तस्कर खोज्दै प्रदेश प्रहरी

/assets/plugins/bower_components/fileman/Uploads/post_images/2019, January/Setpember/taskar_police.jpg

जनकपुरधाम – प्रहरीले धनुषाको विदेह नगरपालिका–२ दुहबीका राजिव महासेठको घरमा भाद्र १८ गते राति छापा हान्यो। राजिवले भन्सार छलेर अवैध रुपमा सामानहरु भण्डार गरेको सूचना प्रहरीलाई प्राप्त भएपछि राति नै प्रहरी उक्त स्थानमा पुगेको थियो।

छापा मार्ने क्रममा प्रहरीले ५६ बोरा रासायनिक मल, विभित्र ब्रान्डका ६० कार्टुन मदिरा, किरानाका सामान गरी २ लाख ५० हजारभन्दा बढी मूल्य बराबरको सामान नियन्त्रणमा लियो।

राजिवको घरमा छापामारेको केही दिन नबित्दै प्रहरीले धनुषाकै धनौजी गाउँपालिका–१ लखौरीबाट पाँचजना तस्करलाई सामानसहित नियन्त्रणमा लियो। मोटरसाइकलमा भारतीय बजारबाट भन्सार छलेर ल्याइरहेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लियो। उनीहरुको साथबाट लत्ताकपडा, दैनिक उपभोग्य लगायतका सामाग्री गरी प्रहरीले पाँच लाख मूल्य बराबरको सामान नियन्त्रणमा लिन सफल भयो।

यसैगरी जनकपुरको पुलचोक र नगराईन नगरपालिकाको एक घरमा अवैध रुपमा भण्डारण गरेर राखिएका मल प्रहरीले बरामद गर्‍यो।

खुल्ला सीमाको फाइदा उठाउँदै प्रहरीकै सक्रियता र मिलेमतोमा तस्करी फस्टाएको आरोप लागिरहेका बेला पछिल्लो पटक प्रदेश २ प्रहरीले तस्करी रोक्ने अभियना नै सुरु गरेको छ। यसअघि मोटरसाइल तथा साइकल प्रयोग गरेर भारतबाट अवैध रुपमा भित्र्याइएका सामानहरु प्रहरीले नियन्त्रणमा लिनेगरेको भएपनि घरमै पुगेर छापामारेको घटना कमै देखिएको थियो। तर, चालु आर्थिक वर्षको दुई महिनामा प्रहरीले प्रदेशका विभिन्न जिल्लामा गरि आठ स्थानमा छापामारी तस्करीका सामान र तस्करलाई नियन्त्रणमा लिएको छ।

प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार यस अवधिमा प्रहरीले सप्तरीमा १, धनुषामा ३ र पर्साको ४ स्थानमा छापामारी गैरकानुनी रुपमा भण्डारण गरिएका २२ लाख ४० हजार २१० रुपैयाँ मूल्य बराबरको सामान नियन्त्रणमा लिएको छ।
https://www.nicasiabank.com/

यसैगरी चालु आर्थिक वर्षकै श्रावण र भाद्र महिनामा चोरी पैठारी गरी अवैध रुपमा भारतीय बजारबाट नेपाल भित्र्याइएका ९ करोड ५५ लाख मूल्य बराबरका विभिन्न सामग्रीसहित १०७ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ। गत आर्थिक वर्षमा प्रहरीले झण्डै साढे चार करोड मूल्य बराबरको तस्करीका सामानहरु नियन्त्रणमा लिन सफल भएको थियो।

प्रहरी सक्रिय भएपछि गत आर्थिक वर्षको भन्दा पछिल्लो दुई महिनामै बढी राजश्व असुल गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले बताए। राजश्व नै डुबाउने गरी भइरहेको तस्करी रोक्न प्रहरी सक्रिय भएपछि तस्करहरु बीच त्रास उत्पन्न भएको उनले बताए।

‘विगत दुई महिनामा मात्रै प्रहरीले आठ स्थानमा छापामारेको छ, तस्करीका सामान नियन्त्रणमा लिएर गत आर्थिक वर्षको भन्दा दोब्बर राजश्व संकलन गरेको छ। प्रहरी सक्रिय भएर यो उपलब्धि हासिल भएको हो,’ डीआईजी कार्कीले भने।

प्रहरीकै मिलोमतोमा तस्करी फस्टाएको स्वीकार गर्दै कार्कीले भने, ‘प्रहरीको मिलेमतो नभएसम्म तस्करी हुन सक्दैन। कतिपय निलो बर्दीधारी पनि फटाहा भएको कुरा मैले पटकपटक भन्ने गरेको छु। प्रहरीले चाह्यो भने तस्करीलाई शतप्रतिशत नसकेपनि ९५ प्रतिशत रोक्न सक्छ। म यहाँ आएदेखि यसै अभियानमा जुटेको छुँ।’

जनतालाई ‘पुलिसिङ’ गर्ने अथवा अपराध र अपराधीविरुद्ध खटिने प्रहरी पहिले आफै शुद्ध हुनुपर्ने आफ्नो मान्यता रहेको उनले बताए। निलो बर्दीको आडमा तस्करसँग मिलेर तस्करको पैसामा रमाउने प्रहरीले काम गर्न नसक्ने कार्कीले बताए। संगठनको नीतिविपरित काम गर्ने प्रहरीलाई कारबाही गर्न आफू कुनै कन्जुस्याई नगर्ने बताउँदै उनले चालु आर्थिक वर्षमा ६० जना प्रहरी कारबाहीमा परिसकेको उदाहरण प्रस्तुत गरे।

प्रतिक्रिया