा पनि डराउनुभएको थियो । पार्टीका नेताहरूमा पनि खैलाबैला भएको थियो । हाम्रै नेताहरूले पनि त्यस अन्तर्वार्ताबाट धेरै चित्त बुझाउनुभएको छैन भन्ने आयो । 

गिरिजाबाबुसँग पनि हाम्रो छलफल भइरहन्थ्यो । त्यसबेला साथीहरूले पार्टी लाइनविपरित बोल्यो भनेर आलोचना पनि गरे । राजसंस्थाविरुद्ध धेरै खुला रूपमा नबोल्ने भन्ने नेतृत्वबाट आयो । तर, १८ असोजबाटै निरंकुशता लादिएको शंका थियो । पार्टी नेतृत्व हाम्रो गतिविधिप्रति त्यति सन्तुष्ट थिएन । नेतृत्वले पार्टी लाइनविपरित काम गर्नेहरू भनेर म र गुरुजीको आलोचना गर्न थाल्यो । 

त्यसपछि हामी देशव्यापी घुम्यौं । र, जनमत सिर्जना गर्दै गयौं । कतिपय कार्यक्रममा म गएपछि नेताहरू जिल्ला छाडेर हिँड्नु हुन्थ्यो । किनकि, पार्टी लाइनविपरित बोल्ने मान्छे म, विद्यार्थीहरू मेरो भाषण सुन्न आउँथे नै । 

म त्यसबेला रात्रि बसमा हिँड्थें । सानो ब्यागमा लुगा प्याक गर्‍यो, जिल्ला-जिल्ला पुग्यो । केही दुर्गम जिल्लामा त माओवादी साथीहरूले 'अरू आए बोल्न दिन्नौं तर गगन थापा आए दिन्छौं' भन्न थाले । पार्टीका साथीहरूले पनि त्यही कारणले मलाई बढी बोलाउनुहुन्थ्यो । नेपालमा किन राजसंस्था राख्नु हुन्न भन्नेबारेमा बढी बहस गरेर जनमत सिर्जना गर्थ्यौं । 

१९ माघ ०६१ को घटनापछि थुप्रै साथी पक्राउ पर्नुभयो । प्रदीप पौडेल र म सँगै थियौं, त्यसबेला । प्रदीप पौडेलले शैलजा आचार्य र मार्शलजुलुम शाक्यलाई सम्झिए, त्यस दिन । र, भने, 'हामी यसरी बस्नु हुँदैन । तुरुन्तै फिल्डमा जानुपर्छ र कालो झण्डा देखाउनुपर्छ ।'

मैले प्रदीपलाई भनें, 'त्यो एउटा परिस्थिति थियो । आजको यो परिस्थितिमा पनि तिमीले र हामीले भनेको जनमत सिर्जना गर्ने हो । हामी बाहिरै बस्नुपर्छ । जोगिनु पर्छ, सम्भव भएसम्म ।' 

त्यसपछि विभिन्न ढंगले आफूलाई जोगाउँदै हामीले वैशाखसम्म कार्यक्रम धान्यौं । 

मैले नयाँबानेश्वरको एउटा सभामा बोलें । त्यसबेला काठमाडौंमा पर्चा बाँड्न पनि गाह्रो थियो । हामीले एकदमै व्यवस्थित ढंगबाट चलेका थियौं । प्रहरी कुन गौंडाबाट आउँछ भन्ने ठम्याउँथ्यौं । र, हरेक गौंडामा साथीहरूलाई राखेर कार्यक्रम गर्थ्यौ । 

सभा थियो, खरीबोटमा । पुत्ला जलायौं । सिठ्ठी बजाउने, मोटरसाइकल छाडेर हिँड्यौं । त्यसो गरेर हामी राजासँग डराएका छैनौं भन्ने सन्देश दिइरह्यौं । लुकेर पर्चा बाँड्ने र समातिने प्रवृत्तिलाई हामीले अन्त्य गर्न खोजेका थियौं । 



अनि बाटो फुक्यो

त्यसको केही दिनपछि वैशाख ०६२ मा म पक्राउ परें । त्यसबेला बन्दी प्रत्यक्षीकरणको आदेशबाट छुट्ने चलन थियो । हामी पनि छुट्यौं । 

त्यसपछि खासै कार्यक्रमहरू गर्न सकेका थिएनौं । अनामनगरमा कोक्याप नामक संस्थाको अफिस थियो । देवेन्द्रराज पाण्डे, कृष्ण पहाडीलगायत आउनुहुन्थ्यो । 

अरूले यसो गर्ने, उसो गर्ने भनेर सुझाव दिए । तर, देवेन्द्रराज पाण्डेले 'सडकमा जाने हो भने हामी आउँछौं । यस्तो कोठामा कुरा गर्ने एनजीओ, आईएनजीओको पारा हो भने हामी आउँदैनौं । सडकमा जाने कि नजाने ?' 

त्यसपछि नै हो, सबै जना रत्नपार्क केन्द्रित आन्दोलनमा कालोपट्टी बाँधेर धर्ना दिएको । 

पहिलो दिन नै सबै पक्राउ परिहाल्नुभयो । म भने बल्लतल्ल जोगिएँ । म र जीवन गौतमजी थियौं । हामी पछाडिबाट भाग्यौं । राजाको फोटो च्यातेको आरोपमा प्रदीप पौडेल र ठाकुर गैरे (तत्कालीन अखिल अध्यक्ष) पक्राउ परेर सिंहदरबार प्रहरी चौकीमा हुनुहुन्थ्यो । 

उहाँहरूलाई भेट्न गएको थिएँ, त्यहीं समातेर राख्यो । यसअघि राजकाज मुद्दा लगाएका बेला अदालतमा बोल्न नपाएर मुटुमा किला ठोकेजस्तो भएको थियो । अब बोल्न पाउने भएँ भनेर खुशी पनि भएँ । 

अदालतमा उपस्थित गराइयो । पहिलेकै जस्ता प्रश्न सोधियो, 'राजाको बारेमा तपाईंले यस्तो भनेको हो कि होइन ?' मैले भनें, 'हो । अझै भन्छु ।' त्यसका कारण पनि बताएँ । त्यसबेला सुभाष नेम्वाङले पनि वकालत गर्नुभएको थियो । भित्र मलाई बयान लिँदै गर्दा बाहिर 'ज्ञाने चोर देश छोड' भन्ने नारा लगाइरहेका थिए, विद्यार्थीहरूले । त्यो पनि, अदालतभित्रै छिरेर । अनि, नेम्वाङले मौनताका लागि आग्रह गर्नुभयो । 

नेम्वाङले भन्नुभएको थियो, 'मेरो पक्षलाई जुन आरोप लागिरहेको छ श्रीमान्, एकैछिन मौनता होस् । मेरो पक्षले लगाएको भनिएको नारा त अदालतको परिसरमै लागिरहेको छ ।' 

त्यसबेला राधेश्याम अधिकारी, हरिहर दाहाललगायत थुप्रै वकिलले सहयोग गर्नुभएको थियो । मलाई अदालतमा यो बोल, त्यो बोल भनेर कसैले भनेको होइन । राजनीतिक आन्दोलनले उचाइ लिइसकेको थियो । त्यसैले कसैले भन्ने आँट पनि गर्दैनथे । 

कृष्णप्रसाद सिटौला अदालतमा आउनुहुन्थ्यो । बयान पनि सुन्नु हुन्थ्यो । तर, उहाँले पनि यो गर, त्यो गर भन्नुहुन्नथ्यो । मलाई धरौटी मागेर पुर्पक्षमा पठायो भने एक सुका नतिर्ने भन्ने थियो, उहाँको । 

मलाई जेल चलान गर्दा आन्दोलन उचाइमा पुग्थ्यो । हाम्रो अपेक्षा थियो, हामीलाई जेल लगिदिए हुन्थ्यो । तर, अदालतले साधारण तारेखमा छाडिदियो । साधारण तारेखमा छाडेपछि म बस्छु त भन्न मिलेन । 

जेलबाट छुटेर घर आएँ । नेपाल विद्यार्थी संघको महाधिवेशन शुरु भइसकेको थियो । विमानस्थलमा ठ्याक्कै गिरिजाबाबुसँग जम्काभेट भयो । साथीभाइहरूको ठूलो पंक्ति मलाई लिन आएको थियो । एउटा माहोल बनेको थियो । 

मैले चिनेका गिरिजाबाबु

नेविसंघमा समस्या देखियो, अधिवेशन भएन । त्यहीबीचमा गिरिजाबाबुले विराटनगरमा 'नरहरि र गगन दरबारिया हुन् भन्नुभयो' भन्ने कुरा छापाबाट आयो । तुरुन्त काठमाडौं फर्केर मैले रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरें र त्यस भनाइलाई चुनौति दिएँ । 

मैले भनेको थिएँ, 'म केही पनि बोल्दिन तर यो आरोपलाई पुष्टी गर्नूस् । होइन भने म छोड्दिनँ ।' भोलिपल्ट बिहान गिरिजाबाबुले मलाई फोन गर्नु भयो । र, भन्नुभयो, 'पत्रकारले लेखिदिएको चाहिने, नचाहिने कुरा तिमीले पत्याउने ? त्यस्तो मैले बोलेको छु ?' 

गिरिजाबाबुले भनिसकेपछि मैले 'पत्रकारले भनेको किन पत्याउँछु र ? मैले गिरिजाबाबुले भनेको पत्याउँछु नि' भनें । तर, 'गिरिजाबाबुले मैले भनेको होइन भनेर सार्वजनिक रूपमा भनिदिनूस्' भन्दै आग्रह गरें । 

गिरिजाबाबुले तुरुन्त पार्टीबाट वक्तव्य निकाल्न लगाउनुभयो, 'यस्तो कुरा भएकै छैन । यो बेकारको कुरा हो ।' त्यो 'च्याप्टर' त्यहीं 'क्लोज' भयो । 

तथापि, नेतृत्व यसबारेमा खुशी छैन भन्ने बुझें त्यसलाई । तर, त्यस्तो बेखुशीले हामीलाई कहीं कतै प्रभावित पार्नेवाला थिएन । पार्टी र हामीबीचमा द्वन्द्व भइरहन्थ्यो । हामी गणतन्त्रको विषय र सन्दर्भमा अलिक अगाडि थियौं भने नेतृत्व केही पछाडि । 
 
हामीले दोस्रो पटक बयान दिँदै गर्दा अदालत परिसरमै 'ज्ञाने चोर देश छोड' भन्ने नारा लगाइरहेका थिए, विद्यार्थीहरूले ।

गिरिजाबाबु एकमदै 'फास्ट' तर माझिएको नेता हुनुहुन्थ्यो । उहाँ जनमत पनि निर्माण हुँदै गरोस् भन्ने सोचमा देखिनुहुन्थ्यो । तर, पार्टीले 'पोजिसन' लिने कुरामा ऐन, मौका विचार गर्ने उहाँको सोच थियो । रोकेजस्तो पनि गर्ने तर भन्न पनि केही नभन्ने । 

उहाँ हामीलाई रोक्न चाहनु हुन्थेन भन्ने अदालतकै बयानका क्रममा पनि देखिएको थियो । पहिले सन्देशवाहक पठाएरै रोक्नुभएको थियो । पछि केही सन्देश पनि पठाउनु भएन । 

आफूले भन्दा बढी गिरिजाबाबुलाई कसले बुझेको छ र जस्तो पार्टीका कतिपय नेतालाई लाग्थ्यो । 

गिरिजाबाबुले भनेको कुराको सन्दर्भलाई लिएर एकदम चर्को विरोध गर्नुहुन्थ्यो, नेताहरूले मेरो । उहाँहरूलाई के थाहा थिएन भने गिरिजाबाबुले मलाई कहिले साँझमा, कहिले बिहानै एक्लै बोलाउनुहुन्थ्यो । अनि, यसो, यसो गर है । तिमीले गरेको सब ठीक छ भन्नुहुन्थ्यो । 

मसँग भएको सल्लाहबारे अरूले अत्तोपत्तो पाउँदैनथे । बाहिर एकथरि गिरिजाबाबुको भक्त हुँ भन्नेहरू चाहीं 'यो गगनले पार्टीको लाइनविपरित बोलिरहेछ' भन्थे । 

गृहमन्त्रीको ट्यांक चलाउने धम्की

हाम्रो कार्यक्रम कहिले लाठी जुलुस त कहिले पुत्ला जलाउने हुन्थ्यो । हाम्रा नाराहरू पनि त्यस्तै हुन्थे, नेताहरूले 'यो अलिक उग्र भयो' भन्थे । 'मास'लाई 'कन्भिन्स' गर्न देशव्यापी कार्यक्रम गर्थ्यौ । गणतन्त्रका पक्षमा एउटा पुस्ता नै तयार भइसकेको थियो । 

यहीबीचमा १२ बुँदे समझदारी भयो । अनि, हामी चैतको अन्तिम आन्दोलनमा आइपुग्यौं । 

आन्दोलन गर्ने तयारी भयो । कमल थापाजी गृहमन्त्री हुनुहुन्थ्यो । आन्दोलन थाल्नु दुई दिनअघि बाटोमा ट्यांक कुदाउँछु भनेर धम्की दिनुभयो । मैले रिपोर्टर्स क्लबमै गएर 'ट्यांक कुदाए मेरो छातिमा कुदाउनु पर्छ । छाति थाप्छु' भनें । 

प्रहरी आयो, त्यहाँबाट लुगा फेरेर भागि हालें । किनकि, मलाई जनमत जुटाउनु थियो । बोल्नुपर्छ भन्ने थियो । पहिले सानातिना कार्यक्रम भए । रबरका गोली चले । एक दिन मैतीदेवीमा एउटा साथीले विजुलीको पोलतिर हाने । त्यो पड्कियो र प्रहरी आयो । हामी गल्लितिर छिर्‍यौं । 

एउटा घरमा सुरक्षित तवरले बस्यौं । साथीहरूले 'उहाँ हाम्रो नेता हो, उहाँलाई सुरक्षित राख्नूस् । आर्मी आए पनि उहाँलाई चाहीं हुन्न भन्नोस्' भने । आर्मी मलाई त्यही घरको छेउछाउ आएर खोज्दै थियो । घरबेटी दिदीले मेरो अनुहार हेर्दै भन्नुभयो, 'हिजो ट्यांक आए पनि हाने हानोस् छातिमा भन्ने तपाईं नै होइन ? हिजो यस्तो कुरा भन्ने आज लुक्नचाहीं घर-घर धाउने ?' भन्नुभयो । उहाँले भनेको कुरा अझै म बिर्सिन्न । 

मैले साथीहरूलाई भनें, 'मैले त्यहाँ बोले पनि हामी लड्न जाने त होइन नि । जनमतको लागि पो भनेको त ।' घरबेटी दिदीलाई उहाँका श्रीमान्ले सम्झाउनुपरेको थियो । त्यहाँ हामी जोगियौं । 

कीर्तिपुर, बालाजु, चाबहिल, मैतीदेवीका कार्यक्रममा सहभागी हुन्थ्यौं । ठूलो सभा भएका ठाउँमा कहीं न कहींबाट पुग्थें । कहिले मोटरसाइकल त कहिले कुनै उपाय लगाएर । मैले बोलेपछि साथीहरूलाई एक प्रकारको जोश आउँथ्यो ।

उत्कर्षतिर आन्दोलन

७ वैशाख ०६३ मा ज्ञानेश्वरको मार्टियस स्कुलमा कार्यक्रम सकेर म महाराजगञ्जमा एक साथीको घरछेउमा अरू साथीहरूसँग बसेको थिएँ । भोलिपल्ट महाराजगञ्जमा विशाल सभा गर्ने कार्यक्रम थियो । ८ वैशाखमै राजाको घोषणा आयो । हामी सबै जना गिरिजाबाबुको घरमा जानुपर्‍यो, महाराजगञ्जमा । त्यहाँ सात दलका नेताको छलफल चलिरहेको थियो ।

बाहिर जम्मा भएको भीडले भित्र बसेका नेताहरूलाई गालीगलौज गरिरहेको थियो । 'चाँडो बाहिर निस्की, राजा फाल्नुपर्छ' भन्दै थियो भीडले । त्यही भीडबाट संविधानसभाको आवाज आयो । त्यसको अर्थ माओवादी साथीहरू पनि सडकमा निस्किएका थिए । 

त्यस दिन दिउँसोसम्म मानिसलाई कसरी जोशिलो र आन्दोलित बनाउने भन्ने थियो । तर, हामी त्यति परिपक्व भइसकेका थिएनौं । तत्क्षण मेरो जिम्मेवारी भनेको त्यो भीडलाई सम्हाल्नु र कुनै दुर्घटना हुन नदिनु थियो । 

भीडको दबाब थामथुम पार्न भित्र एउटा वक्तव्य तयार भयो । गिरिजाबाबुको निवासको माथिल्लोपट्टि पर्खालको गेटमा चढेर वक्तव्य पढें । भीडले कसैलाई बोल्न दिँदैनथ्यो । मलाई मात्र बोल भन्थ्यो । 

सात दलले निकालेको वक्तव्यमा हुँदै नभएको लाइन आफैं थप्दै 'संविधानसभाप्रति हामी शतप्रतिशत प्रतिबद्ध छौं' भनिदिएँ । भीडले ताली बजाएर स्वागत गर्‍यो । र, हामी त्यहाँबाट निस्किएर हिँड्यौं । 
 
हामीले दोस्रो पटक बयान दिँदै गर्दा अदालत परिसरमै 'ज्ञाने चोर देश छोड' भन्ने नारा लगाइरहेका थिए, विद्यार्थीहरूले ।

त्यसदिन मैले 'गिरिजाबाबुलाई मैले भेटेर आएँ । उहाँले यसो यसो भन्नु भएको छ' भन्थें । खासमा, गिरिजाबाबुलाई सञ्चो पनि थिएन । तर, भीडले 'गिरिजाबाबुले नै बोल्नुपर्छ । विरामी छु भनेर हुँदैन' भन्थ्यो । त्यसदिनको उत्तेजित भीडलाई हामीले जसोतसो सम्हाल्यौं । 

त्यसपछि हामी खुलामञ्च पुग्यौं । अर्को दिन पृथ्वीनारायण शाहको शालिक भत्काउन केही साथी आउनुभयो । म पनि पुगें । र, भत्काउन दिएनौं । भीडलाई सम्हाल्दै र जनमत बढाउँदै जाने काममा हामी लाग्यौं । 

आन्दोलनमा उत्रिएको जनमतको चिन्ता थियो, 'आन्दोलनको माग राजासँगको सम्झौतामा नटुंगियोस् ।' हामीले पनि निरन्तर दबाबमुलक कार्यक्रम गरिरह्यौं, विद्यार्थी संगठनहरूका नाममा । 

सिंहदरबारभित्रै नारा, जुलुस

राजाको ११ वैशाख ०६३ को घोषणाबाट संसद् पुनःस्थापना भयो । शाही शासन ढल्यो । त्यसपछि अन्तरिम सरकार गठन भयो, गिरिजाबाबुको नेतृत्वमा । एक दिन त मन्त्रीका स्वकीय सचिव रहेका हामै्र साथीहरूको सहयोगमा सिंहदबार छिर्ने पास माग्यौं । र, संसद भवन अगाडि पुगेर कार्यक्रम गर्‍यौं ।

अन्तरिम संसद थियो । हामीले संसद भवन अगाडि एक्कासी सुतेर नारा लगाउन थालेपछि प्रहरीहरू नै आत्तिए । त्यसक्रममा नेताहरूका विरुद्धमा पनि लेख्यौं र बोल्यौं । 

लगातार लेख लेख्ने, अन्तर्वार्ता दिने, घुम्ने काम गर्थें मैले । हामी एउटै मात्र कुरामा केन्द्रित थियौं, 'गणतन्त्रको विषयमा सम्झौता गर्न पाउँदैनौ । माओवादीसँग शुरु भएको शान्ति प्रक्रिया तुहाउन पाउँदैनौ ।' नेताहरू तयार नभई त्यो प्राप्त गर्न सम्भव थिएन । त्यसैले, निरनतर दबाब दिइरहयौं । 

संविधानसभा निर्वाचनअघि कांग्रेसकै नेताहरूबाट 'बेबी किङ'को कुरा आयो । हामीलाई लाग्यो, पानीमाथि ढुंगा हानेर परीक्षण गरेका होलान् । 

१५ जेठमा गणतन्त्रको घोषणा हुनुअघि पर्दा पछाडि बसेर काम गर्ने धेरै नेता अझै हुनुहुन्छ । पत्रकार सम्मेलन गरेर राजा सजिलै बिदा हुने वातावरण त्यसै बनेको होइन । त्यसबेला हामीले कल्पना नै नगरेको दुर्घटना पनि हुनसक्थ्यो । 

बुद्धिमतापूर्ण तवरले राजसंस्थालाई अवतरण गराउन नेताले भूमिका निर्वाह गरेको मान्छु म । जनदबाब सिर्जना गर्ने भूमिकामा हामी पनि खरो उत्रियौं भन्ने लाग्छ । 

मलाई के कुरामा पटक्कै भ्रम छैन भने हामी, सात पार्टी या माओवादीले गर्दा मात्र यो गणतन्त्र आएको होइन । हामीले के बिर्सन हुन्न भने ००७ सालको परिवर्तन र ०४६ सालपछिको आर्थिक-सामाजिक नीति मुलुकले अंगिकार गर्‍यो । त्यसका अनेकौं परिदृष्य छन् । मानिसले शिक्षा पाए । र, युवा विदेशमा काम गर्न गए । त्यसले राजसंस्थाको 'रुट' खल्बल्याई दियो । 

नेपाल धेरै युवा-युवती भएको देश बन्यो । विश्वविद्यालय पढ्ने धेरै युवा-युवती भए । माओवादी द्वन्द्वले समाजलाई एक प्रकारले राजनीतिकरण गर्‍यो । दरबार हत्याकाण्डपछि राजा वीरेन्द्रको वंश नाश भयो । र, त्यसपछिको राजसंस्थालाई जनताले स्वीकारेनन् । 

राजा महेन्द्रले जस्तो राजा ज्ञानेन्द्रले 'कु' गर्दा धेरै ठूलो सम्झौता पुगेर गद्दी त्याग गर्नुपर्‍यो । उनी राजपाठ चलाउने नभई आफ्नो व्यापार, व्यवसाय जोगाउनतिर लागे । र, आधारभूत रूपमा व्यापारीको भेषमा प्रकट भए । राजाको जस्तो छनक नै दिन सकेनन् । 

यी थुप्रै कारणले गणतन्त्रको वातावरण तयार भएको हो । राजनीतिक दललाई निर्णय लिन भने हामीले वातावरण बनाइदिएका हौं । 

थापासँग गरिएको कुराकानी भिडियोमा हेर्नुहोस्

हामी चुक्यौं

मुलुकमा गणतन्त्र त आयो, जनअपेक्षा अनुरूपका काम गर्न हामी शायद चुक्यौं । गणतन्त्र संस्थागत हुन बाँकी नै छ । 

जापान, बेलायत, नर्वेजस्ता संसारका थुप्रै देशमा संसदीय प्रजातन्त्र र राजतन्त्र सँगसँगै हिँडेका छन् । हाम्रोमा पनि २०औं वर्ष त्यही कोशिस भएको हो । तर, राजसंस्थाकै कारण त्यो सम्भव भएन ।

हामीले राजसंस्थालाई कुनै सुविधा दिएको भए फेरि अर्को ४/५ वर्षपछि कुनै न कुनै अस्थिरतामा टेकेर फेरि राजा गद्दीमा फर्किने दिन आउँथ्यो । हाम्रो लोकतन्त्रले परिपक्वता हासिल गर्न सक्दैनथ्यो । 

अब लोकतन्त्र परिपक्व हुन पाउँछ । यही नै सबै कुरा पनि होइन । नेपालको बाटो भनेकै प्रजातान्त्रिक राजनीतिको बाटो हो । नेपालकै अनुभवका आधारमा स्पष्ट भन्न सकिन्छ, यहाँ राजतन्त्र र प्रजातन्त्र सँगसँग जान सक्दैनन् । त्यसका लागि राजसंस्थालाई निषेध गर्न जरुरी थियो ।

हाम्रा भूमिकाहरू बदलिएका छन् तर उद्देश्यहरू बदलिएका छैनन् । कुनै बेला मेरो काम आन्दोलनमार्फत् जनमत सिर्जना गर्नु थियो । कुनै बेला जनतालाई जोगाउनु पनि थियो । 

संविधानसभाबाट संविधान ल्याउन जरुरी छ नत्र उपलब्धिहरूको रक्षा हुँदैन है भन्दा म आलोचित पनि भएँ । मधेश र त्यहाँका बासिन्दालाई उपेक्षा गर्दा लोकतन्त्रको उपलब्धि दुर्घटनामा पुग्छन् भनेर जोडतोडका साथ आवाज उठाइयो । 

म गणतन्त्र नेपालको सांसद हुँदै गर्दाका मेरा आफ्नै जिम्मेवारीहरू छन् । गणतन्त्रको सफलताको महत्वपूर्ण कुरा हो, छिमेकीसँगको सम्बन्धलाई सन्तुलित राख्नु । यसमा हामी जति एकताबद्ध हुन सक्छौं, त्यति नै गणतन्त्रको सफलता हुनेछ । 

कहिले एउटा र कहिले अर्को छिमेकीको कार्ड खेल्दा गणतन्त्र नै खतरामा पर्छ । राजसंस्थाले गरेको गल्तिकै पुनरावृत्ति हुन्छ । गणतन्त्रको यात्रा ठीक ढंगले अगाडि बढेको छ । 

नेपालको राजसंस्थाले राजनीतिक प्रणालि मात्र होइन, सामाजिक र सांस्कृतिक मूल्य, मान्यताको पनि प्रतिनिधित्व गथ्र्यो । अब ती सबैको प्रतिनिधित्व गर्ने दायित्व राजनीतिक दलहरूको हो । 

हामी कहाँनेर चुक्यौं भने कुनै व्यक्तिको देवत्वकरण गर्‍यौं र कसैको दानवीकरण । संस्था बलियो बनाउने कुरामा पटक्कै ध्यान दिएनौं । 

१० वर्षअघि पनि एउटा नेपाली नागरिक गरिबीबाट बाहिर निस्किन संघर्ष गर्दैथियो । अहिले पनि संघर्ष नै गरिरहेको छ । जनताको जीवनमा कुनै परिवर्तन आएको छैन । हामी चुकेको त्यहीं हो । (कुराकानीमा आधारित)




प्रतिक्रिया