नयाँ संविधानपछि उकासिएको अर्थतन्त्र

/assets/plugins/bower_components/fileman/Uploads/Capture-copy_2.jpg

काठमाडौ– चार वर्षअघि नेपालको संविधान जारी भइसकेपछिका तथ्यांकहरु केलाउँदा नेपालको अर्थतन्त्रमा सुधार आएको प्रष्ट देखिन्छ ।

संविधान जारी भएको वर्षदेखि गत आर्थिक वर्षसम्मका आँकडा केलाउने हो भने नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी)मा  करिव ६१ प्रतिशतको हाराहारीमा बृद्धि भएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा नेपालको जीडीपी रु.२२ खर्ब ५३ अर्ब थियो । तर, गत वर्षसम्ममा आइपुग्दा नेपालको जीडीपी रु. १२ खर्ब ११ अर्बले बढेर रु. ३४ खर्ब ६४ अर्ब पुगेको छ ।

त्यस्तै आर्थिक बृद्धिको पाटोलाई केलाउने हो भने संविधान जारी भएको आर्थिक वर्षमा ऋणात्मक रहेको आर्थिक बृद्धिदर गत आर्थिक वर्षमा ७.१ प्रतिशतले बृद्धि भएको छ । आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ मा क्रमशः ७.५ र ६.३ प्रतिशत आर्थिक बृद्धि भएको छ ।

२०४० सालमा पनि नेपालको आर्थिक बृद्धिदर ९ प्रतिशतको हाराहारीमा थियो तर, यो बृद्धि अर्को वर्षसम्म पनि टिकेन ।  नेपालको संविधान– २०७२ जारी भएपछिको ७.५  प्रतिशतको आर्थिक वृद्धि पनि अर्को वर्षसम्म नटिक्ने हो कि, भन्ने जानकारहरुको आशंकाको उल्टो त्यसपछिका वर्षहरुमा पनि आर्थिक बृद्धिदर उत्साहजनक नै छ ।

अर्थविद् डा.केशव आचार्यका पनि संविधान जारी भएपछि आर्थिक वृद्धिदरमा सुधार आएको स्वीकार्छन् । उनी भन्छन्, “संविधान जारी भएपछि लगानीकर्ताहरुको मनोवल उच्च हुनपुग्यो । 

राजनीतिक स्थिरता आउने र लगानीको वातावरण बन्ने अपेक्षा राखेका लगानीकर्ताहरुले लगानी बढाए ।” आन्तरिक र बाह्य लगानी बढ्दा उत्पादनलाई टेवा पुर्‍याएको उनको भनाई छ ।
लामो समय द्वन्द्वको चपेटामा रहेका नेपाली जनताको लागि संविधान जारी हुनु र राजनीतिक स्थिरता सुनिश्चित हुनुले नै आर्थिक बृद्धि दर बढाउन मुख्य काम गर्‍यो । संविधान जारी भएपछिको उत्साहकै कारण लगानीकर्ताहरु पनि हौसिए । आम नागरिकमा उत्साह थपियो ।

संविधानमा ‘नेपालको अर्थतन्त्र समाजवाद उन्मुख हुनेछ’ भनिए पनि व्यवहार र नीतिगत व्यवस्था अनुसार उदारवादी अर्थतन्त्र नै अभ्यासमा छ । यो लगानीकर्ताका लागि सकारात्मक कुरा हो ।

भूकम्पछि उठेको अर्थतन्त्र
भूकम्पपछि सहयोगको नाममा विभिन्न विदेशी संस्थाहरुले नेपालमा काम गर्न थाले । जसले आर्थिक सहयोगका नाममा धर्म परिवर्तन मात्र गराएनन् विदेशबाट अवैध रुपमा रकम समेत भित्र्याए ।

यसरी भित्रिएको रकमले नेपालको अनौपचारिक अर्थतन्त्र उकासियोे । त्यसले थोरै नै सही औपचारिक अर्थतन्त्रको बृद्धिमा समेत टेवा पुर्यायो । यसलाई तथ्यांकमा हेर्न सकिन्छः

https://www.nicasiabank.com/
आर्थिक वर्ष २०७१/७२ मा रु.२१ खर्ब ३० अर्बको हाराहारीमा रहेको जीडीपी आर्थिक वर्ष २०७३/७४ मा रु. ५ खर्ब ४४ अर्ब भन्दा बढीले बृद्धि भई रु.२६ खर्ब ७४ अर्ब पुग्यो। जम्मा दुई आर्थिक वर्षमा  जीडीपी कसरी साढे पाँच खर्ब रुपैयाँले बढ्यो ?
यो अनुसन्धानको विषय हुनसक्छ । तर, यसमा विदेशबाट भित्रिएको रकमसँगै नयाँ संविधानको भूमिकालाई पनि अस्वीकार गर्न सकिंदैन ।

त्यस्तै भूकम्पपछिको पुनः निर्माणको नाममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुको सहयोग सँगै, विदेशमा रहेका नेपालीहरुले पनि घरमा सामान्यकालभन्दा बढी रकम पठाए ।
पुनर्निर्माणको लागि विभिन्न हेभी औजारहरु भित्रिए भने त्यहीबीच भएको आम निर्वाचनले पनि आर्थिक गतिविधि ह्वात्तै बढायो । कतिपय अवैध आर्जन समेत चुनावका बेला बजारमा आयो र अर्थतन्त्रमा सकारात्मक असर पर्यो ।

लगानी सम्मेलनले थप बल
२०७२ बैशाख १२ गतेको भूकम्पपछि २०७२ असार १० मा तत्कालीन अर्थमन्त्री डा.रामशरण महतले दाता सम्मेलनको आयोजना गरे ।

उक्त सम्मेलनमा दाताहरुले कबोल गरेको साढे तीन खर्ब रुपैयाँ सबै नआए पनि भित्रिएको रकमले नेपालको अर्थतन्त्रमा सुधार ल्याएको अर्थशास्त्री केशव आचार्य र डिल्लीराज खनाल बताउँछन् ।  
यद्यपि, गत आर्थिक वर्षमा विदेशी विनिमय सञ्चितिमा कमी आएको छ भने मुलुक शोधनान्तर घाटामा छ । रु. १४ खर्ब भन्दा बढीको व्यापार घाटा छ ।

तर, यस्तो अवस्था लामो समय नरहने अर्थमन्त्री युवराज खतिवडाको दाबी छ । भुकम्पपछिको पुनर्निर्माण, बढदा आर्थिक गतिविधिले अर्थतन्त्रमा थप सुधार हुने अर्थमन्त्री खतिवडा बताउँछन्् ।

विभिन्न कम्पनीहरुले विमान किनेको, ठूला पार्टपुर्जा, पेट्रोलियम पदार्थको आयात लगायतका कारण व्यापार घाटा धेरै भए पनि सरकारले नयाँ संविधानकै जगमा टेकेर विभिन्न ऐन नियम बनाउने र संशोधनका कामहरु गरिरहेकोले विस्तारै वैदेशिक लगानी भित्रिने मन्त्री खतिवडाको अपेक्षा छ ।

व्यापारघाटाले आत्तिन नहुने बताइरहेका मन्त्री खतिवडा मुलुकमा बन्दै गएको लगानीमैत्री वातावरणको प्रभाव सुस्त भएपनि दीर्घकालीन रुपमा पर्ने बताउँछन् । अर्थतन्त्रका जानकारहरु पनि विस्तारै निर्यात बढ्न थालेको र विदेशी ऋणदाताहरुले पनि नेपाललाई विश्वास गर्न थालेकाले अर्थतन्त्र सकारात्मक हुने बताउँछन् ।


 

प्रतिक्रिया