पाकिस्तानको चुनावी र्‍यालीमा बम आक्रमण, कम्तीमा १३२ को ज्यान गयो

Pakistan_sucide_bombing.jpg

पाकिस्तान- बलोचिस्तान प्रान्तमा एक स्थानीय राजनीतिज्ञको चुनावी र्‍यालीमा आत्मघाती बम आक्रमण हुँदा उम्मेदवारसहित कम्तीमा १३२ को ज्यान गएको छ।

पाकिस्तानको दक्षिणपश्चिमी बलोचिस्तान प्रान्तमा आयोजित एक निर्वाचन र्‍यालीमा शुक्रबार दिउँसो भएको बम आक्रमणमा १३२ जनाको ज्यान गएको छ भने दर्जनौँ घाइते भएका छन्। त्यसअघि उत्तरी नगर बन्नुमा भएको बम विस्फोटनमा चारजनाले ज्यान गुमाएका थिए।

भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाइएका देशका भूतपूर्व प्रधानमन्त्री नवाज शरिफ स्वदेश फर्केका केही घण्टामै उक्त घटना भएको हो।  जेल सजाय  सुनाइएका पुर्वप्रधानमन्त्री शरीफ शुक्रबार छोरी मर्‍यामसँगै लण्डनदेखि गृहनगर लाहोर फर्किएका हुन्। एक हप्ता पहिले पाकिस्तानी अदालतबाट दश बर्षको जेल सजायको फैसला भएकाले पक्राउ पर्ने खतरा हुँदाहुँदै पनि शरीफ जेल जान तयार भएर स्वदेश फर्किएका हुन्। 

निर्वाचनको पुर्वसन्ध्यामा गरिएको फैसलालाई अर्थपूर्ण र रणनीतिक रुपमा लिइएको छ। पूर्वप्रधानमन्त्री शरीफ आफ्नी श्रीमतीको क्यान्सरको उपचारका लागि केही समयदेखि बेलायतको लण्डनमा गएका थिए। 

नेता शरिफ गतवर्ष सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री पदबाट पदमुक्त भएका थिए। लामो समयदेखि चर्चामा रहेको पानामा पेपर्समा सार्वजनिक भएको सूचनाअनुसार लाभप्रद व्यवसायमा देश बाहिर परिवारको संलग्नतामा लगानी गरेको र त्यसको विवरण आफ्नो सम्पत्ति विवरणमा नदेखाएको आरोप सरिफमाथि छ।  शरिफको पार्टीले भनेको छ, उनी स्वदेश फर्कनुअघि उनका सयौँ समर्थकहरूलाई अधिकारीहरूले पक्रेर थुनामा राखेका छन्। 

शरिफले आफूविरुद्ध राजनीतिक पूर्वाग्रह राखेर मुद्दा चलाइएको र फैसला गरिएको दाबी गरेका छन्। सरकारले "जनतालाई दमन गरेकाले निर्वाचनको विश्वसनीयता गुम्न लागेको" उनको भनाइ थियो। 

दुई दिनअघि पनि पेशावरमा आयोजित राजनीतिक भेलामा भएको आत्मघाती बम हमलामा २० जना मारिएका थिए। उक्त आक्रमण आफूले गराएको तालिबानले दाबी गरेको थियो।

पाकिस्तानमा यही जुलाई २५ तारिखमा निर्वाचन हुने तय भएको छ । निर्वाचन नजिकिदै जाँदा र शरीफ स्वदेश फर्किएपछि सुरक्षा खतरा थप बढेको अधिकारीहरूले बताएका छन्।



प्रतिक्रिया