आहा ! कति आनन्द दिने ‘आनन्दको कला’

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Setpember/aananda.jpg

काठमाडौं - आहा ! कति आनन्दको चित्र कोरेको है मम्मी! हात नहुँदा पनि यति राम्रो चित्र कसरी कोर्न सकेको होला यी अंकलले? दुवै हात चिउँडोमा राखेर छेवैमा बसेका दौरासुरुवाल र भातगाउँले टोपीमा सजिएका करिब १० वर्षका बालकले आमालाई प्रश्न गरे। ‘हो है बाबु’ आमाले उत्तर फर्काइन्। 

रत्नपार्कको बाहिरपट्टि पर्खालमा चारैतिर मानिस उभिएका छन्। बीचमा एक युवक आफ्नै धुनमा मस्तले चित्र कोर्दैछन्। तिनै युवकले कोरेका चित्र हेर्नेका भीड हो त्यो।  

छेउमै बैसाखी–बैसाखीको नजिकै विभिन्न रंगका कलम, त्यसैको दायाँपट्टि उनले कोरेका विभिन्न आकृतिका चित्रको सँगालो। अगाडिपट्टि पैसा राख्ने बास्केट। तिनै सामानको बीचैमा बसेर चित्र कोर्न व्यस्त एक युवक। दुवै हात र एक खुट्टाविहीन ती युवा हुन् आनन्द पासवान। हातखुट्टाविहीन आनन्दले कोरेको चित्र हेरेर धेरैले आनन्द लिन्छन्।

२१ वर्षीय आनन्द पासवानको घर भारतको बिहार हो । उनको परिवार विगत ४०/५० वर्षदेखि नेपालमा बस्दै आएको छ। जन्मजातै अपांगता भएका आनन्दको कला भने अचम्मकै छ। न हात छन्, न खुट्टा । उनले कोर्ने चित्र र विभिन्न आकारका बुट्टा भने कुनै चर्चित कलाकारले कोरेको चित्रभन्दा कम सुन्दर छैन।
 
आनन्दले हत्केला बिनाका हातले कोरेका चित्र हेरेर धेरैले आनन्द लिन्छन् तर आनन्द भने आफ्नो कामबाट कहिल्यै आनन्द बन्न सकेनन्। कारण आफैंमा अपाङ्ग, त्यसैमाथि घरको सम्पूर्ण जिम्मेवारी पनि उनैको टाउकोमा छ। 

उनलाई सानैदेखि चित्र कोर्ने रुचि थियो । तर त्यो सामर्थ्य भने उनमा थिएन। किनकी चित्र कोर्नका लागि आवश्यक पर्ने सामग्री किन्न आर्थिक अभाव थियो। आर्थिक अभावमा पिल्सिएका उनलाई चित्र कोर्ने इच्छाले उत्प्रेरित र उत्साहित बनाए पनि आर्थिक अभावले निरुत्साहित बनाउँथ्यो।

‘एक दिन जसोतसो मागेको पैसाबाट केही चित्र कोर्ने सामान खरिद गरेर चित्र कोर्न सुरु गरे’, आनन्दले विगत सम्झे, ‘बिस्तारै राम्रो चित्र कोर्न सक्ने भएको छु।’ शारीरिक रुपमा अपांग, त्यस्तो व्यक्तिले आकर्षक चित्र कोरेको देखेर मानिसहरू उनीप्रति आकर्षित हुँदै गए। कोहीले उनका चित्र खरिद गरेर त कोहीले सक्दो पैसा दिएर जान्छन्। यसरी नै उनको दैनिकी बितिरहेको छ।


 
सुरुमा सुन्धारा आकासेपुल नजिक सडकमा बस्दै आएका आनन्द ०७२ वैशाखमा भूकम्प गएपछि त्यहाँबाट वसन्तपुरमा सरे। महानगरले त्यहाँ बस्न नदिएपछि उनको बस्ने स्थान रत्नपार्कको सडक पेटी बनेको छ। 
https://www.nicasiabank.com/

नियमित मदिरा सेवन गर्ने बुबाको मिर्गौला फेल भएर सात वर्षअगाडि मृत्यु भएसँगै घरको सबै जिम्मेवारी उनैमाथि छ। हुन त आनन्दका २ दाजु र १ दिदी पनि छन्। तर दाजुहरु के गर्छन्, कहाँ छन् उनलाई अत्तोपत्तो छैन। उनी दाजुको कुरै गर्न चाहँदैनन्। अहिले उनीसँग आमा, पत्नी र एक सात महिनाकी छोरी पनि छन्।
 
आमाको पनि मिर्गौलामा पत्थरी भएर लामो समयदेखि थला परेकी छिन्। उनले चित्र कोरेर कमाएको रकमले नै आमाको उपचार खर्च व्यहोर्नुपर्छ। ‘आमाको उपचारका लागि ऋण निकालेको ५–६ लाख रुपैयाँ सबै सकियो’, उनले भने, ‘अब कसरी ऋण तिर्ने त्यो पिरले रातदिन पोलिरहेको छ।’ 

उनी दैनिक २० देखि २५ वटा चित्र कोर्छन। उनी चित्रका साथसाथै केही सुनौला बुट्टाहरु पनि कोर्छन्। चित्रहरु बिक्री भयो भने कमाई हुन्छ, नत्र मान्छेहरुले त्यही बास्केटमा राखेको पैसा लिएर साँझ उनी घर फर्किन्छन्।
 
उनले एउटा चित्रको २ सय ४० रुपैयाँदेखि सुरु गरेका छन्। स्कुल जाने उनको सपना त सपनामै सीमित भयो। एक महिना ट्युसन पढ्नुबाहेक उनले कुनै औपचारिक शिक्षा हासिल गरेका छैनन्। 

हातखुट्टा भएर पनि देशमा काम छैन भनेर बेकामे बन्नेका लागि आनन्द गतिला उदाहरण बनेका छन्। उनी भन्छन्, ‘मेरो न हात छन् न खुट्टा छन्, तर म आफ्नो कला बेचेर खाइरहेको छु’, उनले सुनाए, ‘संघर्ष गरेर काम गर्‍यो भने अवश्य सफलता हात लाग्छ।’ 

चराचुरुङ्गी, सर्प, भगवान्का चित्र कोर्ने उनले अहिलेसम्म चित्र प्रदर्शन गर्ने खासै अवसर पाएका छैनन्। ५ वर्षअघि एउटा प्रदर्शनीमा क्यानभासमा चित्र बनाउने मौका उनले पाए। त्यहाँ उनले बनाएको एउटा चित्र ३५ हजार रुपैयाँमा बिक्री भयो तर, उनले त्यो चित्र बनाएबापत दुई हजार रुपैयाँ मात्रै पाए। त्यसपछि उनलाई त्यस्तो कुनै अवसर आएको छैन।



प्रतिक्रिया