‘ढोल’ र ‘झिझिया’ हराउँदै गएको ‘दशहरा’

/assets/plugins/bower_components/fileman/Uploads/Jhijhiya_Dance.jpg

जनकपुरधाम- मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडादसैं पर्वका पुराना लोकपरम्परा हराउँदै गएका छन्। दसैं सुरु हुनासाथ नगर/गाउँ बस्तीमा बज्ने ढोल (नगरा) र बस्ती–बस्तीमा गरिने झिझिया नृत्य देखिन छाडेपछि राष्ट्रिय महत्वको यो पर्वमा स्थानीय लोकपरम्परा हराउँदै गएका हुन्।  

“गाम घरमें आब न ढोल बजैय, न झिझिया देखपवैछि,” (गाउँघरमा अब न ढोल बज्छ, न झिझिया नै देखिन्छ) बर्दिवास नगरपालिका–९ पशुपतिनगरकी सामाजिक–राजनीतिक कार्यकर्ता ५० वर्षीया दिपीयादेवी महतो भन्छिन्, “दशहारा पावैन आयल बुझाइए न रहल अई” (दसैं पर्व लागेजस्तो नै बुझिन्न)। दसैं सुरु भएको पाँच दिन भइसक्दासम्म बस्तीमा ढोल नबजेको र राति झिझियाको लय सुन्न नपाइएको महतोको भनाइ छ ।

महोत्तरीसहित मिथिलामा नवरात्र सुरु भएसँगै बस्तीमा ‘दसैं के ढोल’ भन्दै चमार नाइकेले बजाउने ढोल र राति महिलाले सामूहिकरूपमा गीत गाउँदै नाचिने झिझिया देख्न छाडिएपछि दिपीयादेवीजस्तै यस भेगका सर्वसाधारणले चिन्ता व्यक्त गरेका छन्। “बौवा, पुरान परम्परा सब हेराय लागल, चिन्ता लगैय जे आब हमर कि पहिचान रहत ?” (बाबु, पुराना परम्परा हराउँदै गए, अब चिन्ता लाग्दैछ, अब हाम्रो के पहिचान रहला ?) महोत्तरीकै भङ्गाहा नगरपालिका–३ का पूर्वप्रशासक ८० वर्षीय तेजनारायण सिंह थारूले भने।

घटस्थापनाकै दिन बस्तीका चमार जातिका अगुवा ठूलो आवाजको नगरा (ढोल) बजाउँदै ‘दसैं के ढोल’ भनेर कराउँदै हिँड्दा स–साना नानी उनका अघिपछि झुम्मिने गरेका कुरा अब दन्त्यकथाजस्तै भएको बुढापाका बताउँछन्। त्यसैगरी नवरात्र सुरु भएकै दिन मिथिला क्षेत्रमा घन्कने झिझिया गीत र त्यसको तालमा जादुमय तरिकाले नाच्ने नृत्यांगनाको समूह पनि अब पातलिँदै गएको छ। 

‘तोहरे लागि झिझिया बनैली हो बरमबाबा...’ को रागले सुनसान रातमा बस्तीका सडक हुँदै ग्रामदेवता (ब्रम्हस्थान( स्थलमा पुगेर बडादसैंमा मिथिलानी (मिथिलाका नारी)हरूले सुरिलो भाकामा गाउँदै फनफनी आफूलाई  घुमाएर नाचेको देखाउने यो प्राचीन तान्त्रिक नृत्य अब देखिन छाडेपछि बुढापाका मैथिल (मिथिलाका बासिन्दा(को चिन्ता बढेको हो।

गाउँनगर बस्तीका पाका चमार जातिका अगुवा बुढ्याँइले हिँडडुल गर्न छाडेर नयाँ पुस्ताका चमार युवाले पुरानो थिति नअँगालेपछि अब दसैंको ढोल बज्न छाडेको हो। “कि करु हजुर, जवतक शरीर साथ देलक तबतक ढोल बजैली, आब बेटा÷पोता ढोल बजाव नइ चाहैय, कि करु ?” (के गरौँ हजुर, जहिलेसम्म शरीरले साथ दियो, रमाइलो मानेर ढोल बजाउँथे, अब छोरा÷नाति ढोल बजाउन चाँहदैनन्, के गरौँ ?) भङ्गाहा–४ रामनगरकै चमारटोलका ७५ वर्षीय चमार समुदायका अगुवा लक्षणा राम चमारले भने। दलित समुदायभित्रको चमार जातिका नयाँ पुस्ताका किशोर र युवा रोजगारीका लागि भारत र अन्य अरब मुलुक जान थालेपछि पुख्र्याैली रितिथिति र पेशा थाम्ने छाडेको कुरा ओझलिएको चमार जातिका पाका उमेरका अगुवा बताउँछन्। 

असुर प्रवृतिविरुद्ध सात्विक प्रवृत्ति र असत्यमाथि सत्यको विजयका रूपमा मनाइने दसैंमा झिझिया नृत्य मिथिला क्षेत्रको प्रमुख आकर्षण रहँदै आएको थियो। “दसैं लागेपछि प्रत्येक रात बस्तीका महिला सहभागी हुने झिझिया नृत्य पछिल्ला केही वर्षयता देखिन छाडेको छ,” सौखीलाल यादवले भने। नेकपाका महोत्तरी जिल्ला सचिवसमेत रहेका उनले पछिल्ला केही वर्षयता गाउँ÷नगर बस्तीमा डिस्को बाजासँगै कर्कस स्वरमा बजाउन थालिएको गीत र त्यसको तालमा उफ्रदै नाच्ने देख्न छाडिएको बताए। 

दसैं लागेपछि अघि सत्य युगमा देवी दुर्गाबाट पराजित भएका दुष्ट आत्मा टोल बस्तीमा प्रवेश गरेर सर्वसाधारणलाई दुःख दिन सक्ने रुढी विश्वासका आधारमा त्यस्ता आत्मालाई प्रवेश गर्न नदिन मिथिलानीले राति जाग्राम रही ग्राम देवतालाई पुकारा गर्दै गाउने गीत र नृत्यलाई झिझिया भनिन्छ। असंख्य स–साना प्वाल पारिएको माटोको गाग्रो (घैँटो)भित्र बत्ती बालेर एक फनफनी नाच्दै घुम्ने र अरुले गीत गाउने गरेको यो पुरानो संस्कृति नयाँ पुस्ताका छोरी बुहारीले नअँगालेपछि यो लोप हुने स्थितिमा पुगेको अगुवा महिला नै बताउँछन्। “हुन त यो रुढी विश्वासको परम्परा हो,” भङ्गाहा नगरपालिकाका उपप्रमुख गंगादेवी सिंह दनुवारले भनिन्, “तर मिथिला संस्कृतिको अभिन्न अंग भनिने गरिएकाले यसलाई परिमार्जित गर्दै संरक्षण गर्न जरुरी छ।” तान्त्रिक विधिको यो गीत–नृत्य अब एक समयको कथाजस्तो बनिसकेको उपप्रमुख दनुवारको भनाइ छ।

https://www.nicasiabank.com/
मिथिलामा हराउँदै गएको यो संस्कृतिलाई केही वर्षयता गैरसरकारी सामाजिक संघसंस्थाले यदाकदा देखाउने गरेका भए पनि जनमनबाट भने हराउँदै गएको यहाँका बुद्धिजीवीको भनाइ छ। “यो औपचारिक कार्यक्रममा मञ्चन गरिने होइन, संस्कृतिसँग जोडिएको कुरा हो,” महोत्तरीको मटिहानीस्थित याज्ञबल्क्य लक्ष्मीनारायण विद्यापिठ (संस्कृत क्याम्पस) का उपप्राध्यापक ध्रुव रायले भने, “गैरसरकारी संस्थाले मञ्चमा मञ्चन गरेर यो थेगिदैन, जनमनले नै थेग्नुपर्छ।” 

मिथिला संस्कृतिको अभिन्न अंग मानिएको झिझिया गीतको नृत्यलाई जीवन्त राख्न पछिल्लो पुस्ताले चासो बढाउनसँगै पहलकदमी लिनपर्ने बुद्धिजीवीको सुझाव छ। 

अब झिझियाको लयमा नारी शिक्षाको अवस्था, सुरक्षा अवस्थाको चुनौती र वर्तमान परिवेशसँग मेल खाने भाव समेटेर यसलाई परिष्कृत गर्न पर्ने भङ्गाहा–७ मेघरोलका बासिन्दा चन्द्रनारायण सिंह थारू बताउँछन्।    

पछिल्ला केही वर्षयता झिझिया नृत्यलाई निरन्तरता दिँदै आएकी बर्दिवास-२ की ५० वर्षीया रामरती सहनी रहर गरे पनि साथी नथपिएपछि यसपालि झिझियालाई निरन्तरता दिन नसकेको बताउँछन्। “नयाँ पुस्ताका युवा छोरी–चेलीहरु वास्ता देखाउँदैनन्,” सहनीले भने, “अब त झिझिया भन्ने कुरा कुनै जमानाको कथाजस्तो गरी सुनाउने स्थिति भइसक्यो।” यद्यपि सो बस्तीकै रश्मी, निभा र बिमलासहितका नयाँ पुस्ताका युवा मिथिलानी भने यो पुरानो मिथिला संस्कृति जोगाउन अब आफूहरु लागिपर्ने बताउँछन्। 

‘चलचल गे डैनिया कदम तर तोरा बेटाके खैबौ बढम तर...’ 

दुष्टआत्माकी भनिएकी कथित बोक्सीलाई सत्तोसराप गर्दै गाइने यी गीत र यसको तालमा नाचिने झिझिया नृत्यलाई यसैको ताल र लयमा नयाँ परिवेशसँग मिलाएर अघि बढ्नुपर्ने अहिलेका सचेत अगुवा महिला बताउँछन् । “अब डायनी, बोक्सी भनेर गाली गरिने यी गीतको भावमा अधिकार प्राप्तिका लागि सचेतता बढाउने, रुढी परम्पराको ठाउँमा समानता र न्यायका पक्षका लडाइँका भाव मिलाउनुपर्छ,” बर्दिवास–९ कै अगुवा महिला नेतृ गीतादेवी महतो भन्नुहुन्छ, “झिझियालाई यसरी परिष्कृत गर्दै अघि बढे यसलाई मुलुकको समानता र न्यायको आन्दोलनकै अङ्ग बनाउन सकिनेछ।” 

झिझिया गीतमा देवी दुर्गाको प्रार्थना, बोक्सी भनिने दुष्ट आत्मालाई गाली र सन्तानको कल्याण र  दीर्घायुको कामनाको भाव हुन्छ। गीतको तालमा असंख्य प्वालैप्वाल भएको घैँटो टाउकोमा राखेर नाच्ने महिलाको नृत्यताल मनमोहक हुने गर्छ। भित्र बत्ती बालिएको सो घैँटोमा पारिएका प्वाल दुष्टआत्माले गन्यो भने नाच्नेको मृत्यु हुने भनाइ रहेकाले नाच्ने महिला फनफनी नाचेर प्वाल गन्न नसकिने अवस्था बनाउँछन्। मिथिला लोकसंस्कृतिको अभिन्न अंग मानिने यो परम्परा अब लोप हुने अवस्थामा पुगेको हो। 

पुरानो यो लोकसंस्कृति कायम राख्न अब यसलाई समयअनुसार परिष्कृत गर्दै अघि बढ्नुपर्नेमा पाका मैथिल पनि सहमत देखिन्छन्। यो अभिभारा नयाँ पुस्ताले उठाउनपर्ने पाका मैथिलको सुझाव छ।

प्रतिक्रिया