शालीन गुरु राजेन्द्रदेवसँगका अविस्मरणीय क्षण

/assets/plugins/bower_components/fileman/Uploads/rajendradev.jpg

बिहान उठ्नेबित्तिकै फेसबुक खोलेर ताजा अपडेट लिने बानी परेको छ अचेल। आज फेसबुक खोल्नेबित्तिकै एउटा स्ट्याटसले मेरो मथिङ्गल हल्लाइदियो। धेरैले पोस्ट गरेका थिए, ‘हार्दिक श्रद्धाञ्जलि राजेन्द्रदेव सर।’ 
पत्याउन कठिन भयो, त्यसैले आधिकारिकताका लागि गोरखापत्र अनलाइन हेरेँ। पत्याउन विवश भएँ। आँखा उघ्रिएको मात्र थियो, दुःखद समाचार सुन्नुपर्याे। मन एकतमास भयो। दिमागमा उहाँको मुस्कानसहितको चित्र बारम्बार दोहोरिरहे। असल अभिभावक गुमाएको महसुस गरेँ। धीत मर्ने गरी रोएँ। 

शिशु कक्षादेखि स्नातकोत्तरसम्म अध्ययन गर्दा धेरै गुरु–गुरुआमाबाट शिक्षा लिएकी छु। धेरैमध्ये केही गुरुमात्र मेरो सही मार्गदर्शक हुनुहुन्छ। राजेन्द्र सर त्यस्तै हुनुहुन्थ्यो मेरा लागि। 
राजेन्द्र सर नेपाल टेलिभिजनमा २२ वर्ष समाचार प्रमुख रहनुभयो। त्यसबेला उहाँलाई मैले एक पटक मात्र भेट्ने मौका पाएकी थिएँ, त्यो पनि राष्ट्रिय समाचार समिति (रासस) मा काम गर्दाताका।

पहिलो भेटमा उहाँसँग धेरै कुराकानी गर्न पाइनँ। मैले उहाँको दायाँतिर जुल्फी ढल्काएर कोरेको सेतो कपाल भने भुल्न सकेको थिइनँ। केही वर्षपछि मैले उहाँलाई पत्रकारिताको स्नातकोत्तरको तेस्रो सेमेस्टरमा गुरुका रूपमा भेटेँ। 
उहाँले ‘इन्टर कल्चरल कम्युनिकेसन’ विषय पढाउनुहुन्थ्यो। यो विषय निकै कठिन मानिन्छ। तर उहाँले यो विषयलाई सरल भाषामा बुझाउनुभएको थियो।

उहाँका हरेक शब्दमा जीवनको यथार्थ चित्रण हुन्थ्यो। म उहाँको हरेक शब्द शव्द केलाउँथे र जीवनको सारमा पुग्थे। उहाँले कक्षाकोठामा विद्यार्थीलाई भन्नुभएको थियो, “हाउ ह्युमन आर बिइङ अ मङ्किजम ?” अहिले इन्टरनेट र मोबाइलका कारण मानिस कसरी बाँदर जस्तो हुँदै गएका छन् ? यसरी उहाँले आधुनिक युगका मानिसको यथार्थ चित्रण गर्नुभएको थियो। 

सबैभन्दा रमाइलो त्यस दिन भयो, जुन दिन राजेन्द्र सरको पहिलो कक्षा हाम्रोमा थियो। उहाँ ‘तेस्रो सेमेस्टरको सेक्सन ए’ मा पस्नुभयो। उहाँले मुस्कुराएर गुडमर्निङ भन्नुभयो। उहाँले कक्षा सुरु एकदम रमाइलोसँग गर्नुभयो।
“कक्षा कोठा भनेको सबैभन्दा धेरै गल्ती गर्ने ठाउँ हो, तिमीहरू जतिसक्दो धेरै गल्ती गर।” हो, उहाँको यही वाक्यले म उहाँप्रति साह्रै प्रभावित भएकी थिएँ। उहाँले विद्यार्थीलाई कहिल्यै बोझका रूपमा लिनु भएन।
उहाँ कक्षा कोठामा पस्दा सधैँ मुस्कुराउने गर्नुहुन्थ्यो, जसले गर्दा हामीमा थप ऊर्जा भरिन्थ्यो। उहाँ बिल्कुलै फरक प्रकृतिको गुरु हुनुहुन्थ्यो। 

एक दिन राजेन्द्र सरको कक्षा चलिरहेको थियो। कक्षाकोठामै साथी अनिता बेहोस् भइन्। उहाँले अनितालाई घरको सदस्यझैँ काठमाडौं मोडेल अस्पताल पु¥याउन मद्दत गर्नुभयो। उहाँ आफैँ अघि अघि अस्पतालको आकस्मिक कक्षमा पुग्नुभयो। 

राजेन्द्र सर शालीन र शान्त स्वभावका हुनुहुन्थ्यो। कक्षामा साथीहरु अन्टसन्ट प्रश्न सोध्थे। तर, उहाँले मुसुक्क हाँसेर उनीहरुले इच्छाएको उत्तर दिनुहुन्थ्यो।
https://www.nicasiabank.com/

एक दिन त उहाँले खुलेर भन्नुभयो, ‘मेरो लभ परेको थियो तर बिहे हुन सकेन अर्थात् मैले कसैलाई मन मनै मन पराएको थिएँ तर भन्न सकिनँ।’ कक्षाभरि हाँसो फैलिएको थियो। पछि उहाँले तपाईंहरूको भोगाइ पनि यही होला भनेर टुङ्ग्यादिनुभएको थियो।  
गत भदौ २९ गते हाम्रो इन्टर कल्चरल कम्युनिकेसन विषयको परीक्षा थियो। भदौ २८ गते राति तयारी गर्दै थिएँ। पहिलाका प्रश्नपत्र हेर्दै जाँदा धेरै प्रश्नको उत्तर आएन।

मैले फेसबुकमा राजेन्द्र सरलाई देखेँ र सोधेँ सर हजुरलाई कल गर्न सक्छु ? उहाँले सहजै उत्तर दिनुभयो, सक्नुहुन्छ। मैले फोन गरेँ। उहाँ बेलाबेलामा खोकिरहनुभएको थियो। सर हजुर बिरामी हुनुहुन्छ भने ठिकै छ भैगो भनेर मैले उहाँसँग आग्रह गरेको थिएँ। तर उहाँले सहजै उत्तर दिनुभएको थियो।

‘विद्यार्थीको परीक्षा र उनीहरुका प्रश्नको अगाडि मैले बिरामी छु भन्न पाउँदिनँ। म ठिक छु, तपाईं मलाई प्रश्न सोध्न सक्नुहुन्छ।’ रातको ११ बजेसम्म मैले उहाँसँग धेरै कुरा सोधेँ। उहाँले झर्को नमानी उत्तर दिनुभयो। म निकै खुसी भएँ, पहिलोपटक विद्यार्थीप्रति यति धेरै लगाव राख्ने शिक्षक पाएकोमा। 

मैले कामना गरेकी थिएँ, चौथो सेमेस्टरमा पनि राजेन्द्र सर नै हाम्रो गुरु हुनुहोस्।  विडम्बना ! अब हामीले उहाँलाई चौथो सेमेस्टरमा मात्र नभएर कहिल्यै भेट्न पाउने छैनौँ। 
केही समयअघि मात्र उहाँको छोरा हृदयाघातका कारण मृत्यु भएको थियो। जवान छोरा गुमाएका राजेन्द्र सरमा कत्तिपनि दुःखको भाव देखिन्नथ्यो। 

विभिन्न अग्रज पत्रकारहरुले शालीन र राम्रो पत्रकारको मृत्यु भएकोमा दुःख मानेका छन्। भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले आचार्यको निधनले दुःखी भएको ट्विट गरेका छन्। 

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्षहरू तारानाथ दाहाल, सुरेश आचार्य र महेन्द्र विष्टले फेसबुकमा लामो स्ट्याटस लेखेर ‘शालीन, मृदुभाषी, कर्मशील’ पत्रकारको मृत्युले मर्माहत बनाएको भनेर लेखेका छन्। 
आदरणीय राजेन्द्र सर, हार्दिक श्रद्धासुमन !

 

प्रतिक्रिया