संविधान दिवसमा नागरिक प्रतिकृया :‘नेतालाई फाइदा देखियो हामीलाई देखिएन’

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Setpember/sambidhan_diwas_biratnagar.jpg

इटहरी – नेपाली इतिहासमा नागरिकले चुनेर गएका जनप्रतिनिधिले संविधान सभाबाट संविधान पहिलोपटक बनाएर पारित गरेको चार वर्ष पूरा भएको छ। २०७२ भदौ ३० गते तत्कालिन संविधानसभाको बैठकबाट पारित संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो। 

आज देशभर संविधान दिवसका कार्यक्रमहरु भइरहँदा प्रदेश १ मा पनि तामझामका साथ संविधान दिवस मनाइएको छ। प्रदेश १ को राजधानी विराटनगरको शहिद रंगशालामा भएको कार्यक्रममा प्रदेश प्रमुख गोविन्द सुब्बा देखि मुख्यमन्त्री शेरधन राईसम्म सहभागी भएका थिए।
 
शहिद मैदानमा सयौं स्थानीयहरु उपस्थित कार्यक्रममा विश्वको अग्लो शिखर सगरमाथा २४ पटक चढ्ने कामिरिता शेर्पा, राष्ट्रगानका रचयिता व्याकुल माइला र अल्ट्रा धाविका मिरा राईलगायतका प्रदेश १ का विश्व चर्चित व्याक्तित्वहरुलाई प्रदेश सरकारले सम्मान गरेको थियो।

यसैबीच कुमार लिंङ्देन नेतृत्वको संघीय लिम्बुवान मञ्चले संविधान दिवसलाई कालो दिनको रुपमा मनायो। उसले सडकमा सांकेतिक विरोधका कार्यक्रमहरु गर्‍यो। उनीहरुले संविधानले आदिवासी जनजाति, मधेशी, मुस्लिम, महिला आदिको अधिकारी प्रत्याभूत नगरेको भन्दै विरोध जनाए।


 
एकातिर संविधान दिवसको वृहत्त कार्यक्रम र अर्कोतिर विरोधका स्वरहरुबीच नागरिकहरु भने देशमा परिवर्तनका कुनै संकेत नदेखिएको भन्दै गुनासो पोखे।
https://www.nicasiabank.com/

विराटनगरकी कवि सुभलक्ष्मी लम्सालले संविधानका कुराहरु राम्रा भएपनि लागू गर्ने पक्ष कमजोर भएको बताइन्। २०६२/६३ ताका झापामा जनआन्दोलनमा कविता वाचन गर्ने कवि लम्साल संविधान कार्यान्वयको पक्ष कमजोर भएको भन्दै गुनासो गर्छिन्। उनी भन्छिन, ‘संविधानमा भएका कुराहरु जनतासम्म पुगेकै छैनन्।’

इटहरीमा बसेर नाट्यकर्म गर्ने प्रदेश १ का चर्चित नाट्य निर्देशक सोनु जयन्तीले संविधान आएको चार वर्ष पुग्दा पनि देखिने परिवर्तन नभएको बताए। उनले भने, ‘अझैपनि संविधानले पूर्ण रुप लिएको छैन संविधानले जनताले चाहेको कुरा दिएको छैन।’ 

स्थानीय सरकार, प्रदेश सरकार आदिका नाममा धेरै नेताहरुले राजनीतिपछिको सार्वजनिज पदमा पुगेर तलबभत्ता लिएपनि नागरिकले भने केही लिन नपाएको जयन्तीले गुनासो गरे। उनी भन्छन, ‘सडकमा हिँड्ने कुनै दलमा सक्रिय कार्यकर्ता नभएकोलाई सोध्नु, कसैले पनि संविधान आएपछि कुनै राम्रो परिवर्तन आएको भन्दैनन्।’

इटहरीका नागरिक समाजका महासचिव तथा प्रदेश १ का चर्चित संगीतकर्मी राजु केसी पनि संविधानले चर्चा गरेजस्तो परिवर्तन नल्याएको बताउँछन्। राजनीतिमा लाग्नेहरुलाई विभिन्न पदहरु सिर्जना भएर सेटल हुन सजिलो भएपनि नागरिकहरुमा केही परिवर्तन नभएको उनी गुनासो गर्छन्।

पञ्चायत, २०४७ र २०७२ को तीन संविधानको अनुभव गरेपनि पछिल्लो संविधान बनेपछि पनि कुनै परिवर्तन नपाएको केसी बताउँछन् । उनी भन्छन, ‘नेतालाई फाइदा देखियो, नागरिकलाइ देखिएन।’ महँगी बढेको, कर बढेको र सुसासनका कामहरु नभएपछि संविधानले जनताले चाहे अनुसारको रिजल्ट नदिएको केसी बताउँछन्।

प्रतिक्रिया