कर्णालीमा खुलेनन् सुपथ मूल्यका पसल

/assets/plugins/bower_components/fileman/Uploads/Skt_Suphatha_Mulle_Pasal.jpg

सुर्खेत- दशै आउन अब दुई हप्ता बाँकी छ। मौसमी लाहुरे अर्थात् रोजगारीका लागि कालापहाड गएका नेपालीहरु फर्किन थालेका छन्।

दशैं र तिहार जस्ता प्रमुख पर्व नजिकिदैं गर्दा बजारमा किनमेल गर्नेको भीड पनि बढ्न थालेको छ। दशैंमा हुने महंगी र कालो बजारीबाट नागरिकलाई राहत दिने उद्देश्यले सरकारले प्रत्येक वर्ष चाडपर्व लक्षित सुपथ मूल्यका पसल सञ्चालनमा ल्याउने गर्दछ।

तर यस वर्ष कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर बाहेक अन्य स्थानमा हालसम्म सुपथ मूल्य पसल खुलेका छैनन्। सुपथ मूल्यका पसलबाट चाडवाडका लागि सस्तो मूल्यमा उपभोग्य सामान किन्ने आश गरेका सर्वसाधारण बजारमा महँगोमा किन्न बाध्य छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले चाडपर्व लक्षित गरी प्रदेश र स्थानीय सरकारलाई सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन अनुरोध गरेको थियो। मन्त्रालयले गएको २३ गते कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, सुर्खेतस्थित खाद्य संस्थान, साल्ट ट्रेडिङ्ग र स्थानीय तहका प्रतिनिधिलाई सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन भनेको थियो। 

दशै–तिहारमा उपभोक्तालाई मार नपरोस भनी प्रदेशका सबै स्थानीयतहले पनि यस्ता पसल सञ्चालनमाल्याउने उनको दाबी छ।

स्थानीय तहले पनि संचालनमा ल्याएनन्

कर्णालीका कुनै पनि स्थानीय तहले हालसम्म सुपथ मूल्य पसल सञ्चालनमा ल्याएका छैनन्। कतिपय स्थानीय तहले भने सुपथ मूल्य पसल सञ्चालनका लागि आफूहरुलाई थाहा नै नभएको बताए। ‘हामीसँग बजार पनि छैन, सुपथ मूल्य पसल सञ्चालन हुँदैन’ जाजरकोटको जुनीचाँदे गाउँपालिका उपाध्यक्ष शिवा बस्नेतले भनिन, ‘गाउँपालिकालाई थाहा नै छैन, कसरी सुपथ मूल्य पसल सञ्चानमा ल्याउनु ?’

गाउँपालिकाले दशै लक्षित कुनै पनि कार्यक्रम गर्ने निर्णय नगरेको उनको भनाइ छ। त्यस्तै रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद धर्तिमगरले पनि सुपथ मूल्य पसल सञ्चालनबारे अनभिज्ञता प्रकट गरे। ‘पसल सञ्चालन गर्ने जानकारी नै छैन’ उनले भने, ‘अरुले पनि गरेका छैनन्, हामी पनि सञ्चालन गर्दैनौं।’ रुकुम पश्चिममा कुनै पनि गाउँपालिकाले सुपथ मूल्य पसल सञ्चालनमा नल्याएको उनको भनाइ छ।
https://www.nicasiabank.com/

यता सल्यानको कुमाख गाउँपालिकाका अध्यक्ष दीलमाया बुढाले पनि सुपथ मूल्य पसल सञ्चालनमा नल्याउने बताइन्।

कालिकोटको पलाता गाउँपालिकाका उपाध्यक्ष दाना न्यौपानेले दशैंसम्म सुपथ मूल्य पसल सञ्चालनमा नआउने बताइन्। गाउँपालिकाले सधैको लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने योजना बनाए पनि तत्काल सञ्चालनमा नआउने उनको भनाइ छ। मुगुको खत्याड गाउँपालिकाका अध्यक्ष उब्जन बहादुर शाही सुपथमूल्यपसल सञ्चालन नगर्ने बताउँछन्। 

वीरेन्द्रनगरमा सिमी र फापरमा आर्कषण

यता वीरेन्द्रनगरस्थित नेपाल खाद्य संस्थानले नागरिकका लागि सहुलियतमा चिनीदेखि सिमीसम्म सहुलियतमा बिक्री गरिरहेको छ। जुम्लामा पाइने अर्गानिक सिमी, फापर, नुन र चिनीबिक्री गरेको हो। खाद्य व्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड सुर्खेतले सञ्चालन गरेको सहुलीयत पसलमा चामलदेखि जुम्लाको अर्गानिक सिमी र फापरमा भारी छुट दिएको छ।

बजार मूल्य भन्दा भारी छुटमा प्याकेजिङ र लेबलिङ गरिएको गुणस्तरीय अर्गानिक सिमी किन्न पाएपछि वीरेन्द्रनगर इत्रामका नविन शाहीले खुसी ब्यक्त गरे। सहुलियत पसलमा आउने अधिकांश उपभोक्ताको रोजाइमा अर्गानिक सिमी र फापर पर्न थालेको छ।

खाद्य संस्थान सुर्खेतका प्रमुख भिम थापाका अनुसार सहुलियत पसलबाट प्रतिव्यक्तिले ६ किलो सिमी र एक क्वीन्टल चामल किन्न पाउने ब्यवस्था छ। एक व्यक्तिले एक पटकमा ६ किलो सिमी र एक क्वीन्टल चामल मात्रै किन्न पाउने उनले बताए।

‘गएको मंसिरमा जुम्ला र मुगुबाट खरिद गरिएको दुई सय ७१ क्वीन्टल सिमी र ८८ क्वीन्टल फापरमध्ये चाडपर्वका लागि एक सय क्वीन्टल सिमी र ६५ क्वीन्टल फापर मौज्दात गरिएको थियो’ उनले भने, ‘सोही मौज्दात सिमी अहिले सहुलियतमा बेच्न थालेका हौँ, यो सकिएमाउ पभोक्ताको मागका आधारमा संस्थानले थप खरिद गर्न सक्नेछ।’

प्रतिक्रिया