सबै धर्म अट्ने कांग्रेस

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/shantikrishna_adhikari1.jpg

नेपाली कांग्रेसको केही अघि सम्पन्न केन्द्रीय कार्य समितिको बैठकमा धर्म सम्बन्धी मुद्दाले अनायासै प्रवेश गर्यो। बैठकको कार्यसूचीमा यस सम्बन्धी कुनै बुँदा थिएन, न कुनै नेताले धर्म निरपेक्षताका विषयमा बोल्ने पूर्वजानकारी नै दिएका थिए तथापि केही नेताहरुले जोडतोडका साथ धारणा राख्नुले कांग्रेसको भविष्यमा केही परिवर्तनको संकेत गरेको छ। 

कांग्रेसको झन्डामा चार ताराहरु छन् र ती मध्येको एक ताराले धार्मिक स्वतन्त्रताको वकालत गर्दछ। धर्म निरपेक्षता र धार्मिक स्वतन्त्रतामा आकाशपाताल फरक छ। कांग्रेसले आफ्नो आदर्शबाट च्यूत भई धर्म निरपेक्षता अँगाल्ने बेलामा न कुनै भेला बोलाइएको थियो, न त्यो कुनै बैठकको नै निर्णय थियो। घोषणा हुने बैठकमा उपस्थित सबैले ताली पिटे, भयो। ताली पिट्नेलाई पनि थाहा छैन, किन त्यसो भयो भन्ने र कतिपय ताली पिटाउनेलाई पनि अचम्म लागिरहेको छ।

०६५ जेठ १५ गतेको संविधानसभाको प्रथम बैठकमा हिन्दू राष्ट्र नेपाल कसरी एक्कासि धर्म निरपेक्षमा बदलिन पुग्यो, त्यो अनुसन्धानको गर्भमै छ। अनुमानका आधारमा अधिकांश नेपाली जनताले गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र प्रचण्डलाई दोष दिन्छन्। कतिपय जानकारहरू यो मुद्दा प्रवेश गराउनेमा प्रमुख भूमिका सुवास नेम्वाङको हो पनि भन्दछन्। यिनीहरुलाई युरोपियन युनियनले प्रलोभन दिई गुपचुप हिन्दू राष्ट्रलाई धर्म निरपेक्षमा बदल्ने योजना बनेको हो भन्ने प्रायः भेटिन्छन्।

२०६२-६३ को जनआन्दोलनमा यो विषयले कहीँ कतै ठाउँ पाएको थिएन। पछि कतै गिरिजाप्रसादले पनि आफ्ना अति निकटका मान्छेसँग भने अरे- ‘यो विषयले गणतन्त्र घोषणा हुँदा कसरी प्रवेश पायो, मलाई पनि थाहा छैन।’ त्यसैले पनि धर्म निरपेक्षताको जग त्यति गहिरो र बलियो छैन । यो जनताको चाहना होइन, आन्दोलनको बलमा आएको होइन। बरु यो घोषणाले ९० प्रतिशतभन्दा बढी नेपाली जनताको मन रुवाएको छ, यसलाई परिवर्तन गरेमा नेपालीको हृदय गदगद हुनेछ।

त्यतिबेलाका हर्ताकर्ता गिरिजाप्रसाद लोकमा छैनन्। माधवकुमार र प्रचण्ड नेतृत्वमै छन्। सुवास नेम्वाङसमेत सत्तारुढ दलको उपनेता छन्। माधवकुमारसँग पौंठेजोरी खेल्ने केपी ओली प्रधानमन्त्री र सत्तारूढ दलका नेता नै छन्। प्रचण्डका अनन्य सहयोगी रहेका बाबुराम भट्टराई प्रधानमन्त्री हुँदै अहिले मधेसी दलको नेता बन्न पुगेर नेपाली समाजका मूल्यमान्यता भताभुंग पार्ने प्रयासमा क्रियाशील छन्। 

कांग्रेसको गत वर्ष सम्पन्न महासमिति बैठकमा साढे सात सयभन्दा बढी सदस्यहरुले हिन्दू राष्ट्रको माग गरेका थिए। नेपाललाई हिन्दू राष्ट्र घोषणा गरिनुपर्दछ भन्ने आवाज उठाउने खुमबहादुर खड्का यो धर्तीमा छैनन्। लोकेश ढकाल र लक्ष्मण घिमिरेहरु छँदै छन्। यिनीहरुलाई सुरुसुरुमा त कम्युनिस्टहरुले मात्र होइन, केही कांग्रेसीहरुले समेत विभिन्न बिल्ला भिराए। तर आज कांग्रेस फेरि तिनकै मुद्दामा एक कदम अघि बढेको छ। 

कांग्रेसभित्र धर्म निरपेक्ष कि धार्मिक स्वतन्त्रता भन्ने कुराले प्रवेश पाउनेबित्तिकै कांग्रेसलाई विभिन्न आरोप लाग्न थालिसकेको छ। प्रतिगमनका बाटोमा कांग्रेस, धर्मभिरु कांग्रेस, सामन्ती कांग्रेस जस्ता विशेषणहरु प्राप्त भइसकेको छ। यो चर्चा जति चुलिँदै जान्छ, कांग्रेसलाई जनताबाट टाढा राख्न क्रिस्चियानिटी अँगालेका र तिनका पैसा खाएकाहरू त्यत्तिकै सल्बलाउँछन्। डलरको बाढी बग्छ, त्यो पैसा बोकेर नेपालका क्रिस्चियनहरु र कम्युनिस्ट नेताहरु (जनता होइन) गाउँगाउँ पस्छन्। कांग्रेसको विपक्षमा लहर ल्याउन ठूलै प्रयास हुनेछ तर ती सबै असफल हुनेछन् किनकि नेपाली जनताले स्वागत गर्नेछन्। ती जनता कांग्रेसी मात्रै हुने छैनन्, त्यहाँ कम्युनिस्ट पनि हुनेछन्। हिन्दू मात्रै होइन कि क्रिस्चियनबाहेकका मुसलमान, बौद्ध, किराँतलगायतका सबै हुनेछन्। ती सबैले नेपाल हिन्दू राष्ट्र हुँदा मात्र आफ्नो अस्तित्व रक्षा हुने बुझेका छन्। अर्थात् डलर बुझेका र भड्केका बाहेक सबैले कांग्रेसको यो कदमलाई समर्थन गर्ने छन्।

कांग्रेसका कतिपय नेताहरुमा डर छ, कतै हिन्दू राष्ट्र भन्दा अरु सबै धर्मावलम्बी भड्किएर एक्लो बनाउने त होइनन्। यसमा प्रस्ट हुनुपर्दछ- यो राष्ट्र हिन्दू, बौद्ध, मुस्लिम, किराँत लगायतका सनातनदेखि चलिआएका सबै धर्मावलम्बीको साझा हो। लोभलालच बिना पुर्खौँदेखि चलिआएका सबै धर्म र धर्मावलम्बीहरुले यो देशभित्र फुल्न पाउनुपर्दछ, फस्टाउनुपर्दछ। सबैको धर्म, संस्कृति र परम्परालाई राष्ट्रले संरक्षण-संवद्र्धन गर्नुपर्दछ। आर्थिक प्रलोभन र विभिन्न खाले डरत्रास देखाएर र भ्रम पैदा गराई कसैलाई पनि धर्म परिवर्तन गराउन नपाइने संविधानमै उल्लेख छ। आयातीत धर्मबाहेक सबै धर्मसंस्कृति, परम्पराको कांग्रेसले रक्षा गर्दछ भन्ने सन्देश दिनका साथै विश्वास दिलाउन सक्नुपर्छ, यसैको खाँचो हो।

https://www.nicasiabank.com/
नेपाल र नेपालीको पहिचान समाप्त पार्न विभिन्नखाले देशीविदेशी शक्ति सक्रिय छन्। नेपालभित्र यसको अगुवाइ केपी, बाबुरामहरु गर्दैछन् भन्ने प्रस्ट भइसकेको छ। हाम्रा परम्पराविरुद्ध बोल्ने, लेख्ने र यिनलाई भत्काउन सक्रिय हुनेलाई सञ्चारमाध्यम, संघसंस्था र विभिन्न निकायले प्रश्रय दिने, पुरस्कृत गर्ने र सम्मान प्रकट गर्ने चलन चलेको छ। जो आफ्नै धर्ममा अडिग छ, उसलाई पितृसत्तात्मक सोचको पुरातनपन्थी अग्रगमन नचाहनेको पदवी भिराइन्छ। यी सबै खेलमा कोको संलग्न छन्, तिनको पहिचान गरी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति रक्षार्थ उभिएकाको मनोबल उठाउन सकेमात्र हाम्रो अस्तित्व रहन्छ भन्ने कुरामा संवेदनशील हुन जरुरी छ।

दसैँमा टीका नलगाउन उर्दी जारी गर्नुस्, तीजमा व्रत नबस्न महिलालाई अनुरोध गर्नुहोस्, पितामाताको श्राद्ध नगर्न भन्नुस्, जनैपूर्णिमामा जनै नलगाउन र धागो नबाँध्न आग्रह गर्नुहोस्, तपाईं समाज सुधारक कहलिनुहुन्छ। तपाईंका अन्तर्वार्ताहरु टेलिभिजन, रेडियो, पत्रपत्रिकामा आउन थाल्दछ। तपाईँलाई हाईहाई गर्नेहरुको समूह निर्माण हुन थाल्दछ। क्रिसमस र अंग्रेजी नयाँ वर्षमा बिदा दिने सरकार घटस्थापना, लोसार र जनैपूर्णिमाका बिदा काट्छ, तपाईँ मौन बस्नुहुन्छ, अनि प्रगतिवादी कहलिनुहुन्छ। 

अष्टचिरञ्जीवीको पूजा गरी जन्मोत्सव मनाउनुहोस्, तेह्र दिनको किरिया बस्नुहोस्, ठूलो एकादशीका दिन मासु बेच्न पाइँदैन भन्नुहोस्, तपाईंलाई प्रतिगमनकारी, विकासविरोधी र समाजलाई पछाडि धकेल्ने व्यक्तिका रुपमा पहिचान गराइन्छ। के यसैबाट नेपालको विकास हुन्छ? के यसैबाट नेपालको समाज समृद्ध हुन्छ?

समाज समृद्ध हुन समाजका प्रत्येक व्यक्तिको प्रस्फुटन आवश्यक हुन्छ। व्यक्तिको विकासका लागि शिक्षाका साथै उसको पहिचान हुने सबै कुरा आवश्यक पर्दछ। व्यक्तिको विकास भएमा समाजको विकास स्वतः हुन जान्छ। एउटा सचेत व्यक्ति आफ्नो पहिचानका लागि आफ्नो धर्म, संस्कृति, परम्पराको रक्षार्थ सक्रिय हुन्छ। जुन समाजमा विविध धर्मसंस्कृति फस्टाएका हुन्छन्, त्यो समाज त्यसै समृद्ध हुन्छ। समाज समृद्ध भए राष्ट्र विकसित हुन कुनै अप्ठेरो पर्दैन।

केक काटेर बर्थ डे मनाउँदा विकसित हुने, अष्टचिरञ्जीवीको पूजा गरी जन्मोत्सव मनाउँदा पुरातनपन्थी, व्रतबन्धपछि कक्टेल पार्टी गर्दा अग्रगामी हुने, खिर प्रसाद खुवाउँदा लोभी भन्ने सोच जबसम्म फालिन्न तबसम्म नेपालको विकास असम्भव छ। पहिचानबिनाको समृद्धि आवश्यक छैन। घुँडा टेकेर सेतो पहिरनकी बेहुलीलाई औँठी पहि¥याई घर भित्र्याउँदा गर्व महसुस गर्ने तर आगोको सात फेरो घुमी वेदका ऋचासहित विवाह गर्दा अनावश्यक खर्च गरेको ठान्ने समाज निर्माण हुने हो भने नेपाल जति नै सुविधा सम्पन्न भए पनि त्यसको के अर्थ रहन्छ र?

हाम्रा हजुरबुवा भएकै कारण हामी छौं। हामीले आफ्नो पहिचानलाई जोगाउन सकेका कारण नै आजपर्यन्त हामी जीवित छौं। हाम्रा धर्मसंस्कृतिले नै हामीलाई समृद्ध बनाएका छन्। हामीले हाम्रो धर्मको रक्षा गर्याैं भने धर्मले हामीलाई रक्षा गर्दछ। चाहे हिन्दू हौंँ वा बौद्ध, चाहे मुस्लिम हौँ वा किराँत हामीले आफ्नो धर्मको रक्षा गरौँ। क्रिस्चियनहरु आफ्नो धर्मको प्रचारप्रसार गरी धर्मावलम्बी बढाउन डलरको खोलो बगाइरहेका छन्, त्यसको स्वागत गर्दछौँ। अनि आफ्नो धर्मलाई छाड्दै जान्छौँ किन? यदि धर्म अनावश्यक हो भने किन क्रिस्चियनले यसो गरेका?

नेपालका सबै सनातन धर्मावलम्बीहरुका धर्म, संस्कृति र परम्पराको रक्षार्थ कांग्रेस अघि बढोस्, नेपाल र नेपालीको त जय हुन्छ नै, कांग्रेसको पनि भविष्य उज्ज्वल हुन्छ। 

- यो लेखकको निजी विचार हो  ।

प्रतिक्रिया