इन्द्रजात्रा हेर्न विभिन्न देशका नगर प्रमुख आउँदै 

/assets/plugins/bower_components/fileman/Uploads/indrajatra.jpg

इन्द्रजात्रा अवलोकन गर्नका लागि ६ देशका पाँच नगरप्रमुखसहित ४८ विदेशी पाहुना आज काठमाडौँ आउँदै छन् । 

भारत, चीन, भूटान, बांग्लादेश, जापान र अमेरिकाबाट पाँच नगरप्रमुखसहित ४८ विदेशी प्रतिनिधि इन्द्रजात्रामा सहभागी हुने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिएका छन् । 

“भ्रमण वर्ष २०२० लाई प्रवर्द्धन गर्ने उद्देश्यले इन्द्रजात्रामा विभिन्न देशका पाहुनालाई आमन्त्रण गरिएको छ”, बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, “यो कार्यक्रमबाट नेपाली संस्कृतिलाई विश्वमा चिनाउन मद्दत पुग्नेछ ।”

पाँच दिनसम्म बस्ने उनीहरुलाई महानगरपालिकाका बहाल, बहीसँगै काठमाडौँ जिल्लाका अरु नगरपालिका पनि घुमाउने गरी योजना बनाइएको प्रमुख शाक्यले जानकारी दिए । 

उनले भने, “महानगरपालिकाले यसका लागि गर्ने खर्च पर्यटन प्रवर्द्धनका लागि महानगरको लगानी हो, यो लगानीबाट भोलि उपत्यकावासीले लाभ पाउनेछन् ।”  महानगरको भगिनी सम्बन्ध भएका ६ देशका १३ वटा नगरबाट ४८ पाहुना आउने निश्चित भएको प्रमुख शाक्यले बताए । 

सात महीना पहिलेदेखि नै इन्द्रजात्रा अवलोकनका लागि भगिनी सम्बन्ध भएका नगरप्रमुखलाई निमन्त्रणा पठाउन थालिएको थियो । 

निमन्त्रणाका आधारमा अहिलेसम्म चीनको ल्हासाका प्रमुख गुहेओ गुहेओ, बङ्गलादेशको ढाका साउथ सिटी कर्पोरेशनका प्रमुख मोहम्मद शहीद खोकन, भूटानको थिम्पु नगरका प्रमुख किन्ले दोर्जे, भारत इष्ट दिल्ली म्युनिसिपल कर्पोरेशनका प्रमुख अञ्जु कमलकान्त र नर्थ दिल्ली म्युनिसिपलबाट प्रमुख सरदार अभतार सिंहको नेतृत्वमा टोली आउने बताइएको छ ।

चीनबाट सियान, छेन्दु, सेञ्जेन, नाञ्जिन र लाञ्चाउ नगर, जापानको मात्सुमोतो नगर, संयुक्त राज्य अमेरिकाका फेडेरिकवर्ग र बोल्डर नगरबाट उच्च अधिकारीको नेतृत्वमा टोली आउने महानगरले जनाएको छ । 
https://www.nicasiabank.com/

बिहीबार आइपुग्ने पाहुनालाई शुक्रबार हनुमानढोका आसपास कुमारी रथयात्रामा सहभागी गराइने प्रमुख शाक्यले जानकारी दिए । सो क्रममा तल्लो र माथिल्लो टोलको स्थलगत अवलोकन भ्रमण गराइनेछ भने मध्याह्न राष्ट्रप्रमुखको उपस्थितिमा हुने रथयात्राको प्रत्यक्ष अवलोकन गराइनेछ । 

आगामी शनिबार चन्द्रागिरि, छाउनीको प्राकृतिक सङ्ग्रहालय र स्वयम्भूको अवलोकन गर्ने योजना बनाइएको छ । आइतबार भक्तपुर र पाटन दरबार क्षेत्रको भ्रमण अवलोकन गराइने त्यसै दिन साँझ बिदाइ गरिने प्रमुख शाक्यले बताए । 

त्यस समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई पनि सहभागी हुनेछन् । 

मङगलबार बिहान ९ बजेर १७ मिनेटको साइतमा वसन्तपुर काल भैरव अगाडि विधिपूर्वक इन्द्रध्वज (यःसी) ठड्याएपछि यस वर्ष इन्द्रजात्राको कार्यक्रम विधिवत् शुरु भएको छ । 

यस वर्ष शुक्रबार कुमारी रथयात्रा शुरु गरेर वसन्तपुरबाट तल्लो टोलमा रथयात्रा गरिनेछ ।  त्यसक्रममा साँझ साढे ४ बजे राष्ट्रपति वसन्तपुरमा पुगेर कुमारीको दर्शन गर्ने कार्यक्रम छ । 

शनिबार माथिल्लो टोलमा रथयात्रा हुनेछ । यस अवधिमा लाखे, हलचोक भैरव, पुलुकिसी, देवीलगायत तान्त्रिक विद्यामा आधारित नाच र दश अवतारलगायत पौराणिक कथामा आधारित प्रदर्शन हुनेछन् । 

मङ्गलबार हुने नानिचा यात्रासँगै त्यसै दिन साँझ ९ः३५ को साइतमा इन्द्रध्वज ढालेपछि यस वर्षका लागि जात्राका औपचारिक कार्यक्रम समाप्त हुनेछ ।

प्रतिक्रिया