कर्णालीमा चिनियाँ च्याङ्ग्राको लर्को

/assets/plugins/bower_components/fileman/Uploads/post_images/September/Dolpa_kasi_cyangra_1.jpg

सुर्खेत- नेपालीको ठूलो चाड दसैं । एक हिसाबले भन्दा मासुको पर्व।

महलदेखि झुपडीसम्म अधिकांशका भन्सामा मासु पाक्छ दसैंमा। कतिपयले घरमै खसी ढाल्छन् त कतिले बजारबाट किनेर पनि मासुका विभिन्न परिकार पकाउँछन् । कहींकहीं पशु बलि चढाउने चलन पनि छ।

मासुमा आत्मनिर्भर छैन, कर्णाली प्रदेश । छिमेकी देशको भर पर्नुपर्ने बाध्यता छ। हिमाली जिल्लामा दसैंका लागि भनेर चीनबाट च्याङ्ग्रा आयात गरिएको छ। भेडाच्यांग्रा मुगु, जुम्ला, हुम्ला र डोल्पामा आइपुगेका छन्। हुम्लाको हिल्सा, मुगुको नाक्चेलाग्ना र डोल्पाको मोरिम्ला नाकाबाट बर्सेनि च्याङ्ग्रा भित्र्याइन्छ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीले दसैंका लागि भन्दै जिल्लामा भदौदेखि भेडाच्याङ्ग्रा भित्रिएको जानकारी दिए । ‘एक हप्ता नाका खुल्यो, त्यही मौकामा चीनबाट च्याङ्ग्रा आएका हुन्’, अधिकारीले भने । 

डोल्पामा चीनतर्फका दुईवटा नाका छन् । यद्यपि मोरिम्ला र क्याटो नाकाका भन्सार कार्यालय नहुँदा कति च्याङ्ग्रा भित्रिए भन्ने तथ्यांक छैन। दसैंका लागि ल्याइएका च्याङ्ग्रा डोल्पा र मनाङ हुँदै काठमाडौंसम्म पुर्‍याउने गरिएको उनले बताए।

चिनियाँ च्याङ्ग्रा मुगु र डोल्पा हुँदै जुम्लामा पनि आइपुगेका छन्। जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी गणेश न्यौपानेले माग बढी हुने र जिल्लाको उत्पादनले नधान्ने भएकाले चीनबाट ल्याउने बताए। हुम्लाको हिल्सा नाकाबाट पनि च्याङ्ग्रा भित्रिएका छन् । 

प्रत्येक घरमा ढालिन्छन् भेडा, च्याङ्ग्रा र खसी

दसैंमा कर्णालीका अधिकांश जिल्लाका प्रत्येक घरमा भेडा, च्याङ्ग्रा र खसी ढाल्ने गरिन्छ। ऋण गरेर भए पनि घरमा खसी काट्ने चलन रहेको जुम्ला तातापानीका विष्णु बुढाले बताए।

हुम्लाका माथिल्लो भेगमा पनि घरघरमा खसी ढाल्ने चलन रहेको चङ्खेली गाउँपालिका–५ का नरजंग तामाङले बताए। देउतालाई बलि चढाएमा वर्षभरि शान्ति मिल्ने र घरमा कुनै दुःख नपर्ने जनविश्वास छ। घरघरमा खसी काटे पनि व्यावसायिक बाख्रापालन भने गरिँदैन। त्यसैले यी जिल्लामा ठूलो मात्रामा बाहिरबाट खसीबोका र च्याङ्ग्रा आयात गरिन्छ। 



मासुमा आत्मनिर्भर छैन कर्णाली

https://www.nicasiabank.com/
कर्णाली प्रदेश मासुमा परनिर्भर छ । प्रदेशमै उत्पादन हुने खसी, बोका, भेडा र च्याङ्ग्राले मासुको माग धान्दैन। मासुमा आत्मनिर्भर नभएपछि अन्यत्रबाट ल्याएर माग पूरा गर्नेपर्ने अवस्था छ। 

सरकारी तथ्यांकअनुसार कर्णाली प्रदेशले झन्डै यहाँ खपत हुने मासुको आधाभन्दा धेरै खसीबोका आयात गर्दै आएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार कर्णालीमा वार्षिक साढे २० हजार मेट्रिक टन मासु उत्पादन हुने गरेको छ । 

मन्त्रालयको तथ्यांकअनुसार कर्णालीमा वार्षिक एक जनालाई करिब साढे एक किलो मासु अपुग हुन्छ । मागअनुसार अपुग हुने मासु भने कर्णाली प्रदेशले छिमेकी जिल्ला, चीन र भारतबाट आयत गर्दै आएको छ । कर्णालीका जुम्ला, डोल्पा, मुगु र हुम्ला जिल्लाले बर्सेनि १० हजारसम्म भेडाच्याङ्ग्रा ल्याउने गरेका छन्। 

कर्णालीका १० जिल्लामध्ये सल्यान र सुर्खेतमा सबैभन्दा बढी खसीबोका उत्पादन हुने गरेको छ । तर दुवै जिल्लामा उत्पादित खसीबोका बाहिर निर्यात हुन्छन् ।

यहाँका खसीबोका काठमाडौं, बुटवल, पोखरा लगायतका सहरमा जाने गरेका छन् । बराहताल गाउँपालिकाका पशुविकास अधिकृत धर्मराज थापाका अनुसार दसैंलाई लक्षित गरेर दैनिक एक सय पचासभन्दा बढी खसीबोका निर्यात भइरहेका छन् ।

सुर्खेतमा मासु अभाव छैन

मासुका लागि कर्णालीका अधिकांश जिल्ला परनिर्भर छ । ती जिल्लाले बाहिरबाट खसीबोका आयात गरिरहँदा सुर्खेत भने मासुमा आत्मनिर्भर छ । 

प्रदेशमा सबैभन्दा बढी मासु खपत हुने ठाउँ भए पनि सुर्खेतमा हालसम्म मासुको अभाव भएको छैन । वीरेन्द्रनगरमा दैनिक ४० देखि ५० वटा खसी काटिन्छन् । दैनिक होटल व्यवसाय र रेस्टुरेन्टका लागि वीरेन्द्रनगरमा मासु पर्याप्त हुने गरेको मासु व्यवसायी संघ सुर्खेतका अध्यक्ष टोपेन्द्रजंग शाहीले बताए। 

‘सुर्खेतमा काटिने खसीबोका बाहिरबाट ल्याउनु पर्दैन, बरु यहाँबाट काठमाडौं र पोखरा निर्यात हुन्छन्’, अध्यक्ष शाही भन्छन्, ‘दसैंतिहार जस्ता चाडपर्वमा पनि मासु अभाव हुँदैन, जिल्लामै भएको उत्पादनले थेग्छ ।’ 

कर्णाली प्रदेश सरकारले मुगु, जुम्ला, डोल्पा, हुम्ला, दैलेखको माथिल्लो क्षेत्र (महावु), जाजरकोटको बारेकोटका क्षेत्रलाई च्याङ्ग्रापालनका लागि पकेट क्षेत्र घोषणा गर्ने तयारी गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका पशु अधिकृत दीपककुमार भण्डारीका अनुसार हिमाली जिल्लाका पाटनलाई चरण क्षेत्र घोषणा गरिनेछ । 

गाउँपालिका महासंघ कर्णाली प्रदेशका संस्थापक अध्यक्ष कवीन्द्रकुमार केसीले पनि प्रदेशलाई मासुमा आत्मनिर्भर बनाउन स्थानीय सरकारले बाख्रापालन कार्यक्रममा लगानी गर्नुपर्ने बताए । स्थानीय सरकारले भेडाबाख्रा पालनमा लगानी गर्न सके केही हदसम्म युवाहरुलाई स्वदेशमै रोजगार दिन सकिने उनको तर्क छ ।

प्रतिक्रिया