प्रहरी खोरमा पुगेपछि साउँद ठगी गरेको रकम फिर्ता गर्न तयार 

Jhankar_Saud.jpg

काठमाडौं-  विदेश पठाईदिने भन्दै चार जना युवा ठगि गरेको आरोपमा प्रहरी हिरासतमा पुगेका अछामको रामारोशन गाउँपालिकाका अध्यक्ष झंकर साउँद (भाष्कर) ले आफूले लगेको रकम फिर्ता गर्ने सहमति गरेका छन्।
 
मंगलबार पीडित पुर्ण खड्का, अभियुक्त साउँद र उनकी श्रीमति प्रहरी प्रभाग काँडाघारीमा भएको छलफलपछि साउँदले आफूले गम्भीर गल्ती गरेको महशुश गर्दै खड्कालाई बाँकी रकमको चेक दिँदै साउन ३ गतेभित्र सम्पूर्ण रकम चुक्ता गर्ने बाचा गरेपछि उनी प्रहरी हिरासतबाट मुक्त भएका छन्। साउँदलाई सोमबार बेलुकी काठ्माण्डौस्थित कोठाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो।
 
ठगीको नालीबेली

२०७२ सालको दशैंको आसपासतिर प्रमुख साउँदले खड्कालाई काठमाडौंमा सामान्य किराना पसल गरेर नचल्ने बताउँदै ३ र ४ जना साथी खोज्नुस् र उनीहरुसँगै तपाई पनि आकर्षक तलब सहितको राम्रो काम गर्न मकाउ जानुस् भने। तर यस कामका लागि उनले खड्कालाई प्रत्येक व्यक्तिले अग्रिम २-२ लाख रुपैयाँ आफूलाई दिएमा काम पक्का बन्ने आश्वासन दिए। प्रमुख साउँदको तत्कालीन माओवादी पार्टी भित्रको छवि र त्यस पार्टीका नेता कार्यकर्ताहरु कठिन संघर्षबाट आएका हुनाले धोका नहुने विश्वासका साथ खड्काले आफ्ना अति मिलनसार प्रहरी साथीहरुलाई साउँदको प्रस्ताव जस्ताको त्यस्तै राखे।

लामो समयदेखि खड्कासँग परिचित उनका ३ जना प्रहरी साथीहरु राजेन्द्रबहादुर चन्द, विष्णु बहादुर खत्री र रवी बहादुर बस्नेतले साउँदले खड्कासँग राखेको प्रस्तावमा सहमति जनाए। त्यसपछि आकर्षक कामको पर्खाइमा विश्वस्त खड्का र उनका तीनै जना साथीहरुले २०७२ चैत्र १० गते प्रतिव्यक्ति १-१ लाखका दरले नगद ३ लाख र बैंक खातामा १ लाख जम्मा गरी साउँदलाई बुझाए। 

यसरी ४ लाख पैसा बुझेपछि माओवादी नेतासमेत रहेका साउँदले खड्कालाई अब धेरैमा दुई हप्तापछि चारै जना मकाउ पुगेर काममा लागिसक्ने बताए। त्यससँगै बाँकी रहेको प्रतिव्यक्ति ६-६ लाख प्रत्येकले ठिक्क पारेर राख्न समेत भने। साउँदले मकाउमा जागिर पक्का गरेको विश्वासमा खड्का र उनका साथीहरु दंग परे। तर ४ लाख बुझाएको दुई हप्तापछि साउँदलाई सम्पर्क गर्दा उनको मोबाइल स्वीच अफ थियो। किराना पसले खड्काले भने आफ्ना साथीहरुलाई साउँद सम्पर्क विहिन भएको बताउन सकेनन्। 

साउँदसँग सम्पर्क टुटेपछि खड्का भने मानसिक तनावको शिकार बन्न पुगे। ६ महिनासम्म साउँद सम्पर्कमा नआएपछि खड्काका प्रहरी साथीहरु उनको पसलमा आएर सुरुमा सोधीखोजी मात्र गरे र विस्तारै दुःख दिन थाले। साथीहरु पसलमै आएर श्रीमति र छोराछोरीलाई पनि दुःख दिन थालेपछि खड्का स्थानीय चुनावका बेला साउँद प्रमुख पदमा चुनाव लडिरहेको रामारोशन गाउँपालिकामै भेट्न पुगे। चुनावी प्रचारप्रसारमै रहेको बेला खड्का रामारोशन आइपुगेपछि साउँदले चुनावको बेला यस्तो कुरा बाहिर नल्याउन आग्रह गर्दै चुनावलगत्तै काठमाडौं आएर चारै जनालाई मकाउ पठाउने वा पैसा फिर्ता गर्ने वाचा गरे।

आफ्नै जिल्लाको जिम्मेवार नेता र त्यसमाथि गाउँपालिकाको प्रमुखको उम्मेदवार समेत रहेका साउँदले यसरी पुनः आश्वासन दिएपछि खड्का फेरि ढुक्क भए र साथीहरुलाई पनि सम्झाए। तर चुनाव सम्पन्न भएको १ बर्ष पुग्न लाग्दा पनि साउँद सम्पर्कमा नआउने, फोन नउठाउने, फोन काट्ने, स्वीच अफ गर्ने मात्रै नभई काठमाडौं आउँदा समेत खड्काबाट लुकीलुकी बस्न थाले। 

उता खड्काका प्रहरी साथीहरुमध्ये हाल गौशाला प्रहरी वृत्तमा कार्यरत दार्चुलाका राजेन्द्र बहादुर चन्दले भने खड्काले आफ्नो पैसा लगेर लामो समयदेखि नदिएको उल्लेख गर्दै उनको पसलमा नियमित दबाव दिन थाले। खड्काले आफ्नो र परिवारको सुरक्षा र इज्जतका लागि भन्दै गत बैशाख १५ गते चन्दलाई आफ्नै खाताको चेक दिए तर बालकोटमा सामान्य किराना पसल चलाएर जीवन निर्वाह गरिरहेका खड्काको खातामा निर्धारित समयभित्र पैसा जम्मा हुन नसकेपछि चन्दले महानगरिय प्रहरी परिसर हनुमानढोकामा उजुरी दिए। 

यसरी एकातिर आफूसहित साथीहरुको पैसा ठगीमा परेको र अर्कोतिर आफ्नै साथीबाट आफूलाई उजूरी परेको कारणले खड्का पुनः बीसौं हजार खर्च गरेर निर्वाचित भैसकेका गाउँपालिका प्रमुख झंकर साउँदको कार्यालय अछामको रामारोशन पुगे। तर रामारोशनमा ६ दिन बस्दा समेत पैसा दिनु त कहाँ हो कहाँ, आफूलाई कुनै पनि रेस्पोन्स नगरी अल्मल्याएको खड्का बताउँछन्।

गाउँपालिका प्रमुख साउँद कुनैपनि हालतमा सम्पर्कमा आउन नमानेपछि पीडित खड्काले अछामस्थित जिल्ला प्रहरी कार्यालय र नेकपाको पार्टी कार्यालयमा साउँदविरुद्ध उजुरी दिने तयारी थाले। खड्काको तयारीबारे चाल पाएपछि साउँदले तत्काल फोन गरी खड्कालाई अछामको जिविस कार्यालय पछाडि भेट्न बोलाए। भेटमा साउँदले सोही दिन एक लाख नगद दिदै बाँकी रकम असार १० गतेभित्र काठमाडौं आएर चुक्ता गर्ने वचन दिए। उक्त दिन उजुरी रोक्न एक लाख दिए पनि पुनः प्रमुख साउँद खड्काबाट पूर्ण रुपमा बेखबर भए। यहाँसम्म आइपुग्दा बीचमा दिएको ५० हजार सहित जेनतेन १ लाख ५० हजार रुपैया पाएपनि उनको बाँकी रकमका कारण खड्का पुनः तनावमा आए।

पैसा आउने आशमा खड्काको दिन, हप्ता गर्दै महिना बित्यो। खड्काले श्रीमतिको गहना बेचेर र सहकारीबाट २० प्रतिशत ब्याजदरमा ऋण काढेर तीनै जना साथीहरुको रकम फिर्ता गरेपनि आफू भने पीडित भइरहे। बिनाकारण आफू ठगिएको महशुस गरेका खड्काले असार २९ गते साउँद काठमाडौं आएको चाल पाएपछि फोन गरे तर उनको फोन रिसिभ भएन। फोन रिसिभ नभएपछि नयाँ आर्थिक बर्ष शुरु नहुँदै ऋण चुक्ता गरिसक्नुपर्ने कारणले सहकारीको चपेटामा परेका खड्काले साउँदकी श्रीमति र उनको पार्टीका जिल्ला संयोजक झपट साउँदलाई समस्या समाधान गरिदिन अपिल गरे। संयोजक साउँदले आफूलाई उक्त कुराको कुनै सरोकार नभएको बताउँदै फोन रिसिभ गर्न छोडे भने प्रमुख साउँदकी श्रीमतिले पनि चेतावनीयुक्त भाषामा आफूलाई आइन्दा फोन नगर्न भनिन्। 

यसरी आफ्नो पैसा असूल हुने नदेखेपछि खड्काले पुनः न्यायको खोजीमा महानगरीय प्रहरी परिसर हनुमानढोका काठमाडौंसम्म पुग्नुपर्ने अवस्था आयो। उनको उजुरीपछि परिसरले महानगरीय प्रहरी वृत्त तिनकुनेमा जानकारी गरायो। प्रहरीले सोमबार बेलुकी ८ बजेर २१ मिनेट जाँदा गाउँपालिका प्रमुख झंकर साउँदलाई उनको काठमाडौं काँडाघारीस्थित डेराबाट पक्राउ गरेको हो। 



प्रतिक्रिया